अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

विप्लव समूहका जिल्ला इन्चार्ज पौडेलको मृत्युबारे छानबिन हुन्छ – गृहमन्त्री, एकसाताभित्र प्रतिवेदन पेश गर्न समितिको निर्देशन

बिआरटीनेपाल २०७६ असार ९ गते १०:०६ मा प्रकाशित

संसदको राज्य व्यवस्था समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

यसअघि गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द(विप्लव) समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युबारे छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । संसद्को राज्य व्यवस्था समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले तल्लो तहबाट पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने रिपोर्ट आएको भन्दै यदि मुठभेडमा नमारिएको भए त्यसबारे छानबिन हुने बताउनुभयो ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेहीस्थित जंगलमा यही असार ५ गते चन्द समूहका जिल्ला इन्चार्ज पौडेलको गोली लागेर मृत्यु भएको थियो । समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले चन्द समूहका कार्यकर्ताको हत्या गर्ने नीति सरकारको नरहेको स्पष्ट पार्नुभयो । उहाँले चन्द समूहको समस्या राजनीतिक नै हो भन्ने सरकारलाई लागिरहेको भए पनि सो समूह वार्तामा आउन नचाहेकाले थप समस्या परेको बताउनुभयो ।

वार्ताबाटै समस्या समाधान गर्ने सरकारको पहिलो रोजाइ भएको र त्यसको पहल पनि भइरहेको मन्त्री थापाको भनाई थियो । यसअघि बैठकमा सत्तारुढ र विपक्षी दलका सांसदहरुले कुमार पौडेलको मृत्यु मुठभेडमा नभई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको आरोप लगाएका थिए ।

बैठकमा नेकपाका सांसद जनार्दन शर्माले घटनाको प्रकृति हेर्दा नियन्त्रणमै लिएर हत्या गरेको जस्तो देखिएको बताउनुभयो । उहाँले यस्ता क्रियाकलापले शान्तिपूर्ण बाँच्ने नागरिकको चाहना टाढा हुँदै जाने भएकाले सरकारलाई सचेत हुन आग्रह गर्नुभयो । नियन्त्रणमा लिएर व्यक्ति हत्या गर्ने कुराको वकालत गर्न नसकिने भएकाले चन्द समूहसँग तत्काल वार्ता गर्नुपर्ने नेता शर्माको भनाई छ ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले पनि चन्द समूहका क्रियाकलाप नियन्त्रण गर्ने नाममा असंवैधानिक र मानवअधिकार हनन् गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो । पौडेलको प्रहरीको गोली लागेर यही असार ५ गते लालबन्दीमा मृत्यु भएको थियो । प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारको रहे पनि सांसदहरुले त्यसमा शंका व्यक्त गर्दै सत्य तथ्य छानविनको माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू