अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्षयताकै धेरै पर्यटक

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:३४ मा प्रकाशित

चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या बढेसँगै राजश्वमा पनि वृद्धि भएको छ । गएको आर्थिक वर्ष २०७५/७६ मा निकुञ्जमा १ लाख ८७ हजार १०९ जना पर्यटकले भ्रमण गरेको निकुञ्जले जनाएको छ । निकुञ्ज भ्रमण गर्ने पर्यटकको यो संख्या विगत ६ वर्ष यताकै धेरै हो। सबैभन्दा धेरै बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। सार्क राष्ट्रका २४ हजार ८३२ र अन्य मुलुकका १ लाख १७ हजार ६५४ गरी कुल १ लाख ४२ हजार ४८६ जना बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । विदेशीको तुलनामा आन्तरिक पर्यटकको संख्या करिव एक तिहाइ मात्रै रहेको पाइएको छ। आर्थिक बर्ष २०७५र७६ मा ४४ हजार ६२३ जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

गएको आवमा कार्तिक महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। २६ हजार १६४ पर्यटकले भ्रमण गरेको निकुञ्जले जनाएको छ। यस्तै बैशाखमा २२ हजार ६८७, चैत्रमा २२ हजार ३२९, फागुनमा १७ हजार ५७२, मंसिरमा १७ हजार ९७, पौष महिनामा १६ हजार ४३१ जना पर्यटकले भ्रमण गरेको तथ्यांकमा उल्लेख छ। राजस्वमा पनि वृद्धि पर्यटकको संख्या बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ। गएको आर्थिक वर्ष ०७५, ७६ मा २९ करोड १० लाख ९७ हजार ८२३ रुपैँया राजस्व संकलन भएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो ।

सबैभन्दा कम राजस्व आर्थिक वर्ष ०७२/७३ मा संकलन भएको थियो। ६ वर्षको उतारचढाव गएको ६ वर्षमा आव ०७५/७६ मा सबैभन्दा धेरै पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् भने आर्थिक वर्ष ०७२/७३ मा सबैभन्दा कम पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । भूकम्पका कारण सो आर्थिक बर्षमा ८७ हजार ३९१ पर्यटकले मात्रै भ्रमण गरेका थिए। आर्थिक वर्ष ०७०/७१ मा १ लाख ७३ हजार ४२५ पर्यटकले निकुञ्जको भ्रमण गर्दा २४ करोड ६८ लाख ७२ हजार २०१ रुपैयाँ राजस्व संकलन भएको थियो। यस्तै, आर्थिक वर्ष ०७१/७२ मा १ लाख ७८ हजार ४५७ पर्यटकबाट २४ करोड ६२ लाख ३७ हजार ६५८, आर्थिक वर्ष ०७२/७३ मा ८७ हजार ३९१ पर्यटकबाट ११ करोड ६८ लाख ५३ हजार ७१०, आव ०७३/७४ मा १ लाख ३९ हजार १२५ पर्यटकबाट २२ करोड ७१ लाख ६३ हजार ४०१ रुपैयाँ राजस्व संकलन भएको थियो। यस्तै, आर्थिक वर्ष ०७४,७५ मा १ लाख ५२ हजार ६७१ पर्यटकबाट २४ करोड ८१ लाख ९९ हजार ९९८ र आव ०७५/७६ मा १ लाख ८७ हजार १०९ पर्यटकबाट २९ करोड १० लाख ९७ हजार ८२३ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जको तथ्यांक उल्लेख छ।

विश्वमै लोपउन्मुख अवस्थाका वन्यजन्तु चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित रहेकाले पनि पर्यटकको आकर्षण रहेको छ। यस निकुञ्जमा पाटे बाघ, गैँडा, हात्तीलगायतका वन्यजन्तु साथै चराचुरुंगी पाइन्छन् । निकुञ्जमा पर्यटकले ती दुर्लभ वन्यजन्तु र चराचुरुंगी, जीप सफारी, हात्ती सफारी र पैदाल हिँडेर हेन सक्छन् ।

प्रतिक्रिया