अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

कांग्रेसको आर्थिक नीति तयार हुँदै

बिआरटीनेपाल २०७५ कार्तिक २० गते १८:३६ मा प्रकाशित

नेपाली काङ्ग्रेसले पार्टीको महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारीलाई तीव्र गति दिएको छ ।

पार्टीले सो कार्यका लागि सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा आर्थिक नीति मस्यौदा समिति गठन गरेको थियो । समितिको आज बसेको बैठकले समग्र आर्थिक नीति मस्यौदा तयारीमा विज्ञहरु डा स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल, डा पोषराज पाण्डे, अच्युत वाग्ले र डा विश्व पौडेलसँग आवश्यक सहयोग लिने निर्णय गरेको छ ।

समितिले यसअघि आर्थिक नीति मस्यौदा तयारीका लागि आवश्यक सुझाव लिने क्रममा यही कात्तिक ९ गते गण्डकी प्रदेशको पोखरामा सो क्षेत्रका पार्टी सभापति तथा विज्ञको संलग्नतामा सुझाव लिने काम सम्पन्न गरिसकेको छ ।

त्यस्तै कात्तिक १० गते प्रदेश नं २ मा, कात्तिक ११ गते प्रदेश नं १ मा र कात्तिक १२ गते कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्लाका सभापति र विज्ञको संलग्नतामा सुझाव लिने काम सम्पन्न गरिसकेको पार्टी कार्यालयले जनाएको छ ।

कात्तिक २५ गते भक्तपुरमा प्रदेश नं ३ मा सुझाव सङ्कलन लिने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

साथै, राष्ट्रियस्तरका आर्थिक, सामाजिक क्षेत्रका विज्ञ र उद्योग व्यवसायी सङ्घसंस्थाका प्रतिनिधि, शुभेच्छुक र भ्रातृ सङ्घका केन्द्रीय प्रतिनिधिसँग पनि यही महीनाभित्र सुझाव सङ्कलन गरिसक्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू