अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

नेकपाको सचिवालय बैठक निष्कर्षविहीन, बैठक २८ गते सम्मका लागि स्थगित

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:२१ मा प्रकाशित

सत्तारुढ नेकपाको आज बसेको सचिवालय बैठक विनाकुनै निष्कर्ष टुंगिएको छ । विभागको भागवण्डामा कुरा नमिलेपछि नेकपाको सचिवालय बैठक बिनानिश्कर्ष टुंगिएको हो । सोमबार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा नेताहरुबीच कुरा मिल्न नसकेपछि बैठक २८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

पार्टीका ३३ विभागमध्ये सबैभन्दा गाँठो परेको स्कुल विभागमा पनि दुई अध्यक्ष निचोड निकाल्न नसकेपछि सविचालय बैठक सरेको हो । लामो विवादकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । तर यसले पनि कुनै निर्णय लिन सकेन ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेठका अनुसार बैठकमा सबै विभाग र जनवर्गीय संगठनमा नेताहरुको चासोबारे सोध्ने सहमति भएको छ । नेता श्रेष्ठले स्कुलसहित अन्य विभाग नेतृत्व गर्ने नेताहरुको चासोबारे अब सोधेर निर्णयमा पुग्ने जानकारी दिनुभएको छ ।

यसअघि, आजको बैठक बस्नुअघि बालुवाटारमै नेकपाको पूर्वएमाले समुहका नेताहरु छलफलमा जुटेका थिए । उक्त छलफलमा सरकारको समीक्षा र पार्टी स्कुल विभागको विवादबारे कुराकानी भएको थियो । नेकपा स्कुल विभागमा पूर्वएमालेबाट इश्वर पोखरेल र पूर्वमाओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले चर्को दाबी गर्नुभएको थियो । पूर्वएमालेतिर घनश्याम भुसाल र बेदुराम भुसालले पनि यसमा दाबी गर्दै आउनुभएको छ ।

सचिवालय अघि शनिबार र आइतवार नेकपाका दुई अध्यक्षबीच लामो छलफल भएको थियो। दुई अध्यक्षले गृहकार्य गरेपछि सोमबार दिउँसो ३ बजे पछाडि सविचालय बसेको थियो । तर दुई अध्यक्षको गृहकार्य नपुगेपछि पार्टी एकता पनि लम्बिएको छ । स्कुल विभागको विवाद मिलाउन दुई अध्यक्षले श्रेष्ठ, पोखरेलबाहेक तेस्रो व्यक्तिलाई दिने, अध्यक्ष आफैँले राख्ने र इश्वर पोखरेललाई अर्को विभाग दिनेबारे छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू