अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

नेकपामा विवादः ओली र नेपाल समूहबीच आरोप प्रत्यारोप

बिआरटीनेपाल २०७५ असोज १४ गते ९:२० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा वरिष्ठ नेता माधवकुमार पक्ष र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षवीच विवाद वढेको छ । वरिष्ठ नेता नेपालले सरकार र नेतृत्वको आलोचना गरेपछि पार्टीभित्र विवाद सुरु भएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुले नेपालको आलोचना गर्दै उहाँमाथि खनिएका छन् भने नेपाल पक्षधर नेताले बचाउ गरिरहेका छन् ।

गत विहीवार नेता नेपालले प्रतिनिधिसभाको वैठकलाई सम्वोधन गर्दै मुलुक डुव्न लागेको र किनारा लगाउनुपर्ने आवश्कतामा जोड दिंदै सरकारको आलोचना गर्नुभएको थियो । देशमा हत्या, हिंसा, बलात्कार बढेको भन्दै नेपालले गृहमन्त्री खोई भनी प्रश्न समेत गर्नुभएको थियो । त्यसलगत्तै वरिष्ठ नेता नेपालले अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा एकलौटी गरेको भन्दै स्थायी कमिटी बैठक बोलाएरै प्रदेशको पदाधिकारी चयनमा असन्तुष्टि पोख्नुभएको थियो ।

नेता नेपालका यस्ता गतिविधी विरुद्ध प्रधानमन्त्री ओलीले अमेरिकाबाटै विरोध जनाउनुभएको थियो । संयुक्त राष्ट्रसंघको ७५ औं महासभालाई सम्बोधन गर्न न्युयोर्क पुग्नुभएका उहाँले आफ्नो एक अन्तर्वार्तामा नेता नेपालप्रति लक्षित गर्दै देश कुनैपनि हालतमा नडुव्ने र आफु फर्केर आइहाल्ने जवाफ फर्काउनुभएको थियो । संसदमा नेपालले व्यक्तिगत कुण्ठा पोखेको प्रधानमन्त्रीको आरोप समेत थियो ।

लगत्तै प्रधानमन्त्रीसँगै अमेरिकामा रहेका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेता नेपाल लक्षित ट्वीट गर्दै सरकार ढाल्न खोजेको आरोप लगाउनुभयो । यसैगरी, गृहमन्त्री रामबहादुर थापाले नेपालको गृहमन्त्री खोई भन्ने भनाईप्रति लक्षित गर्दै सरकारलाई घेराबन्दी गर्ने र ढाल्ने षडयन्त्र भइरहेको वताउनुभयो ।

ओली निकट मानिने नेता राजन भट्टराईले पनि सरकारको विकल्पका रुपमा धमिलो पानीमा माछा मार्न खोजेको भन्दै नेपालको विरोध गर्नुभयो । ओली समूहले कडा प्रतिवाद गरेपछि नेपाल पक्ष पनि प्रतिरक्षामा उत्रिएको छ । नेपाल पक्षीय नेताहरुले सत्ता र शक्तिको चुचुरोबाट पतन देख्नु हास्यास्पद भएको बताएका छन् । नेपाल निकट मानिने नेता योगेश भट्टराईले गलत कामको आलोचना गर्दा सत्ता गिराउने र आफैं पतन भएको देख्नु उपयुक्त नभएको वताउदै आउनुभएको छ ।

सरकारविरुद्ध यस प्रकारका गुनासा बाहिर सार्वजनिक हुनुपर्ने परिस्थिती उत्पन्न हुनु राम्रो नभएको भन्दै नेकपा भित्र चाँडो भन्दा चाँडो स्थायी कमिटी बैठक राखेर छलफल गरिए सबै समस्याको समाधान हुने केही नेताहरुको सुझाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू