गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिमानामा हुने तस्करी र अपराधका घट्ना नियन्त्रण गर्न शसस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । सोमबार गृहमन्त्रालयमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसहित सातवटै प्रदेशका सशस्त्र प्रहरी प्रमुखहरुलाई बोलाएर गृहमन्त्री थापाले यस्तो निर्देशन दिनुभएको हो । सशस्त्र प्रहरीलाई राज्यले सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको उल्लेख गर्दै मन्त्री थापाले उक्त जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न सशस्त्र प्रहरीका उच्च सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभयो ।
मदिरा नियन्त्रण र लागू पदार्थविरुद्ध मन्त्रालयले अभियान शुरु गरेको उल्लेख गर्दै मन्त्री थापाले सशस्त्र प्रहरी बलले उक्त अभियानमा विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड समेत दिनुभएको छ । त्यस्तै देशमा अस्थिरता निम्त्याउन खोज्ने तत्वहरु माथि समेत निगरानी बढाउन थापाले निर्देशन दिनुभयो ।