अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

प्रधानमन्त्रीले उद्घाटन गरेको ‘बिजुली बस’ पुल्चोकमै थन्कियो

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते १८:३८ मा प्रकाशित

महिनादिन अघि उपत्यकामा भित्र्याइएका पाँच वटा ‘बिजुली बस’ ललितपुरको पुल्चोकमै थन्किएका छन् । लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याइएको बस चढेर प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरेका थिए ।

उक्त बसहरु एडिबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले किनेको थियो।  भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म काठमाडौं उपत्यकामा चलाउने गरी साझा यातायातले संयोजन गर्ने मौखिक सम्झौता भएको थियो। तर, लुम्बिनी विकास कोषले लिखित सम्झौता साझालाई नदिएको कारण सञ्चालनमा ल्याउन नसकिएको साझाका अध्यक्ष कनकमणि दीक्षितले बताए। ‘दसैं-तिहारले हुन सक्छ लुम्बिनी विकास कोषसँग लिखित सम्झौता हुन पाएको छैन, सम्झौताको पखाईमा छौं,’ उनले भने।

लुम्बिनी-काठमाडौं तथा अन्य जुनसुकै ठाउँमा बिजुलीबस परीक्षण तथा सञ्चालन गर्न साझा सदैव इच्छुक रहेको बताउँदै उनले भने, ‘नेपालको अर्थतन्त्र, जनस्वास्थ्य र वातावरणका लागि बिजुलीबस प्रयोग अपरहार्य छ।’

उद्घाटनका दिन प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रविन्द्र अधिकारी, वनमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायत उच्च पदस्थ सरकारी व्यक्तिहरुले पुल्चोकदेखि सिंहदरबारसम्म ‘बिजुली बस’ चढेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकार्पण गरेका थिए। सोही कार्ययोजनाअन्तर्गत रहेर साझाले बिजुली बस चलाउने अध्यक्ष दीक्षितले बताए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू