अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

बिजयोन्मुख सर्वहारा क्रान्तिलाई नेताहरुले षड्यन्त्रपूर्वक धोका दिए – प्रकाण्ड (नेकपा प्रवक्ता)

बिआरटीनेपाल २०७५ मंसिर ८ गते ४:२१ मा प्रकाशित

नेतृत्वको कम्युनिस्ट पार्टीका प्रवक्ता तथा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विजय निकट पुगेको सर्वहारा वर्गको क्रान्तिलाई नेताहरुले षड्यन्त्र गरेर धोका दिएको आरोप लगाउनुभएको छ । तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड र नेता रामबहादुर थापा बादललाई लक्षित गर्दै प्रकाण्डले उनीहरुलाई ‘गद्धार’को संज्ञा समेत दिनुभयो । उनीहरुकै कारण जनताले धोका पाएको प्रकाण्डको भनाई थियो । पार्टीले काठमाडौंको भृकुटीमण्डपमा आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले नेताहरुले धोका नदिएको भए नेपाली जनताको आफ्नै सत्ता हुने जिकिर गर्नुभयो ।

अहिलेको सरकारले आफ्नो पार्टी विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै उहाँले सरकारका गतिविधिप्रति चर्को आलोचना गर्नुभयो । सरकारले सभा गर्ने सार्वजनिक स्थल समेत सरकारले नदिएको भन्दै त्यसमा रोष प्रकट गर्नुभएको थियो । समृद्ध नेपालमा कुनै पार्टीले सार्वजनिक स्थलमा सभा गर्न खोज्दा ठाउँ पनि छैन ? भन्दै उहाँले सम्वोधनको क्रममा प्रश्न समेत गर्नुभएको थियो ।

यसअघि, शान्तिबाटिकामा गर्ने भनिएको उनीहरुको कार्यक्रम शनिबार भृकुटीमण्डपमा भएको हो । प्रकाण्डले देश अहिले साम्राज्यवादी शक्तिको परेड खेल्ने ठाउँ बनेको भन्दै त्यसको विरोध गर्नुभयो । साथै नेताहरुले आन्दोलनबाट हासिल गरेको उपलब्धि मेट्न लागेकोमा प्रकाण्डले चिन्ता व्यक्त गर्नुभयो ।

वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिँदै उहाँले ओली सरकार बनेपछि राष्ट्रघाती प्रोजेक्ट अघि बढाउन थालिएको आरोप लगाउनुभयो । उपल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय पक्षको संलग्नता शंकेत गर्दै त्यसलाई आफूहरुले रोकेको उहाको भनाइ थियो । तर अहिलेको सरकारले त्यसपछि अरु ‘राष्ट्रघाती प्रोजेक्ट’ अघि बढाउँदै गरेको उहाँले बताउनुभयो ।

नेता प्रकाण्डले मुलुकको राष्ट्रियता संकटमा रहेको भन्दै त्यसविरुद्ध लाग्न आम जनुमुदायलाई आह्वान समेत गर्नुभएको छ । राष्ट्रियता संकटमा परेको तथा देश नै रहन्छ कि रहँदैन चिन्ता छाएको उल्लेख गर्दै उहाँले हिमाल, तराई र पहाडलाई अलग बनाउने खेल भइरहेको टिप्प्णी गर्नुभयो । राष्ट्रघाती कदम नसच्याउने हो भने नेपाली जनता स्वाधिनताको लागि राष्ट्रिय सेनामा बदलिने प्रकाण्डले चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू