विभिन्न माओवादी पार्टी निकट पूर्व जनमुक्ति सेनाका सदस्यहरु संगठित भई साझा संगठनका रुपमा गठन गरिएको पूर्व जनमुक्ति सेना, नेपालले १२ बुँदे मागसहित आन्दोलन गर्ने भएको छ । एक–दुई दिनभित्रै सचिवालयको बैठक बसी आन्दोलनका कार्यक्रम तय गरिने केन्द्रीय संयोजक प्रविण तामाङले जानकारी दिनुभयो । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारसँग १२ बुँदे माग राखेको र पुरा नगरे आन्दोलनमा जाने चेतावनी दिइएको हो ।
सो पत्रकार सम्मेलनमा बारम्बार गरिने पूर्व पिएलएको आन्दोलन सफल नहुनुको कारणबारे पत्रकारहरुको जिज्ञासामा संयोजक तामाङले माथिल्लो तहका कमाण्डरले नेतृत्व नगर्नु, सबै एकजुट नहुनु तथा कतिपयले आन्दोलनप्रति घात गर्नु जस्ता कारण दोषी भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा जनयुद्ध र जन आन्दोलनका सहिद परिवार, पूर्व पिएलए, घाइते अपाङ्ग अयोग्य भनिएका योद्धाहरुलाई राष्ट्रिय सम्मान सहितको परिचय पत्रको व्यवस्था, उनीहरुका परिवार मध्ये कम्तीमा १ जनालाई रोजगारी, सहिद तथा बेपत्ता परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा, सम्पूर्ण पीएलएलाई स्वरोजगार बनाउनुपर्ने तथा जीवन बीमा हुनुपर्ने, अशक्त घाइते अपाङ्गहरुलाई आजिवन निशुल्क उपचार गरिनुपर्ने तथा उनीहरु सबैलाई जीवन निर्वाह भत्ता राज्यले व्यवस्था गर्नुपर्ने लगायतको १२ बुँदे मागपत्र सार्वजनिक पनि गरिएको थियो ।