अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

कञ्चनपुर घटना – दोषीलाई संरक्षण दिने काम गरेको भन्दै कांग्रेसद्वारा सरकारको आलोचना

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:३१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई सरकारले संरक्षण दिने काम गरेको भन्दै चर्को आलोचना गरेको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संग्लग्न मुख्य अभियुक्तलाई बचाइ अर्को व्यक्ति लाई अभियुक्तको रुपमा उभ्याउने काम गरेको आरोप लगाएका हुन् ।

सांसद मिन बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा सरकारले दोषी उम्काइ सुस्त मनस्थितिका व्यक्तिलाई अभियुक्त वनाएर जनतालाई ढाट्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मिना पाण्डेलेले निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने प्रयास भइरहेको भन्दै बलात्कार र हत्या जस्तो जघन्य अपराधलाई राजनीतिकरण नगरी निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार संग माग गर्नुभयो ।
सांसद रंगमती शाहीले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्छ भन्ने आवाज उठाउने जनतामाथि सरकारले थप दमन गर्ने काम गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गर्नुभयो ।

यसैवीच, सत्तारुढ दलकै सांसदहरूले पनि मुलुकभर बलात्कार र हत्या जस्ता घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका मृत्यु दण्ड दिने व्यवस्था संविधानमा नै गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसद मैना कुमारी भण्डारीले निर्मला पन्तको हत्याबारेको यथार्थ अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद राधा ज्ञवालीले संविधान संशोधन गरी बालिका बलात्कार गर्ने अभियुक्तलाई मृत्युदण्ड हुने प्रावधानको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू