अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय भकुण्डो खेलाडी तुलाधर सम्मानित, सातौँ दसैँ कप प्रतियोगिताको विजयी ड्यालस गोर्खाज

विजय थापा २०७५ असोज २९ गते १८:०९ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न दसैँ कप भकुण्डो प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गरिएको छ । उक्त सातौँ दसैँ कप प्रतियोगितामा ड्यालस गोर्खाज फुटबल क्लब विजयी भएको छ । विजयी सँगै विजयी टोलीले २ हजार डलर नगद तथा पदक हासिल गरेको छ । गत वर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल भकुण्डो टोली विजेता बनेको थियो । 

उक्त प्रतियोगिताको निर्णायक खेलमा ड्यालस गोर्खाज फुटबल क्लबले लस एन्जलस ११ लाई २- ० ले हराई ७ औ दसैँ कप फुटबल प्रतियोगिताको पदक प्राप्त गरेको हो । उक्त प्रतियोगितामा उप विजेता रहेको लस एन्जलस ११ टोलीले ८ सय डलर तथा पदका प्राप्त गरेको छ । प्रतियोगितामा पेमा योजर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यसै गरी ३५ वर्ष भन्दा माथि उमेरका खेलाडीहरू बिच सम्पन्न उक्त खेल प्रतियोगितामा एफसी गोल बोसटर्स विजयी भएको छ । उप विजेता ड्यालस गोर्खाज फुटबल क्लब रहेको थियो भने उप विजेतालाई ५ सय डलर तथा पदक प्रदान गरिएको छ ।

उक्त खेलमा गोल रहित भए पछि पेनाल्टीको माध्यम बाट एफसी गोल बोसटर्स विजयी भएको हो । विजेतालाई एक हजार डलर नगद तथा पदक प्राप्त भएको छ । रवि गौतम उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

हरेक वर्ष खेलकुद क्षेत्रमा विशेष योगदान गर्ने राष्ट्रिय भकुण्डो खेलाडीलाई सम्मान गर्ने भएकोले यस वर्ष पूर्व राष्ट्रिय खेलाडी सुनिल तुलाधर गरिनुको साथै तुलाधर नै प्रमुख अतिथि रहेका थिए ।

सन् २०१० देखि नै न्यूयोर्कमा बसोबास गर्दै आएका तुलाधरले आफू राष्ट्रिय भकुण्डो टोलीमा सन् २००३ मा सहायक कप्तान रहेको बताए । उनले अगाडी भने सिड्नी ओलम्पिकमा टोली प्रमुख रहेको र राष्ट्रको लागि ९ वर्ष सम्म निरन्तर खेलेको बताए ।

सम्मानित भए पछि विदेशी भूमिमा युवा पिँढीले सम्मान गरेकोमा हर्ष लागेको बताए । आयोजकलाई आफूले जानेको कुरा, सिकेको कुरा र अनुभव बारेमा सहयोग चाहेमा आफू सदैव युवा खेलाडीहरूका लागि सहयोग गर्ने बचन बद्धता दिएका छन् ।

तुलाधरले अगाडी भने आफूलाई देशले ठुलो लगानी गरेको तर भकुण्डो पदाधिकारीहरूको व्यक्तिगत स्वार्थ, फोहरी राजनीति तथा व्यक्ति विशेष हाबी भएको कारण आफूलाई उक्त कुरा मन नपरेको कारण बिर्सिदिनु परेको तुलाधरले बताए ।

साथै मातृभूमि, खेलाडी र खेलप्रेमीहरूलाई आफूले सदैव माया गर्ने बताए । यहाँ बसेर पनि देशलाई केही सहयोग गर्नु परेमा आफू तत्पर रहेको तुलाधरले बताए । साथै ड्यालस गोर्खाज क्लबलाई धन्यवाद दिँदै प्रगतिको शुभकामना दिएका छन् । साथै ड्यालस गोर्खाज फुटबल टोलीका खेलाडी तथा प्रतियोगिताका संयोजक विनोद विष्टले हरेक वर्ष खेलकुद क्षेत्रमा विशेष योगदान गरेका खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए ।

गत वर्ष छैठौ दसैँ कप फुटबल प्रतियोगिता नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिएको थियो । नेपालीहरूको महान् चाड बडा दसैँको उपलक्ष्यमा दसैँ अगाडि खेलाइने उक्त प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको थियो । 

प्रतिक्रिया