अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 07:37

पात्र हत्या

पुरानाघरे २०७४ फागुन २४ गते १०:१२ मा प्रकाशित

कथा:
माघे सक्रान्तिको अघिल्लो दिन गुमाने बिहानै मनमा विभिन्न कुरा खेलाउँदै घरको उत्तरपटिको बरान्डामा निस्किन्छन । विवाह भएको एक हप्तामात्र भएको छ । ‘विवाहपछि घरमा एउटा नयाँ रौनकता छाएको छ पानी परेपछिको आकाश खुलेझैँ,’ मनमनै सम्झन्छन उनी । बाहिर बसेर वरिपरि नियाल्न थाल्छन । घरदेखि अलि पर पुर्वपट्टी भएको बृद्धबृद्धाहरू बस्ने काउन्टीले निर्माण गरेरको ठुलो भवनका बाहिर केही बुडाबुढीहरू घाम ताप्दै चुरोट तानिरहेका छन् । कोही खोक्तै पनि छन् एक तमासाले । गुमाने मन मनै भन्छन्, ‘मान्छेहरू चेतना भएर पनि किन पशु जस्तै गरेका होलान् ? तान्ने बेलामा सकेजत्ति सुर्ती तान्छन बैँसमा अनि फोक्सो मकाएपछि जंगली कुकुर जस्तो वुफ वुफ गर्न थाल्छन । त्यति बिघ्न सुर्ती तानेपछि खोकी त लागिहाल्छ नि, बैँसमा तुजुक देखाएकाले सतायो बुढाबुडीलार्इ यतिखेर, कति दुःख धान्नु पर्ने हो त्यही बैँसमा देखासेखी गर्दै रोपेको बानीहरूको बुढो सुकेको रूखको फेदीमा बसेर अझैं । आ ! मलार्इ के को टन्टा ?’ पश्चिमतिर फर्किन्छन उनी ।

यति विघ्न हिउँ झरेको छ कि आँखाले देख्न सके जति सबै सेताम्य देखिन्छ । ‘फेरि कति मजाले रूखहरू, घरका छानाहरू, र गाडीहरूमा टाँसिएको ? मानौँ, रूखमै फलेको हो हिउँ । ती घरहरू पनि हिउँले नै छापिएका हुन । सबै गाडीहरूमा पनि हिउँ जडिएको हो । प्रकृतिको लीला पनि अपरम्पार छ गाँठे ! यस्तो राम्रो संसार, परिवार, र साथीहरू सबै छाडेर झन्डै पो कुबुद्धीले पासोमा झुन्डि पठाएको गाँठे ! मलार्इ पनि कस्तो सोचाइ आएको होला ? अलि सोचाइलार्इ नियन्त्रणमा राख्न सकिएन भने त खत्तम हुने रहेछ । मान्छे मर्न त केही बेर नलाग्ने रहेछ । यस्ती मजाकी मायालु पाउने रहेछु, यति राम्रो ठाउँमा बस्न पाइएको छ । प्रकृतिले मिहिनेत गरेर सझाउँछ मौसम अनुसार, हेर न ! कति राम्रो देखिएको यो प्राकृतिक छटा वरिपरि ?’

गुमाने बाहिरका दृश्यहरूमा पालवित हुन्छन् । प्रफुल्ल भएर कल्पना गर्न थाल्छन । उनको मनमा कुरा खेल्न थाल्छन, ‘अब त दिदीको पनि आफ्नै परिवार छ । भिनाजु नेपालको चित्वनबाट आएका रे । अलिक उमेर खाएका भए पनि भलाद्मी छन् । दिदीलार्इ अब दुःख हुन्न भनेर आमा पनि बेला बेला मनभरि हार्षोल्लासको बगैँचा सझाएर रमाउँछिन ।‘ यतिकैमा वाक् वाक् गर्दै वेगले भित्र पस्छिन गुमानेकी दिदी, चञ्चला । ढोका वेगले बजारिएर झ्याम्म लाग्छ ।

राती धेरै बेरसम्म मिनाक्षीको बाटुलो नितम्ब र सलक्क परेको भेट मसार्दै गफ गरेको सम्झिन थाल्छन उनी । दिदीको अलिअलि सुन्निएको पेट देखेपछि मनमा अलिक उत्ताउलो काउकुती लागेर आउँछ । ‘’मेरी दिदीबाटै जन्मिएको एउटा भान्जो खेलाउने सपना पनि साकार हुने भयो ।“ उनले बिस्तारै साउती गरे आफुलेमात्र तर प्रस्ट सुनिने गरी । दैलो चुर्इssss गर्दै खुल्यो बिस्तारै, उनको भाले सातो गयो झन्डै, ‘धन्न दैलो हावाले खोलेको रहेछ ।‘ मुसुमुसु हाँसे उनी केही बेरसम्म ।

एक हुल हाँस जस्ता लाग्ने चराहरू धेरै माथि आकाश हुँदै पूर्वतिर पंत्तिबद्ध हान्निए । ‘यसरी यी चराहरू आकाशमा पूर्वतिर गए भने झन् हिउँ झर्छ भन्छन् । संसार नै छोपिसक्यो, कति पर्न सकेको यो बुर्को पनि ?’ खोइ कसलार्इ हो उनलार्इ नै थाहा भएन तर हिजो काममा जानु अघि दुर्इ घण्टाको निरन्तर लडार्इंपछि बल्ल कार हिउँको पञ्जाबाट निकालेको सम्झँदै मनमनै जङ्गिएर सोधे ।

फेरि पूर्व फर्किए, कुर्सी अचेटेर भित्तामा अडेस लगाए, शरीरभरि घाम टल्किने गरी उपरखुट्टी लगाएर सोच्न थाल्छन उनी । ‘घरमा आमालार्इ पनि सञ्चो हुँदै गएको छ । झन् मिनाक्षी यो घरमा भित्रिएपछि हाम्रो यो कुर्इरेको देशमा ऋण गरेर किनेको घर पनि स्वर्गमा परिणत भएको छ ।‘

“गुमाने कान्छा ! बिहे हुने बित्तिकै झोक्रिएर बाहिर बस्न थालिस् त ? यसरी झोक्रायो भने त छोरी जन्मिन्छे है, केटा !” हरिले मजाका गर्‍यो । कताबाट कहाँ हिँडेको हो गुमानेलार्इ पत्तै भएन । हिजोको रक्सीको धङधङे अझै रहेछ खुट्टा लरबरउाँदै हरि एकाबिहानै ओरालो लाग्यो बोकाचोर कार्इंलाकातिर ।

‘साला, रक्सी धोक्न र तरुनी लतार्न पाए केही नचाहिने निमकहराम, छोरा भए पनि छोरी भए पनि त्यस ट्वाकिन्द्रे बाहुनलार्इ के मतलब ?’ निकै झनक्क रिस उठ्यो मनमनै गुमानेलार्इ । केही भनुँला जस्तो गरेर मुन्टो तन्काएर हेरे तर हरिले जाँडको धङ्धङेमै भए पनि अघि नै गल्ली काटिसकेको थियो ।

“हाम्रो कन्यारासी अध्यक्ष के भन्छन्, भाइ ?” भैरेले सोध्यो पश्चिमपटिको पार्किङलटबाट । अघि कतिबेलादेखि हिउँ सोर्दैरहेछ भैरे, गुमानेलार्इ थाहै भएन ।

“गाउँभरिका आइमार्इ भेला गरेर ल्याउँछु भन्छ नि जडाहा बाहुन, के भन्छ र ? ” गुमानेले निकै दरो झापड मारे ख्यालख्यालमै । भैरेलार्इ श्रीमतीले दुर्इ हात बाँधेर कस्सेर छातीमा दन्काए जस्तो भयो । आफुलार्इ समाल्दै भन्यो, ” हो नि, भाइको कुरामा दम छ है ! यिनी, यो हाम्रो समाजलार्इ फुटाएर मोज गर्ने मानिस हुन । हामीले चङ्ख हुनुपर्छ यिनदेखि । यिनलार्इ पैसाचाही दिनु हुँदैन नि । पैसा दियो भने त यिनले बुढी नै लान बेर लाउँदैनन नि फेरि !”

गुमानेलार्इ हरि, भैरे, र बोकाचोरा कार्इंलाको चर्तिकाला राम्रोसँग थाहा छ । ‘यिनीहरूले समाज भाँडेको देख्न नसेकर हो मैले आत्महत्या गर्ने सोच बनाएको गतशाल । मलार्इ तैँले चिनाउनु पर्छ हरि को हो भनेर ? फुड स्टाम्पमा रक्सी र बोकाको मासु पाइन्जेल सक्तो धोकेर सामाजिक रण्डिबाजी गर्दै हिँड्ने तिमेरूलार्इ म चिन्दिन ?’ गुमानेले मन मनै रिस पखे र मथ्थर भए ।

अलिक हलुको पाराले भने, ” मलार्इ पनि राम्रोसँग थाहा छ दाजु, हाम्रो समाजमा कुन कति जाने भाँडो हुन भनेर । फुड स्टाम्पमा रक्सी र बोकाको मासु पाइन्जेल हो यी बाहुनहरूको तुजुक । घरमा बुढा बाबुआमा हेर्छु भनेर सरकारलार्इ ढाँटो, बसीबसी पैसा पाकिहाल्छ, फुडस्टाम्पमा रक्सी पाइहाल्छ त्यो धोतीको पसलमा, ल्यायो खायो, तास खेल्यो अनि समाजमा भएका असल मानिसहरूको खैरो खन्यो बस्यो । तिमीले पनि आमालार्इ पग्लाइ बनाएर ल्यायौ अरे नि त हो ? अब भत्ता अप्लार्इ गर, हेर्छु भन अनि तिम्रा पनि दिन आए तर याद गर दाजु, डोकाले छोपेका दिन हत्केलाले सूर्य छल्दैन नि ! यो पाप धुरीबाट नकारेओस् पछि ।” गुमानेले निकै जङ्गिएर दनक दिए ।

भैरेलार्इ निकै पछि अचानक अकबरे सुर्सानी लगाएको भुटुवा सितन र रक्सी सर्किए जस्तो भयो । माथिबाट निकै ठुलो केही खसेर किच्न लागे जस्तो लाग्यो । एक भन्नु न दुर्इ भन्नु भयो र निहुरिएर लुरूलुरू हिउँ सोर्न थाल्यो । उता त्यहीँ पर्तिर बसेर घाम तापिरहेकी भैरेकी श्रीमती, पवित्रले पनि सुनिन तर भैरेका मनोदशा देखेर मुसुमुसु हाँसिमात्र रहिन ।

गुमाने सम्झिन थाल्छन, ‘पवित्री र भैरेका जोइपोइको दिनै पिछे झगडा हुन्छ । यिनीहरूको झगडा नभएको दिनै हुँदैन । यिनीहरूको झगडाले त्यो अपार्टमेन्टबाट दिनदिनै नेपालीहरू निस्किएर जाने क्रम जारी छ । नम्बर तेह्रमा बस्छन उनीहरू र वरिपरि सबै खालि छ । अस्ति व्यवस्थापनले पुलिस लगाएपछि अलिक मथर भएको थियो, फेरि केही दिन भयो खपिसक्नु छैन । भैरे बाहुनलार्इ ससुराले अलिक तह लगाउँथे पहिला पहिला तर बुढाकी सानी छोरीलार्इ क्यासर भएर मरिन पोहोर साल । छोरो भने पनि छोरी भने पनि तिमी नै हौ हाम्रो बुढेसकालको साहारा भनेकी छोरी अचानक बितेपछि बुढा पग्ला जस्ता भएका छन् र भैरेलार्इ अहिले ठुलै राहात र स्वतन्त्रता छ पिउन र केटीहरूसँग सल्किँदै हिड्नलार्इ ।”

घाम माथि पुगेका छन् तर आज बिदाको दिन भएकाले गुमाने मस्त घाम ताप्ने सुरमा छन् । अर्कापटि फर्किएर ढाड सेकाउँछन घामपटि र सोच्न थाल्छन उही भैरेको कुरा, ‘राती कामबाट घर पुग्दा भैरे मातेर झुल भइसकेको हुन्छ र केही केटीहरूले ड्रप गर्दिन्छन घरसम्म प्राय जसो । पवित्रीको नारी मनले भैरेको त्यो चाला ठिक ठान्दिन । सोधिहाल्छे, “यति रातीसम्म कहाँ गएका थियौ ? काम उस बेला सकिन्छ तर घरमा यस बेला आउँछ, त्यही पनि ताल हेरेन ? पृथ्वीको भार ! ती तिमीलार्इ लिएर आउने नखरमौलीहरू को हुन ?” सोधिहाल्छे पवित्री ।

रल्लु भएको भैरे सकिनसकि मुख बटारेर बोल्न थाल्छ, “मेरो जी एफ हो । के गर्छेस्, तँ पनि तिनीहरू जस्तै सेक्सी हुन सिक न बरु, के आरिस गर्छेस् उनीहरू राम्रा भएको ?” मातेको तालमा भेरैले पवित्रीलार्इ राम्री छैनस्, बोल्न जान्दिनस्, हेर्दा पनि जर्सी गार्इ जस्ती छेस् तँ डाम्ना भनेपछि भैरेको घरमा वार सुरु हुन्छ । भैरे सात वर्षको हुँदा बुढाले कान्छी लिएर वेपत्ता भएको अहिलेसम्म केही अत्तोपत्तो छैन । छोराको मुख हेरेर आफ्नो जवानीको पनि प्रवाह नगरी सबै थोक त्यागेर बसेकी भैरेकी आमा अहिले पग्लाइ जस्तै भएकी छन् निकै भयो ।’

‘चिन्ता र समस्या नभएको मानिस यो संसारमा कोही होला र ? मातेर तङ्ग गर्नु किन ? मिलेर परिवारलार्इ समालेर बस्न नसक्ने निमक हरामहरू ।’ गुमानेलार्इ भैरे जस्ता जाँड खाने बाहुनहरूको जिन्दगीदेखि हतास लागेर आउँछ ।

कुर्सी सिधा पारेर रेलिङमा खुट्टा अडेस लगाएर सोच्न थाल्छन । उनै बिचरा बुढी आमोर्इ छिन उनको मनमा, ‘जहाजले बैतर्णी नदी तारेपछि जीवनको आस मारेकी छन् बिचरा बुढीले ।‘ “यस्तो अनकन्टार ठाउँमा ल्यायो यो भैरेले । मैले त जान्न भनेकै हुँ । कम्तीमा बोली बिक्थ्यो, हिँडडुल गर्न सकिन्थ्यो, खान पुगेकै थियो, लाउन पुगेकै थियो । मलार्इ त्यहीँ मेरा पुर्खा जन्मे मरेको भूमिमा मर्न दे भन्दा पनि जबरजस्ती ल्यायो । यहाँ त न मरिजानु न गरिखानु बनायो यस कुलङ्घारले,” भन्दै रून्छिन बुढी धेरै जसो । “यो अम्रिका भन्ने त नर्क नै रहेछ,” भन्दै निराश हुन्छिन र अति भएपछि मर्ने दबाइ खोज्छिन, पासो लाग्ने सोच्छिन, फेरी त्यही भैरेको मायाले तानेर फर्कार्इ ल्याउँछ बिचरा बुढीलार्इ । हुँदा हुँदा ती बुढीलार्इ भैरेले मनिप्लान्ट बनाएछ अझै । कमाइ खाने भाँडो भइन अब बुढी आमोर्इ, भैरेले हिजोबाट पत्रकार टुपिन्द्रको सहायताले आमोइलार्इ पग्लार्इ भनेर काउन्टीमा दर्ता गरेछ ।’ सोच्दासोच्दै गुम्नेको मन थामिएन, ज्याकेटको बाहुलाले नजाने जस्तो गरी आँसु पुछे । यताउति हेरे अनि बल गरेर समालिए आफैँ ।

भित्र ख्वाक्क ख्वाक्क खोकेको आवाज आउँछ । ‘हाम्री आमाले पनि उहिले बैँसमा सुर्ती खाएको अहिले बिस्तारै निस्किन थालेको छ । बा पनि जाँडरक्सी र सुर्तीको अपचले गर्दा सानो छँदै शरणार्थी शिविरको कुन्न पन्नामा चेपिनु भयो, थोरै थोरै सम्झना छ, श्राद्धका दिन एक पटक सम्झन कर लाग्छ नत्र मलार्इ कुबुद्धीले मरेको मानिसको सम्झना पनि गर्न मन लाग्दै । हट, पोहोर झुन्डि पठाको भए त मलार्इ पनि नराम्रो पो भन्ने रहेछ मान्छेले, गाँठे !’

पाठकतिर फर्के अलिक जोसिलो आवाजमा बोले गुमाने, “कुबुद्धीले आत्माहत्या गर्नु भयो भने तपार्इंलार्इ पनि मान्छेहरूले थुक्छन है, ख्याल गर्नु होला ।”

श्रीमान् खोज्दै बाहिर बरन्दातिर निस्किन मिनाक्षी गन्गनाउँदै, “हैन, तपार्इं त यहाँ पो लुकेर बस्नु भएको रहेछ ? मैले कहाँ कहाँ खोजिन ? चिया खाजा खान पनि आउनु भएन । बिदाको दिन यसो घर सफा गर्न सघाउनु भए पनि त हुन्छ नि ? घरको हालत कस्तो छ तपार्इंलार्इ थाहै छ नि ? बिहामा उपाहार दिएका सामानहरू भित्र थुपारेको ठाउँमा जस्तोको तस्तै छन् । महिना दिन हुन लाग्यो मान्छेहरूले देखे भने के भन्छन् हँ, तपार्इंलार्इ ? मिनाक्षी यतिकै के के भट्याउँदै भित्र पसिन ।

“एक छिन घाम तापेको हो, आइ हालेँ । दिनभरि समय छ त हो, गरुँला नि?” यति चाही भन्न भ्याए गुमानेले तर मिनाक्षीले सुनिन, सुनिनन उनलार्इ पत्तो भए । नेपाली टेलिसिरियल तितो सत्यको खै कुन भाग हो सम्झिँदै उनी भित्र पसे ।

भान्जो दिने दिदी, त्यही खाना कक्षाको एउटा कुर्सीमा बसेर केही खाइरहेकी थिइन । गुमाने पनि त्यही एउटा कुर्सीमा थ्याच्च बसे । टेबलको एउटा छेउमा चियाको ग्लास राख्दै बोलिन मिनाक्षी, “चिया लिनु होस, दिदीलार्इ अलिक सञ्चो भएन रे, तल नयाँ बस्तीको धामी काकाकोमा लगिदिनु रे, फुकपाक गर्न ।”

“ए हो ? त्यहाँ माथि मताङको छेउमा चाबी झुण्ड्याएको छु, लेउ त जाऊ । म बजार गएर अलिक तेजिला माछाहरूको टाउँको किनेर ल्याउँछु । त्यसको अलिक मरमसला राम्रो गरेर दिदीलार्इ एक दुर्इ बटुका जति सुप दिएपछि सञ्चो पनि हुन्छ, अमेरिकाको राष्ट्रपति नै हुने खालाका भान्जा पनि आउँछन ।” यति भनेर गुमाने आमातिर हेरेर मुसुक्क कोडी हाँसो हाँसे । चञ्चला पानी पानी भइन र जुरुक्क उठेर भित्र आमाको कोठातिर लागिन । भरखरै मैतालु ल्याएकी मिनाक्षीका गाला पनि स्याउ जस्तै राता राता र पोटिला भए । “कान्छा ! दिदीलार्इ जे सुकै नभन है, उसको पनि मन छ, दुःख्छ नि !” घोक्रो तान्दै आमाले खबरदारी गरिन । केही बोलेनन गुमाने । चिया खाएर सामान मिलाउने मनसायले माथि तलातिर चढे । कोठाभरि सामान असरल्लै छन् । एकछेउमा शुभकामना लेखिएका कार्डहरू छन् अर्कापटि उपहारका सामानहरूको थाक छ । आमा पनि आइन पछि पछि र एक छेउमा बसेर सामान मिलाउन थालिन । सामान देखाउँदै भनिन, “धन्न पो घर किनिएछ है कान्छा ! नत्र भए त्यो बालको कोठामा भए त यी सामान कता राख्थिस् होला बाबै ? ” गुमाने मुसुमुसु हाँस्न थाले ।

तलामुनिबाट आमाजू बुहारी पनि चढे । छेउमा बस्दै बोलिन चञ्चला, “हैन यत्रो विधि सामान कहाँ राख्नने होला अब ? हन मान्छे अमेरिका त आए तर जीवन शैली भुटान र शरणार्थी शिविरकै छ अझै । अमेरिकनहरूले उपहार कार्डमा पैसा भरेर दिन्छन र पाउनेहरूले आफुलार्इ चाहिएको सामान किन्न र आवश्यकता अनुसार खर्च गर्न सक्छन् । सव्य देशका मानिसहरूको जीवनशैली पनि सव्य हुन्छ । हाम्रो समाजलार्इ त्यहाँ पुग्न कति लाग्ने होला ?” धेरै वर्षसम्म मानसिक सन्तुलन गुमाएकी दिदीको कुरा सुनेर गुमाने प्रफुल्ल भए । मन मनै सोचे, ‘दिदीको कुरा त सही हो यार । अब यसको प्रयोग म आफैँबाट सुरु गर्छु । मलार्इ जहाँ बोलाउँछन परिभेष अनुसार कि त नगद दिन्छु कि त उपहार कार्डमा पैसा भरेर दिन्छु । यसरी सामान दिनु त उपोगि नहुने रहेछ ।‘

अलिक कटाक्ष गर्दै बोलिन मिनाक्षी, “अब दिदीले भन्नु भए जस्तै भइदिए त कति राम्रो हुने थियो, तर मान्छेहरू कार्ड दिन कहाँ ठिक ठान्छन र ? दश डलरमा यत्ति समान आउँछ, कार्डमा १० डलर हाल्दा कता हराउँछ हराउँछ । यसरी सामान दिँदा आफुलार्इ उपहार आएका सामान नै लिएर उपहार दिन जान पनि सकिन्छ । मलार्इ त यही सामान दिने पनि ठिकै लाग्यो है ।” “हैट, तिमीले दिदीको कुरा बुझेनौ हो । दिदीले एउटा जीवन शैलीमा आउनु पर्ने सुधारको कुरा गर्नु भएको हो क्या ?” गुमानेले श्रीमतीका कुरालार्इ भुर्इंमा खस्न दिएनन् ।

“समय अनुसार चन्लु पर्छ भन्छन् । आफ्नो पन पनि छाड्नु हुन्न फेरि । तिमीहरू सबैका कुरा ठिकै हुन आफ्ना ठाउँमा । यो स्वतन्त्र मुलुकमा जसो गर्न पनि पाइन्छ भनेको होइनस कान्छा तैँले ?” आमाले गुमानेलार्इ फन्दामा पारिन । “त्यसो त हो आमा, तर उपहार दिएर कसैलार्इ यसरी बोझ थप्नु भन्दा उपहार कार्डमा पैसा भरेर दिँदा झन् राम्रो होइन र ? “छोराका कुरा सुनेर उनले भनिन, “यसरी वस्तुहरू उपहार दिने चलन पो कति भएको होला र ? उहल्यै मेरो बिहेमा त नगद पैसा नै दिएका थिए सबै जन्त आएका र आफन्तहरूले पनि ।”

‘यति सामान पनि के कमिलालार्इ मुतको पहिरो भएको होला ?’ मिनाक्षीले मनमनै सोचिन । उनलार्इ सहिनसक्नु भयो, ” केही दिदीलार्इ दिऊँ, केही भिनाजुलार्इ दिऊँ, केही राखौँ । घर सजाउन भइहाल्छ नि, अब नहुनु भने पनि किन्नै पर्ने हो क्यारे ।” अहिले भने गुमानेले श्रीमतिलार्इ सही थापे, ” ल दिदी, तपार्इंलार्इ मन लागेको एउटा सामान छान्नु ?” चञ्चलाले बिचबाट गुलावी रङको झोला टिपिन, “मेरा भाइ बुहारीको विवाहको चिनो यस्तै राख्छु लगेर जिन्दगीभरि” । यति भनेर झोला काखीमा च्यापिन । गुमाने र मिनाक्षीले कसले दिएको उपहार हो भनेर सम्झिन निकै कोसिस गरे, तर सकेनन् । मिनाक्षीले भनिन, “दिज्यू, हजुरले लान चाही सक्नु हुन्छ, तर एक चोटि खोलेर हेर्नु चाही पर्छ । त्यहाँभित्र हामीलार्इ शुभकामना पत्र र अन्य दिज्यूलार्इ काम नलाग्ने कुरा पनि दिइएको हुन सक्छ ।”

चञ्चलाले वास्ता गरिन्न, ” जे भए पनि होस । मेरा भाइ बुहारीले मायाले दिएको जे पनि मलार्इ बहुमूल्य हुन्छ ।” गुमानेले यतिखेर सोच्न भ्याए, ‘ कतै ठाकुर भाइले दिएको त होइन त्यो उपहार ? तिनले त सोधिहाल्छन मेरो उपहार कस्तो लाग्यो भनेर भेट्ने बित्तिकै, । भोलि शनिवार फोन गर्न पनि बेर छैन । यदि यही हो भने त दिदीले नखोली लाने भइन, अब ठाकुर भाइलार्इ के भन्ने ?’

उनका मनमा धेरैबेर कुरा खेल्न आमाले दिइनन् । चञ्चलाका हातबाट झोला तानेर खोलिन । निकै मिहेनत गरेर पोको पारिएको त्यो उपहारमा एउटा सझाउने सामानको सेट रहेछ । एउटा नमिलार्इ पट्याइएको पत्र जस्तो देखिने सफा एक मुठो कागज पनि रहेछ । त्यो झर्‍यो र गुम्नेकै काखमा पर्‍यो । यसो हेरे गुमानेले, माथि शिरमै लेखिएको थियो टिपी मिश्र, अमेरिका । बिचमा आँखा घुमाए, नेपाली भाषामा कम्प्युटरबाट लेखिएको त्यो पत्रको पहिलो पन्नामै निकै ठाउँ उनले आफ्नो नाम ठम्याउन भ्याए एकै झल्कोमा । पत्र अलिक विशेष लाग्यो उनले नजानिँदो गरी तिघ्रामुनि च्यापेर लुकाए । उनी राता पिर भए । मिनाक्षीले श्रीमानको मनोदशा बुझेजस्तो गरिन । चञ्चलातिर फर्केर उपहार पुनः पोको पार्दै भनिन, “लु लु दिदी लानु । मलार्इ नराम्रो पर्ला भन्ने चिन्ता थियो तर राम्रो रहेछ ढुक्क लाग्यो ।”

केही बेर सामान मिलाएर सबै खाना खान किचनतिर झरे । त्यही समयमा दाउ पारेर गुमानेले त्यो पत्र भित्र कोठामा पसेर सबै पढे, कथा रहेछ उनकै विषयमा लेखिएको । निन्याउरो अनुहार पारेर खाना खान झरे । खान भागमात्र बसे गाँस छिराउन सकेनन् । त्यतिकै उठे केही खाएनन पनि । उनमा आएको परिवर्तनले परिवारमा शंकाउपशंका होला भन्ने डरले उनले सञ्चो नभएको नाटक गरे र गत वर्ष डाक्टरले दिएको सल्लाह अनुसार केही नकेहीमा आफुलार्इ समलग्न राख्न कोसिस गरे । मनभरि विभिन्न कुरा खेलिरहे दिनभरि नै । उनलार्इ ठाकुर भाइले यसो गरेको हो भनेर पत्याउनै गारो भयो । ठाकुरलार्इ फोन गरेर सोध्न पटि आँट गरेरनन त्यतिकै घोत्लिरहे दिनभरि नै ।

साँझ पर्न लागेको थियो, किरररर किरररर फोनको रिङ बज्यो । यसो हेरे, ठाकुरकै फोन आएको रहेछ । केही बेर रिङ बज्यो र रोकियो । फेरि आयो त्यसै गरी रोकियो तर उठाएनन । फेरि बज्यो अनि उठाए । ” दाजु नमस्ते, सञ्चै हुनुहुन्छ ? नयाँ जीवन कस्तो चल्दै छ ? भाउजुलार्इ कस्तो छ ? आमा र दिदीलार्इ ठिकै छ नि ?” अलिक हितैषी लवजमा ठाकुरले केही प्रश्न सोधिहाले ।

गुमानेलार्इ कुरा गर्न मन थिएन तर एक्कासि मन दुःखेर आयो । उनले रुँदै भने, “मेरो भाइ, यसरी मेरो हत्या किन गर्नु हुन्छ तपार्इं ? तपार्इं पढेलेखेको टाठाबाठाहरूले हामी अशिक्षित निमुखालार्इ गर्ने न्याय यही हो ? मेरो विषयमा किन लेख्नु भयो ती नाना कुराहरू ? मेरो इज्जतलार्इ माटामा मिलार्इ दिनु भयो होइन ? चरित्र हत्या गर्ने पनि एउटा हद हुन्छ नि ? कथाका पात्रको निजी जीवन हुँदैन ?

मेरो विषयमा मलार्इ नसोधी लेख्नु भयो तर सामाजिक चेतनाका निम्ति लेख्नु भयो भनेर मैले केही भनिन, पत्रिकामा छपाउनु भयो, सार्वजनिक सञ्जालभरि पनि यही मेरो आत्महत्याको चर्चा छ । त्यो पनि मैले सहेँ, तर हुँदा हुँदा आएर मेरो विवाहको उपहारमा पनि त्यही पुराना खाटा बसिसकेका घाउहरू कोट्याएर मलार्इ मरणासन्न पार्नु भयो होइन ? यसरी पात्रको निजी जीवनमा गएर चरित्रहत्या गर्न तपार्इं लेखकहरूलार्इ अलिकति दया पनि लाग्दैन, हैन ? तपार्इं पढेलेखेका भनाउँदाहरूको चेतना देखेर मलार्इ दया लागेर आयो, तपार्इंलार्इ धिक्कार छ भाइ !
गुमाने घुँक्क घुँकक रुन थाले । ठाकुर अनबक्क भए, ‘कसबाट यस्तो काम भएछ ?” बिहेको उपहारमा पनि त्यही कथा दिएर पात्रको ख्याल ख्यालमै चरित्र हत्या नै भएछ । अब के भन्ने होला ?’ उनले लामो सास तानेर भने, “दाजु, मेरो पालो हो अब बोल्ने ?” गुमाने झन् सारो धुँक्क धुँक्क गर्न थाले ।

ठाकुरलार्इ पनि झनक्क रिस उठ्छ । अलिक झ्वाँकिएर बोले, “गुमाने दार्इ, अब मेरो कुरा सुन्नु होस, “मैले दाजुका विषयमा जुन कथा बनाएँ त्यो मात्र जनचेतनाका निम्ति बनाएको हुँ, मैले दाजुलार्इ पछि जानकारी गराएकै हुँ । त्यो कथा छापियो जनचेतनाकै निम्ति छापियो । सार्वजनिक सञ्जालमा सबैतिर छ त्यो पनि जनचेतनाकै निम्ति फैलाइएको हो । दाजुले यसमा दुःख मान्नु पर्ने कुरै के छ र ? तपार्इंले आत्माहत्या गर्नु भएको पनि होइन, सोचाइमात्र त थियो । सोचार्इ त मानिसहरूलार्इ हरेक मोडमा हरेक किसिमका आउँछन नि ! तपार्इंले आत्याहत्याका विषयमा सोच्नु भयो, हामीलार्इ भन्नु भयो, र तपार्इंको उपचार भयो । त्यो कति राम्रो भयो भन्ने कुरा सोच्नु भएको छ ? हो, यही चेतना र शिक्षा हाम्रो समाजका अरू मानिसहरूलार्इ पनि मिलोस् भनेर मैले कथा लेखेको हुँ र प्रकाशन गरेको हुँ ? दाजु संसारलार्इ शिक्षा दिने गुरु हुनु भएकोमा मलार्इ भने कत्रो गर्व लागेको छ । तपार्इं भने मलार्इ नै नाना भाँति भन्ने ? ठाकुरले गुमानेलार्इ असमञ्नसमा पारे ।

गुमानेले पाठकलार्इ औँल्याउँदै भने, “पाठकजी, यदि तपार्इंलार्इ पनि मनमा आत्माहत्याका विषयमा सोच आइरहेको छ भने मैले जस्तै गरी कसैलार्इ भन्नु होला है ! यता त यसको उपचार सजिलै हुँदोरहेछ । आफुलेमात्रै जान्ने बुझ्ने होइन नि फेरि ? ठाकुर, भाइले जस्तो अरूलार्इ पनि सुनाउनु-सिकाउनु होला ।“

गुमाने आफ्नो अनुमान फेल भएकोमा छक्क परे, “त्यसो भए भाइले मलार्इ दिनु भएको होइन त्यो पत्र ?” “ए दाजु ! मैले किन त्यसो गर्छु ? म बाहिर जानु पर्ने हतारले हाम्रोबाट उपहार सानीले दिएकी हुन । मलार्इ पक्का छ कि त्यो तपार्इंले भन्नु भएको कथा हामीले दिएको उपहारको झोलामा छँदै थिएन । झन् मेरो दाजुलार्इ मन अलमल्याउन, सिरियल हेर्न र आमालार्इ यसो नेपाली गीतहरू हेराउन सहायता होला भनेर ड्याम्मै १५०० डलरको ल्यापटप हान्देको, उल्टै मलार्इ नै फाक्टा लगाउनु, दाजु ?“ ठाकुरले गुमानेलार्इ आश्वास्त पारे ।

“त्यसो भए कसले दिएछ त मलार्इ ? म त भाइले नै दिनु भएको ठानिरहेको थिएँ । भाइ, नरिसाउनु है ! मैले अघि आक्रोशमा धेरै गथासो गरिहालें ।“ गुमानेले क्षमायाचना गरे ठाकुरसँग । ठाकुरलार्इ भने कसले दिएछ भन्ने कौतुहलता लागिरह्यो । उनले थपे, “मैले दिएको हुने चाही सम्भावना पनि छैन । खोइ कसले यस्तो गर्‍यो मलार्इ थाहा भएन ।“ गुमानेले पनि यसले दिएको भन्ने कुनै शङ्कासम्म पनि गर्न सकेनन् । मन मनै सोचे, ‘आफन्त वा शुभचिन्तको भेषमा आएको कुनै अपरिचित मानिसले दिएछ क्यार ।‘

गुमाने सोच्नमा हराउन थालेकामात्र थिए ठाकुरले दिएनन । “दाजुलार्इ भेट्न आउनु पर्‍यो भोलि शनिवार भनेर कल गरेको हो है । आमाले पनि, ‘गुमानेकी आमासँग बात गर्न मन छ लगिदेन ए कान्छा !’ भन्दै हुनुहुन्छ । भोलि बिहानको खाना खाने गरी हामी सपरिवार चारैजना आउँदैछौं है दाजु । अहिलेलार्इ मैले फोन राखें ।“ “बिहे गरेको पनि चार वर्ष भइसक्यो के चारजना भन्छौ नि ? अब त पाँच जना भएर आउन न हो भाइ ?” गुमानेले बडो श्रृंगारिक दर्शन छाँट्दै थिए तर ठाकुरले फोन राखिहाले ।

इति

=============================
कथामा उल्लेख गरिएका पात्र प्रबिर्ती काल्पनिक हुन, कसैको जीवनसँग मेल खान गए संयोग मात्रा हुनेछ । सम्पादक
=============================
रि-पोस्ट

प्रतिक्रिया