अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

पेशल आचार्यका दुई कविता

पेशल आचार्य २०७५ वैशाख १७ गते १६:५० मा प्रकाशित

कविता –१

मौलिक साँझ
दरबारमा साँझ
घरबारमा साँझ
उष्ण साँझ
शितोष्ण साँझ
तृप्तताका सन्धिसर्पन भित्र
अनेक साँझ,

अवतार साँझहरू
कतै गुनासा भाक्छन्
सङ्घीय साँझहरू
कतै विद्रोह कबोल्छन्
रातको पन्थमा
एउटा साँझ लखरलखर
हिँडेर उद्देश्य चुम्न चाहन्छ
दौडिएर अर्को साँझ
धुमिल हुन चाहन्छ
प्रेमाशक्त भएर
साँझ
प्रेमी बन्छ
प्रेयसी पनि बन्छ
यो वा त्यो
जे पनि बन्छ
साँझ आखिरमा
मौलिक हुन्छ ।

कविता –२
साँझ र दर्शन
ड्ड पेशल आचार्य
अङ्क, दृश्य र सूत्रधार
साँझमा विराजमान छन्
धरती
आफैँमा
शश्यशालिनी भएकी छिन्
उपमा
र उपमेय
साँझको
अन्तरा
र स्थायी
साँझमा
जँच्छ
पुग्छ,
शरदमा
साँझाको वदन
प्रिय र झन्झनाहट्
दुवै हुन्छ
जब साँझ
र स्वप्नका बिच
क्रीडाकेली हुन्छ
र दर्शन जन्मन्छ ।

।।समाप्त।।