अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

नेकपा सचिवालय बैठक एजेण्डमै प्रवेश नगरी सकियो

बिआरटीनेपाल २०७६ असार ७ गते ९:१० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक एजेन्डामै प्रवेश नगरी सकिएको छ । पार्टीको राजनीतिक प्रतिवेदनबारे छलफल गर्न शनिवार बसेको बैठक प्रधानमन्त्रीको युरोप भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा मात्रै छलफल गरेर बैठक टुंगिएको हो ।

पार्टीको राजनीतिक प्रतिवेदन र एकताका बाँकी रहेका विषयमा छलफल गर्न शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । पार्टी सचिवालय सदस्य वामदेव गौतमका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणबारे ‘ब्रिफिङ’ र समसामयिक राजनीतिका विषयमा चासो राखेको तर बैठक एजेन्डामा प्रवेश नगरी सकिएको बताईएको छ ।

तर, महासचिव विष्णु पौडेलले बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन सम्पादनमा भइरहेको प्रगतिबारे जानकारी दिएको भन्दै पार्टी एकताका बाँकी रहेका विषय पनि आवश्यक गृहकार्य गरेर छिट्टै टुंगो लगाउने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघि, पार्टीको राजनीतिक प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिना पूरा भइसक्दा पनि अझै पार्टीको राजनीतिक प्रतिवेदन आउन सकेको छैन ।

यस्तै, पार्टीको सांगठनिक एकताले पनि पूर्णता पाउन सकेको छैन । पार्टीभित्रको विवादका कारण नेकपामा अहिलेसम्म पनि जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लाग्न सकेको छैन । यस्तै, विभागहरु गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारीको बाँडफाँट पनि अधुरो नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू