अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

नेपालका शाह राजाहरुको शक्ति र शानको प्रतिक श्रीपेच र राजदण्ड सार्वजनिक प्रदर्शनीमा

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:१६ मा प्रकाशित

नेपालका शाह राजाहरुको शक्ति र शानको प्रतिक श्रीपेच र राजदण्ड सोमवार देखि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । उक्त श्रीपेच र राजदण्ड नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनीमा राखिएको हो । वि. सं २०६२/०६३ को जनआन्दोलनको बलबाट स्थापित संविधान सभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डसहित राजकीय अवसरमा प्रयोग गर्ने सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेर दरबार छाड्नुभएको थियो ।

वि. सं २०६५ साल फागुन १५ गते नारायणहिटी दरवार संग्रहालयको उद्घाटन गरेर त्यस भित्रका ५२ मध्ये १९ वटा कोठालाई सर्वसाधारणको लागि खुला गरिएको थियो । तर, श्रीपेच र राजदण्डलाई भने सुरक्षाको कारण देखाएर प्रदर्शनीमा राखिएको थिएन । ती सामाग्री दरबारभित्रकै शैलुङ कक्षमा सुरक्षित राखिएको थियो । अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न पाउने छन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीक श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गरिएको वताउनुभयो । इतिहासमा राजाहरुले मुलुकको राष्ट्रियता र एकीकरणमा खेलेको भूमिका सकारात्मक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध रुपमा शासन गर्न पाउनुपर्छ भन्ने व्यवस्था भने तर्कसङ्गत नभएको उल्लेख गर्नुभयो । जनताबाट निर्वाचित हुने शासन व्यवस्था नै तर्कपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सोमबार श्रीपेच जनताका लागि प्रदर्शनी खुलाउनाले नेपालको परिवर्तन कहाँ पुग्यो भन्ने स्पष्ट भएको वताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीले विसं २०६२/ ६३ को राजनीतिक परिवर्तनपछि संग्रहालयमा परिणत भएको नारायणहिटीमा श्रीपेच सुरक्षित राखिएको र हाल प्रदर्शनमा ल्याई श्रीपेचै छैन कि भन्ने भ्रम हटाइएको वताउनुभयो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०६५ फागुन १५ गते दरबारलाई संग्रहालय बनाइएको तथा हाल श्रीपेच, राजदण्ड, टायरा आदि १२ सामानको थप प्रदर्शनी खुला गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा संग्रहालय स्थापनामा सहयोग र्पुयाउने संस्कृतिविद् डा. जगमान गुरुङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. मदन रिमाल, विभागका उपसचिव दामोदर गौतम, उपसचिव रामबहादुर कुँवर, विभागका पूर्वप्रमुख रोहितकुमार ढुङ्गाना लगायतलाई सम्मान गरिएको थियो ।

तत्कालीन राजाहरुले पहिरिने श्रीपेचमा अष्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइज (हँमायु) को बहुमूल्य प्वाँख राखिएको छ भने ७३० वटा हीरा र २ हजार ३७२ मोती जडिएको छ । श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जोडिएको छ । राजदण्ड र चमर भने सुनै सुनले वनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू