अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा, पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

बिआरटीनेपाल २०७४ चैत २४ गते ९:५१ मा प्रकाशित

सुर्खेत । ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा यही वैशाख १ गतेबाट रारा तालमा सुरु हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्रीसमेतको कार्यभार सम्हालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

कर्णालीको राराबाट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्ने कार्यक्रम रहेको बताउँदै उनले राराबाटै कर्णालीको समृद्धि र विकासको यात्रा सुरु हुने जानकारी दिए । मन्त्री ज्वालाकाअनुसार कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भका लागि सुरक्षा, आवास, भोजन, स्वागतलगायतका तयारी पूरा भएका छन् ।
पर्यटन वर्षलाई सफल बनाउनका लागि प्रदेशका १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कर्णाली प्रदेश पर्यटन प्रवर्द्धन समिति गठन गरिएका छन् । यसका साथै कालिकोट, डोल्पा र हुम्लामा पनि पर्यटन वर्षको तयारी पूरा भएको उनले जानकारी दिए । 

उनका अनुसार पर्यटन वर्षलाई सफल पार्न १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहेको समिति गठन गरिएका छन् ।

पर्यटन वर्षको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालसहित चार स्थानबाट गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली रारासँगै चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, डोल्पाको शे–फोक्सुण्डो र कालिकोटको पाँचालझरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्ने उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले एक वर्षमा रारामा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । रारामा आउने पर्यटकका लागि सडकमार्गको स्तरोन्नति, आवास र भोजन व्यवस्थापनलाई सरकारले प्रमुख चुनौतीका रूपमा लिएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

निजी क्षेत्रसँग सहकार्य गरेर यी चुनौतीलाई अवसरमा बदल्ने उनको भनाइ छ । सुर्खेतदेखि रारातालसम्मको २९४ किलोमिटर सडकको स्तरोन्नतिको काम सुरु गरिएको मन्त्री केसीले जानकारी दिइन् । पर्यटन वर्ष उद्घाटनका लागि आउने प्रधानमन्त्रीसहितका पाहुनालाई स्थानीय उत्पादन कर्णालीको जुम्लीमार्सी, फापर, कोदोलगायतका परिकार उपहारमा दिइने पनि उनले बताइन् । कर्णालीको समृद्धि र विकासका लागि २०७५ साललाई पर्यटन वर्षका रूपमा मनाउने निर्णय प्रदेश सरकारको हो ।

प्रतिक्रिया