अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

राष्ट्र बिकाश र जनताको दीर्घकालीन उन्नति सरकारको प्रमुख लक्ष्य – प्रचण्ड

बिआरटीनेपाल २०७५ कार्तिक १९ गते ८:१८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । सोही लक्ष्य र सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको उहाँले बताउनुभयो । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष प्रचण्डले सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच बर्षभित्र पूरा गर्ने अठोट गरेको जानकारी गराउनुभयो । अध्यक्ष प्रचण्डले पार्टीमा भविष्यमा आउन सक्ने समस्यालाई अहिले नै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको पनि बताउनुभएको छ ।

केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभई यसका लागि बनेको कार्यदलको सुझाव अनुसार नै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको उहाँको भनाई थियो । पार्टीका दुवै अध्यक्षबीच सहमति र सल्लाहअनुसार नै पार्टीका काम कारशाही संचालन भइरहेको प्रचण्डले बताउनुभयो ।

सरकार पुर्नगठन गर्ने कुनै सम्भावना नरहेको र मन्त्रीहरुको काममा गति बढाउन मात्र जोड दिइएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले वर्षा सकिएकाले अब सरकारको काममा तीव्रता आउने धारणा व्यक्त गर्नुभयो । सरकारको लोकप्रियता घटेको हो कि भन्ने पत्रकारको प्रश्नको जवाफमा लोकप्रियता खोज्नेभन्दा पनि राष्ट्र र जनताको वृहत्तर हितका लागि वर्तमान सरकार दीर्घकालीन फाइदा हुने काममा लागेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू