अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

आज श्रीकृष्णजन्माष्टमी, भगवान कृष्णको पुजा आराधना गरी मनाईदै

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:४१ मा प्रकाशित

आज श्रीकृष्णजन्माष्टमी । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

श्रीकृष्णजन्माष्टमीको अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

श्रीकृष्णजन्माष्टमीमा काठमाण्डौं, पोखरा लगायतका क्षेत्रका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ साल पछि काटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू