अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

स्टक क्लियरेन्स मेलामा दसैँको सामान किन्नेको भिड, सस्तोमा प्रतिस्पर्धा

बिआरटीनेपाल २०७५ असोज १२ गते ६:४२ मा प्रकाशित

दसैँमा एकै छानामुनि सामान किन्न आउनेहरूको भिड भृकुटीमण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ । नजिकिँदै गरेको दसैँलाई लक्षित गरी सुरु गरिएको मेलामा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायतका वस्तुको खरिदमा आकर्षक छुट समेत पाइने भएकाले भिड बढेको हो ।

दसैँका लागि सामग्री किन्न कता जाने भन्ने योजना बनाउनेहरूलाई एक्स्पोको आयोजकले एकै स्थानमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन मेला आयोजना गरेको हो । मेलामा पहिलो दिनदेखि नै सामान किन्न आउनेहरूको बाक्लो उपस्थिति देखिएको हो । २ दिनसम्ममा २५ हजार बढीले मेला भ्रमण गरेका छन् ।

राजधानीका साथै आसपासका उपभोक्तालाई लक्षित गर्दै स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवाका ७२ वटा प्रदर्शनी तथा बिक्री केन्द्र मेलामा राखिएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्सले प्रवर्द्धन गरेको छ ।

चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने विश्वास चेम्बर अफ कमर्सले लिएको छ । दोस्रो संस्करणका रूपमा आयोजना भएको मेला ‘दसैँको बेला सस्तो मेला’ भन्ने नारा सहित आयोजना गरिएको हो ।

आगामी सोमबारसम्म चल्ने एक्स्पोमा दसैँका लागि आवश्यक सबै किसिमका सामाग्रीहरू सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरू छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’ प्रधानले भने । नेपाल, भारत तथा बङ्गलादेश लगायत मुलुकका व्यवसायीहरू मेलामा सहभागी छन् । मेला असोज १५ गतेसम्म चल्ने छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू