अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

संविधान कार्यान्वयन सरकारको प्रमुख कर्तव्य – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ असोज ३ गते ९:३० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधान कार्यान्यवन गर्नु सरकारको प्रमुख कर्तव्य रहेको वताउनुभएको छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा गरिएको विशेष कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले संविधानले शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलेको भन्दै संविधानलाई कार्यान्वयन गर्नुको विकल्प नभएको वताउनुभयो । ओलीले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित् राष्ट्रको रुपमा रुपान्तरित गरेको भन्दै राष्ट्रियता रक्षा र छिमेकीसँगको सम्बन्ध बलियो बनाउने कामसमेत वर्तमान संविधानले नै गरेको दावी गर्नुभयो । नेपालको संविधान नेपाली कानुनहरुको स्रोत दस्तावेज मात्र नभई नेपालीहरुको चाहना समेटीएको साझा दस्ताबेज समेत रहेको प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले तराई, हिमाल र पहाडको साझा भावना समेटिएको साझा ग्रन्थको रुपमा संविधान आएको उल्लेख गर्दै संविधानले सबै नागरिकलाई विना भेदभाव मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको तर्क गर्नुभयो । संविधानलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने प्रष्ट पार्दै प्रधानमन्त्रीले सबै असन्तुष्टिका स्वरलाई संविधानमार्फत संस्थागत गर्न सकिने तर अधिकार माग्ने बहानामा मुलुकलाई क्रिडास्थल बन्न नदिने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेको भन्दै समृद्धि र विकासको साझा एजेण्डामा एकताबद्ध हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली सेनाले संविधान दिवस झन्डा अंकित हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले आ–आफ्नो कलाकौशल प्रदर्शन गरेका थिए । काठमाडौं, ललितपुर र भक्तपुर महानगरपालिकाले पनि आ–आफ्नो संस्कृति झल्कने साँस्कृतिक झाँकी कार्यक्रममा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू