अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

पेशल आचार्यका पाँच कविता

पेशल आचार्य २०७५ भदौ ३० गते ९:१५ मा प्रकाशित

कविता – १
बन्धु यात्रा
ह्रास कट्टी गरेर
बाँच्नु
प्रतिशतमा
हाँस्नु उस्तै उस्तै हो
मौसम प्रतिकूल छ,

यहाँ मायाको
आयात निर्यातमा
दर्शनको दाउनले
भन्सार दर खडा गर्छ,

यहाँ मानवताको
व्यापारमा
खजाञ्ची बनेको छ –रौस
आततायी
सारथिले
नौका विहार गराउँछ
चाँदनी फुलको किल्लोरमिा
खिल् खिलाउँछ,

जब फक्रेको परागमा
शीत बिन्दु टप्किन्छ
विचार र व्यवहारका
नेताहरू फस्का भए भने
एउटा कविले
जिन्दगीभरि मानवतावादी
कविता लेखे पनि
त्यो हुनुभित्र नहुनुझैँ हुन्छ,

अभिव्यक्ति
मापनका लागि
समाजको अभियन्तालाई
दिगम्बर बनाउनु
र समूहमा
पानको थुक थुकेझैँ
खिल्ली उडाउनु एकै हो,

मनका पत्रहरू
अज्ञेय छन्
वाचाल मुद्रामा पनि
असुर ठम्याउँछ
तोते बोलीको बालक,

आधार शिविरको
क्लान्त आरोही
र दम्भी कवि
दुवै सगोत्री हुन्
म भन्छु लेखन र आरोहणमा
समदुरीको सम्बन्ध छ ।

कविता – २
उपसंहार इच्छा
प्रेमको
विश्वविद्यालय बनाएर
संसारका सबै
हतियार नष्ट गर्न पाए
आहा ! कति जाति हुन्थ्यो,

देशका गञ्जकमा
कैदी बनाएर मानिसलाई
परेवालाई झैँ
दर्शनको चारो दिएर
चाबुक हान्ने मसिहाले
संसार एउटै राष्ट्र बनाए
आहा ! मान्छे कति माथि हुन्थ्यो,

चेचेन विद्रोही
लिट्टे
प्यालेष्टिनी
या नाम देऊ माओवादीको
प्रकाशित द्रोह
एउटै ठुलो दियोमा
मैत्रित्वको वर्तन हालेर
समता, विकास र अग्रगमनको
बत्ती बाल्न पाए
आहा ! शान्ति कति भलिभाँती हुन्थ्यो,

टोपी लगाएर
मान्छेको टाउकाको भेद भयो
लुगा लगाएर
मान्छेको शरीरको विभाजन भयो
जुत्ताको लेस कसेर
मानिसको पथको कित्ता काट भयो,

मुरली मकैझैँ
छोडाएर मान्छेलाई
देश विहीन पार
धर्म विहीन पार
राष्ट्रियता विहीन पार
न नाप
सबै गाणितीय नापतौलले
तत्समयमा
मान्छे एउटै हुन्छ
मान्छे एउटै छ,
अनि केको बखेडा झिक्छ कसैले
राजनीतिको बारीमा
अशान्त पोखरीको डिलमा,

प्रेमका
विश्वविद्यालयहरू जताततै बनाएर
संसारका सबै
हतियारहरू नष्ट गर्न पाए
आहा ! मान्छे कति माथि हुन्थ्यो ।

कविता – ३
गुरु वाणी
देश
चिनाउनभन्दा
उपदेश
बुझाउन
गाह्रो हुँदो रहेछ
मानिसहरूलाई,

गुरुहरू
आचार्यहरू
शिक्षकहरू
प्राध्यापकहरू
बितेका
पाँचहज्जार वर्ष यता
अबुझ मानिसहरूलाई
नीति
रीति
धृति बुझाई रहेछन्,
बुद्ध/लाओत्से/जीसस/मोहम्मद/कृष्ण
र महावीर बद्र्धमानले
शत सिकाए
व्यभिचारी नबन भने
दया गर
क्षमा देऊ
करुणा मृत खसाल
आदित्यादि सबै भने,

तर अज्ञानी थिएन मानिस
ऊ जब्बरथियो
ढिट थियो
अटेरी र अल्छी थियो
गुरुहरूले
सिकाए र गए,

आज पनि
विधि/प्रविधि
सिकाइरहेछन् गुरुहरू
फगत घाम ओढेर
अभाव पिएर
तर सिके भनिएकाहरू नै
नसिकेको व्यवहार गरिरहेछन्
या नाटक गरेर सिके पनि नसिकेझैँ गरिरहेछन्,
पृथक् हिजो र आजका गुरुमा केही छैन
केवल चिच्याइरहेछन् ।

कविता –४
रहरसँगै नववर्ष
प्वाँख उलेलिएको
चराजस्तो
यतिखेर
मेरा सामुमा
पुराना वर्षका धमिला
विम्बाकृतिहरू छन्
र छन्
उदास उदास
वेश्यालयकी
तरुणी वेश्याको
क्षतविक्षत कटी प्रदेश,

दिनभन्दा रातमा
औपचारिकताभन्दा अनौपचारिक तामा
अमृतभन्दा उन्मादमा
गरिब देशको
योजना आयोगले
योजना गर्भाधान गर्छ
र वर्षैभरि
विरोध/बन्द अनि जाम जन्माउँछ,

यहाँ अर्थशास्त्रले
अर्थ मात्रै नियाल्छ
तर शास्त्र बिर्सिएको छ
यहाँ राजनीतिले
राज मात्रै गर्छ
तर नीति आफलिदिएको छ
बजेटको
हाँडीभित्र
आश्वासनका कप्टेराले
योजना भुट्दै छन्
अर्थशास्त्रीहरू
राजनीतिज्ञहरू
छेउमै
न्यानो चपाउने रहर बोकेर
उभिएका छन् आसे जनताहरू,

सभासद्हरू
संविधान सभारूपि सिलौटोमा
विचार पिसिरहेछन्,

क्षण पल र घडीघन्टा हुँदै
समय चिप्लिरहेको छ
रङ उडेको झन्डा चेपेर
मेरा सामु
फेरि पनि उही अटेरी नव वर्ष
टुप्लुक्क आएको छ,

तपाईँ नै भन्नोस्
नववर्षको स्वागत
यस पटक पनि म कसरी गरौँ ?

कविता –५
इतिहास भर्सेज मान्छे
प्रत्येक दिन
पुराना कार्बन पेपरझैँ
कुच्याएर फाल्छु
म मेरा दिनहरू,

अगणित
कति दिनहरू
रहरसँगै साटियो
कति पटक
आफैँले आफैँलाई ढाँटियो,

दुनियाँ
गतिशील
चलायमान
नाटक गथ्र्यो
अझै गर्दैछ
कविता काव्य
आख्यान
र समालोचना
अक्षरमा होइन
म प्रत्येकका
आत्मामा खोज्छु,

समय बिताउनु परे
मानिस नै रोज्छु,
सिङ्गो मानिस
दुःखको मुहान
सफलताको सोपान
करुणाको काया
र धीत नमर्ने माया हो,

आरम्भ अन्त्य
संयोग वियोग
प्रछन्न खुसी
अन्त नहुने रोदन
यात्रा गन्तव्य
संश्लेषणविश्लेषण
हो ! सबै थोक
मैले भनेकै मानिस हो,

जसमा मासुको मुटु
दूर दृष्टि नियाल्ने बैखरी
समवेत रूपका
पराअपरा विद्या,
विश्वकर्माले दिएका
अनन्त सीप
ऊर्जा
कला
आदि सबै छन्,

त्यसैले म ढुङ्गाको देवताभन्दा
मासुको मुटु भएको
मान्छेलाई बढी प्रेम गर्छु ।