अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

बलत्कारीलाई फाँसीको सजाय दिने व्यवस्था गर्न महिला नेतृहरुको गृहमन्त्रीसंग माग

बिआरटीनेपाल २०७५ असोज १२ गते ९:२२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन् । सत्तारुढ दलका महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन् ।

पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । त्यसक्रममा महिला नेतृहरुले पार्टी नेता समेत रहेका गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफूहरु लज्जित हुने अवस्था आएको गुनासो पनि गरेका छन् ।

भेटमा गृहमन्त्री थापाले महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको आश्वसन दिनुभयो । महिला तथा बालिकामाथि हुने हत्या, बलात्कार लगायतका ९० प्रतिशत घटनाको छानविन गरी दोषीलाई कार्वाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री थापाको भनाई थियो ।

मुलुकमा महिला र बालिकामाथि हत्या, बलत्कार लगायतका घटना बढदै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दवाव दिन सुरु गरेका छन् । उनीहरुले यस्ता घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भिर नभएको आरोप पनि लगाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू