अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

नेकपाद्धारा कार्यदल भङ्ग, एकताको टुङ्गो लगाउने जिम्मा पार्टी सचिवालयलाई

बिआरटीनेपाल २०७५ फागुन १० गते ९:०९ मा प्रकाशित

नेकपाले एकताको टुङ्गो नलगाई कार्यदल भङ्ग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले साङ्गठनिक एकताको प्रारूप बारे टुङ्गो लगाउन गठन भएको कार्यदललाई भङ्ग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कार्यदलको म्याद नथप्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दवावमा कार्यदल भङ्ग गरिएको हो । उहाँले हिजो नै कार्यदल भङ्ग गर्ने प्रस्ताव गर्नु भएको थियो । तर अरु नेताहरू उहाँको प्रस्तावको विपक्षमा थिए । गत बिहीबार देखि सुरु भएको छलफलमा कार्यदल संयोजक रहेका गृहमन्त्री रामबहादुर थापाले एक साता समय थप गर्न माग गर्नुभएको थियो । थापाको मागमा कार्यदलका अन्य सदस्यपनि सहमत थिए ।

अन्तिम प्रतिवेदन नबुझाउँदै एकता कार्यदल भङ्ग भएपछि अब एकताको काम सचिवालयले गर्नेछ । सचिवालयले नै प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गरेपछि एकता प्रक्रियाले गति लिने भएको छ । कार्यदल भङ्ग भएपछि एकता प्रक्रिया झन लम्बिने भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले एकता प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी कमिटीमा पेश गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार सचिवालयले शनिबारबाट छलफल गर्नेछ । गृहमन्त्री थापा संयोजक रहेको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई,बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहनु भएको थियो ।

गएको मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई पूरा गर्ने प्रस्ताव बनाई सिफारिससहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो । कार्यदललाई १० दिनभित्र बुझाउन भनिए पनि झण्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपूरो प्रतिवेदन सचिवालयमा बुझाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू