अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

बालिका बलात्कार र हत्याको विरोधमा कञ्चनपुरमा विरोध प्रदर्शन

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:२३ मा प्रकाशित

सिडियो र प्रहरी प्रमुख परिवर्तन,
प्रहरी र प्रदर्शनकारीबिच झडप, १० जना घाइते– प्रशासनद्धारा कर्फ्यु आदेश जारी

गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता गरेको छ । भीमदत्त नगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न र प्रहरीको अनुसन्धानबारे पनि अनुसन्धान गर्न समिति गठन भएसँगै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई फिर्ता बोलाएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

मन्त्रालयले तारानाथ अधिकारीलाई नयाँ सिडिओको जिम्मेवारी दिएको छ भने कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेवारी कुवेर कठायतले पाउनुभएको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता वोलाएको हो ।

मन्त्रालयले कञ्चनपुरमै कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठीको पनि सरुवा गरेको छ । गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह– सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलाई लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलाई सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काउदै आएका छन ।

यसैबीच, हत्याको विरोधमा बिहीबार कञ्चनपुरमा भएको प्रदर्शनमा १० जना घाईते भएका छन् । प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ २ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । सो क्रममा प्रहरीले गोली चलाएको थियो । घाइतेमध्ये एक जनालाई टाउकोमा चोट लागेकाले उनको अवस्था गम्भिर रहेको वताईएको छ ।

दिनहुँजसो प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ । जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले विहीवार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फयू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फयू जारी गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । । भीमदत्त नगरपालिकाको वडा नं १८ र वडा नं ४ को बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू