अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

अमेरिकामा आप्रवासी गिरफ्तारी उच्च

बिआरटी नेपाल सम्बादाता, न्यु योर्क २०७५ पुष १ गते ९:३१ मा प्रकाशित

युएस इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) ले सन् २०१८ को सेप्टेम्बर ३० सम्म १ लाख ५८ हजार ८ सय ५१ गैरकानुनी आप्रवासी गिरफ्तार गरेको छ । यो गिरफ्तारी सन् २०१४ यता सबैभन्दा उच्च हो ।

आइसिईको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन डिभिजनले गरेको यो गिरफ्तारी सन् २०१७ को तुलनामा करिब ११ प्रतिशत बढी हो । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार गैरकानुनी रूपमा अमेरिकामा रहेका तर आपराधिक पृष्ठभूमि नभएका आप्रवासीको गिरफ्तारी पनि करिब एक तिहाइले बढेको छ । गत वर्ष यस्तो गिरफ्तारीको सङ्ख्या कुल गिरफ्तारीको १३ प्रतिशत मात्र थियो ।

गत वर्ष आइसिईको गिरफ्तारीमा परेका आप्रवासीले या त अपराध गरेका थिए, या अपराध गरेको अभियोग थियो । अपराध गर्नु र अपराधको अभियोग लाग्नु फरक कुरा हो । सन् २०१८ मा अपराध गरेको अभियोग लागेका तर अपराध गरेको पुष्टि नभएका आप्रवासी गिरफ्तारी सन् २०१७ को भन्दा ४८ प्रतिशतले बढेको आइसिईको प्रतिवेदनले देखाउँछ ।

सन् २०१८ मा आपराधिक पृष्ठभूमि भएकाको गिरफ्तारी भने केही घटेको छ । सन् २०१७ मा आपराधिक पृष्ठभूमि भएकाको गिरफ्तारी ६६ प्रतिशत थियो भने अपराध गरेको अभियोग लागेकाको गिरफ्तारी २१ प्रतिशत थियो ।

गिरफ्तारीमा परेका माथि लागेको आम अभियोग ‘डेन्जरस ड्रग’ को प्रभावमा सवारी साधन चलाएको, ‘ट्राफिक अफेन्स’ र ‘इमिग्रेसन’ छ । यसमा गैरकानुनी रूपमा अमेरिका छिरेको, एक पटक भन्दा बढी गैरकानुनी रूपमा अमेरिका छिरेको, झुटको सहारा लिएर नागरिकता दाबी गरेको र एलियन (विदेशी) को स्मगलिङ सम्मका अपराध समेटिएको छ ।

आइसिईले सन् २०१८ मा २ लाख ५६ हजार ८५ आप्रवासी डिपोर्ट गरेको छ । यो सन् २०१६ को तुलनामा ६ दशमलव ५ प्रतिशत बढी हो । 

सम्बन्धित सामग्रीहरू