अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

तत्काल वार्ताको संभावना नरहेको विप्लव नेतृत्वको नेकपाको निष्कर्ष

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:४८ मा प्रकाशित

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीवीच तत्काल वार्ता हुने सम्भावना कम हुँदै गएको छ ।सरकारले वार्ताको हल्लामात्रै गरेको, आफ्ना नेता कार्यकर्तामाथिको धरपकड नरोकेको भन्दै विप्लव नेतृत्वको नेकपाले वार्ता भन्दा संघर्षको नीति लिएको छ ।

साउनको पहिलो साता बसेको सो पार्टीको स्थायी समिति बैठकले जनयुद्धकालीन संगठन तथा फौजी संरचना विकास गर्ने र नेतृत्व केन्द्रीकरणको नीति लिएको छ ।बैठकले तात्कालिक परिस्थितिमा सरकारसँग वार्ताको कुनै सम्भावना नभएको निष्कर्ष सहित कडा संघर्षमा जाने निर्णय गरेको हो ।

साथै उक्त पार्टीले वार्ताको पहल गरिरहेका भनिएका र जेलमा रहेका आफ्ना नेताहरूलाई पार्टीको जिम्मेवारीविहीन बनाएको छ ।साउन पहिलो साता बसेको पार्टीको स्थायी कमिटी बैठकले हाल नख्खु कारागारमा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, उपत्यका इञ्चार्ज माइला लामा लगायतका नेताहरुहरुलाई जिम्मेबारीबाट हटाएको छ ।

केही नेतालाई त केन्द्रीय सदस्यबाट समेत हटाएको जनाइएको छ भने स्थायी समिति, पोलिटव्यूरो भंग गरी पार्टी हेडक्वार्टर बनाइएको छ । हेडक्वार्टरका सदस्यहरूमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढामगर र धर्मेन्द बास्तोला रहने निर्णय भएको छ ।

पार्टीमा शुद्धीकरण गर्ने भन्दै यसअघि तत्कालीन नेकपा माओवादीले जस्तै गरी नेताहरुको पद घटुवा गरिएको र केन्द्रीय समिति ५१ सदस्यबाट ३५ सदस्यीय बनाएको सो पार्टीले जनाएको छ । सोही बैठकले पूर्वी कमाण्डमा सन्तोष बुढामगर, मध्य कमाण्डमा खड्कबहादुर विश्वकर्मा, मध्यपश्चिममा चन्द्रबहादुर चन्द र पश्चिम कमाण्डमा धर्मेन्द्र बास्तोलालाई इन्चार्ज तोकेको छ ।

सैन्य संरचना निर्माण र जनमुक्ति सेनाको संख्या बढाउने निर्णय पनि उक्त बैठकले गरेको श्रोतले जनाएको छ । जनमुक्ति सेनाको जिम्मेबारी तत्कालीन जनमुक्ति सेनाका कमाण्डर दीपकबहादुर चलाउनेलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू