अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

दसौं सुम्निमा सॉझ ऐतिहासिक, दर्शक नै ७०० बढी

बिआरटी नेपाल सम्बादाता, न्यु योर्क २०७५ पुष १० गते २२:१८ मा प्रकाशित

न्यु योर्कमा तक्मेले हँसाए, भुवन र विनोदले नचाए

किराँत राई जाति तथा नेपाल र नेपालीको संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले किराँत राई सोसाइटी अफ अमेरिकाले सोमबार आयोजना गरेको सुम्निमा साँझ १० भव्यताका साथ सम्पन्न भएको छ । 

नेपालबाट आएका विल्सन विक्रम राई (तक्मे बुढा) ले कम्तीमा ७ सय मानिसलाई पेट मिचिमिची हँसाए । साथमा गायक भुवन सुप्तिहाङ र विनोद राईले स्टेज तताए । तक्मे बुढाले ज्याक्सन हाइट र आसपासमा भोगेका र देखेका कुरालाईले हास्य शैलीमा प्रस्तुत गरे भने सुप्तिहाङ र राईले आफ्ना चर्चित गीतहरू गाएर दर्शक नचाए । उनीहरूको प्रस्तुतिमा हलमा ‘वान्स मोर वान्स मोर’ को आवाज आएको थियो ।
कार्यक्रममा कोलोराडोबाट केआरएसएका अध्यक्ष चन्द्र राई र भर्मनबाट बोर्ड चेयर प्रमोद थुलुङ सहभागी थिए । प्रमुख आतिथ्यता नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) का अध्यक्ष मान राना मगरले गरे । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मगरबाट विद्युतीय चुल्हो बालेर गरिएको थियो । 

अध्यक्ष्य राईले किराँत राई जाति पितृ र प्रकृति पुजक जाति भएको बताए । उनले साकेला र चुल्हाका बारेमा प्रकाश पारे । उद्यौली ‘सुम्निमा साँझ हाम्रो शान हो, प्राण हो र सफलता हो,’ उनले भने, ‘तपाईँहरू सभागी भएर सुम्निमा साँझ सफल बनाइदिँदै आउनु भएको छ । त्यसका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा स्वागत मन्तव्य प्रा.डा. तारा निरौलाले दिएका थिए । ‘यस्तो कार्यक्रम आयोजना गरेर आफ्नो पहिचान कायम गर्ने काम गर्नु भएको छ, त्यसका लागि म खुसी व्यक्त गर्छु,’ उनले भने, ‘हामी को हौँ भन्ने आधार नै हाम्रो संस्कृति हो ।’ 

सुम्निमा साँझ १ देखि १० सम्मका सबै संयोजकलाई सम्मानमा कदरपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रम सफलताका लागि न्यु योर्क सिटी मेयर अफिसले शुभकामना पत्र पठाएको थियो । फिप्ना अध्यक्ष मगरले उधौलीको शुभकामना दिए । ‘कार्यक्रमको समुद्घाटन गर्न पाउँदा गर्व महसुस गरेको छु,’ उनले भने, ‘सानोतिनो मनमुटाब भयो भने संस्था जन्माउँदै जाने प्रवृत्ति बढेको छ । यो दुःखको कुरा हो । हामी सचेत हुनुपर्छ ।’ उनले आदिवासी जनजातिले आदिम कालदेखि मनाउँदै आएका चाडबाड । भाषा भाषीलाई राज्यले समान व्यवहार गर्नुपर्ने पनि बताए ।

केआरएसका बोर्ड चेयर थुलुङले यो समय आदिवासी जनजातिको पर्वको समय भएको बताए । उनले साकेला किराँतीको मात्र नभएर सम्पूर्ण नेपालीहरूको न्वाँगी खाने पर्व भएको बताए । ‘विगत १० वर्षदेखि यो पर्वमा सहभागी भइदिनु भएकोमा म तपाईँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘यसबाट के उपलब्धि भयो भने हामीले तपाईँहरूको माया पाएका छौँ । हामीले हाम्रा सन्ततिहरूलाई आफ्नो संस्कृति चिनाउन सकेका छौँ । यो हामी सबैको उपलब्धि हो ।’ 

उनले सदस्य संस्था संस्थाहरू सदैव फिप्नाको हितमा रहेको स्मरण गराए । ‘हामीलाई सदैव सही मार्गमा हिँड्न पथ प्रदर्शन गर्नुहोस्,’ उनले भने, ‘हामी सदस्य संस्थाहरू तपाईँ (फिप्ना) को उद्देश्य प्राप्तिमा सधैँ लागिरहन्छौँ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ 

सांस्कृतिक कार्यक्रमको सुरुवात साकेला नृत्यबाट गरिएको थियो । त्यसपछि नेपाली नेपाली तारा नामक चर्चित साङ्गीतिक कार्यक्रममा सातौँ स्थानसम्म पुगेका गायक विनोद राईले स्टेज तताए । त्यसपछि तक्मे बुढाले दर्शक हँसाए । बिचमा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । ५ सय भन्दा बढी गीत गाइसकेका र २ सय ५० भन्दा बढी गीतमा सङ्गीत दिइसकेका गायक सुप्तिहाङले प्रस्तुति गरिसकेपछि फेरी विल्सन विक्रम राईले प्रस्तुति दिएका थिए । तीन जना कलाकारलाई केआरएसएले सम्मान गरेको थियो । 

कार्यक्रमबाट बचेको पैसा किराँत राईहरूको पवित्र चुल्हा घर– माङ्खिम (किराँत सांस्कृतिक भवन) स्थापनामा खर्च गर्ने आयोजकको भनाइ छ । केआरएसले गत वर्ष माङ्खिम स्थापना गर्न समिति गठन गरी काम अघि बढाएको छ ।