अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

आफुले चाल्ने प्रत्येक कदम विकासको कदम हुने प्रधानमन्त्री ओलीको दावी

बिआरटीनेपाल २०७४ चैत १३ गते ११:१९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले चाल्ने प्रत्येक कदम विकासको कदम हुने बताउनु भएको छ । “समृद्ध नेपाल सुखी नेपाली” को आफ्नो परिकल्पनालाई परिसंघले प्रस्तुत गरेको आर्थिक समृद्धिको मार्गचित्रले थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै मुलुक अब दीगो विकासको साथसाथै छिटो विकास नभए अन्य मुलुकहरुको तुलनामा विकासको गतिमा धेरै पछाडी पर्नु पर्ने कटु यथार्थ रहेको बताउनु भएको हो ।

नेपाल उद्योग परिसंघद्वारा परिसंघ–प्रवुद्ध परिषदको सहयोगमा तयार गरिएको समृद्धिको मार्गचित्र प्रस्तुतिको अवसरमा परिसंघबाट चैत्र १२ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि एवं औद्योगिक विकासको लागि जीवन उपयोगी शिक्षाको आवश्यकता भइ मुलुकमा दक्ष जनशक्तिको खाँचो टड्कारो रुपमा रहेको र आफूले चाल्ने प्रत्येक कदम विकासको कदम हुने बताउँदै भ्रष्टाचारमा शून्य सहनसिलताको नीति कडाइका साथ लागू गरिने बताउनु भयो ।

लगानीका सम्भाव्य क्षेत्रहरु निजी क्षेत्रले पहिचान गरी अझ बढी परिष्कृत र थप छलफल सरोकारवाला बीच हुनु जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले परम्परागत प्रविधिबाट उन्मुक्ति लिदै नयाँ प्रविधि प्रयोग गर्न र सहश्राब्दी विकास लक्ष्यले अंगीकार गरेको उत्पादन र रोजगारी सृजनामा जोड दिन सकेमा मात्र व्यापार घाटा घट्ने र सरकार यसै वर्षदेखि व्यापार घाटा घटाउन ठोस योजना तथा कार्यक्रम ल्याउने तयारीमा रहेको र यसमा निजी क्षेत्रको समेत सहभागितामूलक उपस्थिति हुनु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन औद्योगिक लगानीको लागि पूँजीको आवश्यकता हुने हुँदा सबै सम्भाव्य क्षेत्रहरु खुल्ला हुनु पर्ने विषयमा सरकार जानकार रहेको बताउँदै स्मार्ट व्यवसायको सन्दर्भमा सूचना प्रविधि लगायत सबै क्षेत्रमा नवीन प्रविधिको प्रयोगमा जोड दिइने धारणा व्यक्त गर्नुभयो ।

दिर्घकालीन लगानीसँगै दिर्घकालीन पूँजी आवश्यक पर्ने यथार्थतालाई औल्याउदै अर्थमन्त्रीले उद्योग सञ्चालनमा जग्गा प्राप्तको समस्यालाई समाधान गर्न सरकार निजी क्षेत्रसँगै मिलेर अघि बढ्ने किसिमको नीतिगत व्यवस्था हुनु पर्ने विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिदै परिसंघका अध्यक्ष शर्माले लामो राजनीतिक संक्रमणको अन्त्यसँगै मुलुकमा बहुप्रतिक्षित राजनीतिक स्थायीत्वको सम्भावना बढेर गएको विचार व्यक्त गर्नु भयो । यो सम्भावनालाई एउटा शक्तिशाली आर्थिक तथा सामाजिक रुपरेखाको अवसरमा परिणत गर्दै मुलुकलाई दिगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पु¥याउने ऐतिहासिक जिम्मेवारी अहिलेको सरकारको काँधमा आएको साथै यो समृद्धिको अवधारणा कस्तो हुनुपर्छ र कसरी प्राप्त गर्ने भन्नेबारे नेपाल उद्योग परिसंघले परिसंघ–प्रवुद्ध परिषदसँगको पटक–पटकको छलफल, सहकार्य र अन्तरक्रियाबाट ल्याएको धारणाबाट सरकारलाई नीति निर्माणमा समेत अत्यान्त उपयोगी हुने अपेक्षा परिसंघले लिएको धारणा व्यक्त गर्नुभयो ।

परिसंघले प्रस्तुत गरेको समृद्धिको मार्गचित्रमा यसको औचित्य, मार्गचित्रका सातवटा आधार स्तम्भहरु, वर्तमान चुनौती लगायत आर्थिक समृद्धिको मार्गचित्रमा समावेश गर्नु पर्ने विषयहरु दीगो आर्थिक विकास, राष्ट्रिय ठूला परियोजना, पूर्वाधारको विकास, ऊर्जा, सडक, विमानस्थल, शहरीकरण, औद्योगिकीकरण, स्वास्थ्य सेवा, लगानीका लागि वित्तीय औजार लगायत लगानी तथा विकासको दशक, औद्योगिक क्षेत्रको स्थापना, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विकास, रोजगारी तथा उत्पादकत्वमा वृद्धि, सूचना तथा प्रविधि, अन्तर प्रदेश सम्बन्ध, बैँकिङ्ग तथा पूँजी बजार, व्यापार घाटामा बुँदागत विवेचना गरिएको छ । यसको अतिरिक्त समृद्धिका लागि सुशासन अन्तर्गत कानूनमा सुधार, राजनीतिक नेतृत्वले गर्नु पर्ने काम, सुरक्षा तथा कुटनीतिक दृष्टिकोणले ध्यान दिनु पर्ने कुराहरु समेत उक्त मार्गचित्रमा समावेश गरिएका छन् ।

परिसंघ–प्रवुद्ध परिषदका संयोजक डा. शम्भुराम सिम्खडाले समृद्धिको मार्गचित्रको औचित्यता र अध्ययन बारे उल्लेख गर्दै आर्थिक समृद्धिको बाटो नै आर्थिक विकासको र सुशासन नै यसको सफलताको कसी हो भन्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल लगायत परिसंघ प्रवुद्ध परिषदका सदस्यहरु, परिसंघका पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू