अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

मनसुन कमजोर हुँदै

बिआरटीनेपाल २०७६ असार ३१ गते १०:०२ मा प्रकाशित

गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

“न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दैछ त्यसैले अबको केही दिन वर्षा कम हुनेछ,” मौसमविद् श्रेष्ठले भन्नुभयो । यद्यपि आज देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ रहेको छ । मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर भइरहने बताइएको छ ।

तत्कालका लागि अति भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम दृश्यस्थितिका कारण सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।

राति देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि देशभर आंंशिकदेखि सामान्य बदली रही देशको पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही तराई भू–भागका केही स्थानमा र पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू