काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका स्थानीय तहहरूले फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने फोहोर विसर्जनस्थल (ल्यान्डफिल साइट) निर्माण गर्ने जिम्मा अाफूहरुकाे नरहेकाे बताएका छन् । संघीय सरकारले नै निर्माण गर्नुपर्ने उनीहरुकाे माग छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहका प्रमुखहरूसँग बिहीबार भएको छलफलमा उनीहरूले फोहोर व्यवस्थापन उपत्यकाको ठूलो समस्याका रूपमा रहेको बताए । स्थानीय तह फोहोर व्यवस्थापन गर्ने मात्रै केन्द्रित हुनुपरेकाले ल्याण्डफिल साइट निर्माण गर्ने काम संघीय सरकारले नै गर्नुपर्ने भन्दै उनीहरूले माग गरेका हुन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्यान्डफिल साइट निर्माण गर्ने जिम्मा आफूहरूको नभएको बताउँदै संघीय सरकारले व्यवस्थापन गर्नुपर्ने उल्लेख गरे ।
‘फोहोर राख्ने स्थान निर्माणका लागि आफूहरूसँग स्रोत-साधन नभएकाले केन्द्र सरकार (संघीय सरकार) ले नै स्थान तय गरिदिनुपर्छ,’ मेयर शाक्यले भने, ‘फोहोर व्यवस्थापन गर्ने स्थान निर्माण गर्ने कार्यमा नै सबै समय खर्चिनुपर्ने अवस्था आएको छ ।’ उनले यस्तो अवस्थाका कारण जनताको चाहनाअनुसारको काम गर्न कठिन भएको बताए ।
दुई महानगरसहित सबै नगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापन गर्ने स्थानको पहिचानदेखि त्यसको प्रबन्ध मिलाउने काममा संघीय सरकारको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेका हुन् । उनीहरूले स्थानीय तहले केही काम गरेन भन्दै आरोप मात्रै लाग्ने गरेकोमा फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग गरे सहजै काम गर्ने वातावरण हुने निष्कर्षसमेत निकालेकाे समाचार अाजकाे राजधानी दैनिकमा छ ।
दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भन्दै १३ वर्षदेखि नुवाकोटको सिसडोलमा फोहोर राखिँदै आएको छ । उपत्यकाका १८ स्थानीय तहको फोहोर उक्त स्थानमा व्यवस्थापन हुने गर्छ ।