अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

नेकपाको देशव्यापी कार्यकर्ता प्रशिक्षण शुरु – पार्टी र सरकारका कामकारवाही जनतामाझ राखिने

बिआरटीनेपाल २०७६ भदौ २८ गते ०:१४ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देशभर कार्यकर्ता प्रशिक्षण शुरु गरेको छ । एकतापछि पहिलो पटक पूर्वी जिल्ला इलामबाट यो कार्यको शुरुवात गरिएको छ । पाटीभित्र देखिएको गुटगत मनोवृत्तिलाई अन्त्य गर्ने र जनतामा सरकार र पार्टीका कामकारवाहीलाई लैजाने गरी कार्यक्रम शुरु गरिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।

इलाममा आज विहान आयोजित पत्रकार भेटघाटमा उहाले अब देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम शुरु भएको बताउनु भयो । एकता लगभग टुंगोमा पुगिसकेको बताउदै उहाले अब पार्टीमा नयाँ जोश र जागर भर्ने अभियान शुरु भएको प्रचण्डको भनाई छ ।

इलाममा हिजोबाट शुरु भएको प्रशिक्षणलाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल,संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले सम्वोधन गर्नुभएको थियो । यो अभियानलाइ अब देशव्यापी बनाइने वरिष्ठ नेता खनालले पनि बताउनु भयो । नेकपाले पनि ७७ बटै जिल्लामा कार्यकर्ता प्रशिक्षण सुरु गरेपछि स्थानीय नेता कार्यकर्तामा उत्साह छाएको कतिपयले बताएका छन् ।

प्रशिक्षणमा विशेष गरी पार्टीको कार्यदिशा, एकतापछिको रणनीति तथा राष्ट्रिय राजनीतिमा पार्टीले खेल्ने भूमिका लगायतका विषय राखिएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अब अभियान शुरु गरेको छ । दुई पार्टीबीच समायोजन भएका सङ्गठन परिचालन गर्न विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी रहेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकता प्रक्रियाका केही काम बाँकी छ, त्यो पूरा हुनेबित्तिकै पार्टी विशेष अभियानमा जान्छ । ”

नेकपाले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्दै विभिन्न कमिटीलाई सर्कुलर पनि पठाइसकेको छ । नेकपाका अध्यक्ष प्रचण्डले भदौ १३ गते सो सर्कुलर पठाउनु भएको हो । सर्कुलरको आधारमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ । पार्टीका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टीको निर्देशनअनुसार प्रदेशदेखि स्थानीय तहसम्म अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश कमिटी मातहतका सबै जिल्ला र स्थानीय तहको एकीकरण सम्पन्न भएको बताउँदै उहाँले पार्टी एकताका सन्देश दिन गाउँगाउँसम्म अभियान सञ्चालन गरिने बताउनुभयो ।

नेकपाले २२ वटा जनवर्गीय सङ्गठन र पार्टीका ३३ वटा केन्द्रीय विभाग, ७७ वटै जिल्ला र छवटा महानगरपालिकाको इन्चार्ज, तथा सहइन्चार्ज, पाँचवटा उपत्यका विशेष कमिटी र सो मातहतका जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव, आठवटा सम्पर्क समन्वय कमिटी तथा सम्पर्क कमिटीका इन्चार्ज, सहइन्चार्ज, संयोजक/अध्यक्ष, सचिव, २५ वटा जनवर्गीय तथा सामुदायिक सङ्गठनहरुका इन्चार्ज र सहइन्चार्ज तथा दुई जना कार्यालय सचिव टुङ्गो लगाइसकेको छ ।

अधिकांश जिल्लाका एकताका काम सम्पन्न भइसकेका छन् र एकीकरण सम्पन्न हुन बाँकी रहेका जिल्लाको काम पार्टीले जारी गरेको मापदण्ड तथा कार्यबिधीअनुसार सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू