अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

कोलोराडोमा देउसी भैलो सुरु, अरोरा शहरमा भोली सांझ

बिआरटीनेपाल २०७५ कार्तिक १९ गते १९:४५ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यमा २०१८ को तिहार सुरु भएको छ । हिजो काग तिहारको दिनबाट लङ्मन्ट सहरबाट देउसी भैलो सुरु गरिएको हो । नेपाली घर र लङ्मन्ट हिमालयन लाइन्स क्लबको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो । नेपालीहरूको साझा घर बनाउने उदेश्यले स्थापित नेपाली घर, कम्युनिटी सेन्टर बनाउन लागिपरेको छ । केही महिना अघि भागवत पुराण सम्पन्न गरेको संस्थाले प्रत्येक वर्ष देउसी भैलोको कार्यक्रम आयोजना गर्दै आइरहेको छ । कम्युनिटी सेन्टर बनाउन रकम सङ्कलन गर्नु भन्दा बढी नेपाली परम्पराको संवर्धन र प्रवर्धन गर्ने कुरोलाई जोड दिँदै देउसी भैलो खेलिएको हो भनेर संस्थाका कोषाध्यक्ष जगदीश ढकाल बताउछन ।

लङ्मन्टको एभरेस्ट रेस्टुरेन्टमा सम्पन्न देउसी भैलो कार्यक्रममा करिब ६० जनाको उपस्थित थियो भने करिब ७५० डलर सङ्कलन गरिएको थियो । तन्नेरीहरू भन्दा अलि उमेर छिप्पिएका व्यक्तिहरू हर्षित मुद्रामा छम्छम्ती नाचिरहेको देख्दा समाजका सबै खाले सदस्यहरूको मन भित्र खुसी झल्केको अनुभूति हुन्थ्यो । 

श्रीराम लुइँटेल, प्रमोद श्रेष्ठले देउसी भैलो भट्ट्याउदै लट्ठु माहौलमा सेल रोटी, अचार लगायतका नेपाली परम्परागत परिकारले कोलोराडो बासीलाई तिहारको झल्को मेटाएका थिए । संस्थाले यसपालिको अर्को देउसी भैलो अरोरा सहरमा अरोरा हिमालयन लायन्स क्लबसँगको संयुक्त आयोजनामा भोलि मङ्गलवार नोभेम्बर ६ मा साँझ ७ बजे नेपाली घरका महासचिव निर्मल श्रेष्ठको घरमा (11592 E Cornell Circle, Aurora) गर्दैछ । उक्त कार्यक्रममा सबैजनालाई सहभागी हुन नेपाली घर तथा अरोरा हिमालयन लाइन्स क्लबले अनुरोध गरेको छ । फोटो: प्रेमकाजी श्रेष्ठ

प्रतिक्रिया