अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम स्थगित-सरकारलाई एक हप्ते अल्टिमेटम

बिआरटीनेपाल २०७५ भदौ १९ गते ९:२३ मा प्रकाशित

नेपाल चिकित्सक संघले मुलुकी अपराध संहिता ऐन २०७४ को संशोधन प्रक्रिया अगाडि बढाउन सरकार सहमत भएसंगै सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ । साथै उसले संहिता संशोधनको लागि एक हप्ताको अल्टिमेटम दिएको छ । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र संघबीच भएको पछिल्लो वार्तामा संहिताको दफा २३० को उपदफा २ खारेज गर्ने सहमति भएको छ । मन्त्रालय र संघबीच ऐन संशोधन गर्ने सहमति भएसंगै संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो । राजधानीमा आज पत्रकार सम्मेलन गरेर संघले सोमबारसम्मका लागि आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग हिजो भएको सहमति अनुसार संघले सोमबारसम्मको समय दिएको अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । आगामी सोमबारभित्र ऐन संशोधनका लागि प्रक्रिया अघि नबढाए पुनःआन्दोलनमा उत्रिन बाध्य हुने संघले जनाएको छ । मुलुकी अपराध संहिता ऐन २०७४ संशोधनको माग गर्दै चिकित्सकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका थिए । गत भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच बर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएपछि त्यसको संशोधनको माग सहित चिकित्सकहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू