अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

प्रचण्डद्धारा सरकारको बचाउ, धेरै ठूलो र महत्वको कार्यसम्पादन गरेको दावी

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:३० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बचाउ गर्नुभएको छ । जनअपेक्षाअनुसार काम नभएको दावी गर्दै आलोचना भइरहँदा अध्यक्ष प्रचण्डले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहाँसिक महत्व’ को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाउ गर्नुभएको हो । अध्यक्ष प्रचण्डले अब सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रित रहने समेत दावी समेत गर्नुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारवाहन सम्झौंता गर्नु, रेल सेवा सञ्चालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै त्यतापट्टि ध्यान दिन पनि सरकारका आलोचकहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले चुनावमा गरिएको प्रतिबद्धता चार बर्षभित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पार्नुभएको छ । सरकारले धेरै ठूलो काम गरिरहे पनि त्यतातिर ध्यान पुग्न नसकेको अध्यक्ष दाहालको भनाई थियो । अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अब त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रचण्डले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार प्राप्त नभए न्यायको खोजीमा अदालत जाने पाउने व्यवस्था ऐनमै गरिएको पनि स्मरण गराउनुभयो । अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्ध बनाउन वैज्ञानिक खोज तथा अनुसन्धानको क्षेत्रमा विशेष चासो राख्ने विषयमा पनि राजनीतिक नेतृत्वमा समस्या नरहेको दावी गर्नुभयो । उहाँले राजनीतिक संघर्ष सकिएकाले अब सत्तापक्ष र प्रतिपक्ष मिलेर विकास समृद्धिको अभियान चलाउनु पर्ने पनि बताउनुभयो । सरकारका साना कमजोरीलाई समातेर कतिपयले पुरानै व्यवस्था राम्रो थियो भन्ने गरे पनि वास्तवमा त्यस्तो नभएको प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू