अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

साहित्यधर्माय नमः

पुरानाघरे २०७५ कार्तिक २२ गते ११:२२ मा प्रकाशित

कथाः

यमराजः चित्रगुप्त !
चित्रगुप्तः मर्जी होस्, महाराज ।
यमराजः पुरानाघरेको खाता जाँचेर हेर्नु त ?
चित्रगुप्तः “बुढाले बिहानै सगुन लगाए क्या हो ?” जो मर्जी महाराज ।
(यशुः हैट, पुरानाघरे त साहित्य बहेको धर्म नै पो मान्दिन भन्दो रहेछ गाँठे ।

कृष्णः स्वयम उसको गुरु राधे राधे जपच्छ, कहाँको ठिमाहा जन्मिएछ यो पुरानाघरे ?
अल्लाहः कुरान पनि पढेछ मोरोले तर नजाले गाउँको बाटो कि सोधेको होला ?

लक्ष्मीः मोरोले त मलाइ पनि पो मान्दो रहेनछ बार्इ !
हनुमानः केटोको विचार राम्रो हो किन भने म पनि राम भन्दा अरूको भक्ति गर्दिनँ । मैले रामभक्तिमा पाएको सन्चिन्तन र स्वर्गिक आनन्द उसले साहित्य भक्तिमा पायो भने त ठिक हो । मुसुक्क हाँसे बुढा त । ))
(निकै बेर घोरिए चित्रगुप्त बोल्छन्)

महाराज! सर्वशक्तिमान् ग्रहगोचरले सुरक्षित भएर बसेको छ, पुरानाघरे त । साहित्यको पूजा गर्दो रहेछ । ३३ कोटि देवतामा भन्दा ब्रह्मोत्पादित वेदादि दर्शनमा आस्था राखेर साहित्य नै धर्म हुनुपर्छ भन्ने जिद्दी रहेछ तर निडर, कर्मठ, र स्पष्ट छ उ ।

यमराजः त्यसो भए पत्रकारहरूले किन यति धेरै सरापेका होलान् ? ध्यान्दृष्टिले नहेरी भएन ।

पत्रकार एक त्यसो लेख्ने स्वतन्त्रता छ होला तर संस्थाको सुशाङ्ख्ययन्त्र दुरुपयोग गर्‍यो कि हेर्नु पर्छ । यदि गरेको रहेछ भने सिधै डोनाल्डट्रम्पलार्इ कल गरिदिनु पर्छ र सिरियामा लगेर गोली ठोक्न लगाउन पर्छ नत्र बम पड्काइदिए पनि हुन्छ नाथुलार्इ । (बिहान सगुन लगाउन भ्याएका रहेछन् । अलिक धेरै नै बोलिहाले उनी)

सरस्वतीः हैट, जल्ने पनि सीमा हुन्छ नि । को हो यो अलपत्रकार ? यसरी हर्कतवाजीमा होमिने उसको शिक्षा चेत हरण नगरी भएन ।

पत्रकार दुर्इः सरस्वती मार्इ, पत्रकार एक पुरानाघरेको बाउको वित्तीय रणनीति साझेदार हो र उसको शिक्षा हरण गर्नु महापाप हुने छ । पुरानाघरेले अति गरेको छ किने भने मेरो बाबुले इमान जमाना इज्जत र प्रेस्टिज दाउमा राखेर लक्ष्मीजी चोरी गर्दा पनि उसले चियो चर्चो गरेको छ । मेरो दाजुले कमिसन सोर्दा पनि उसले आरिस र होहल्लाह गरेर मेरो इज्जतमाथि धब्बा लगाएको छ ।

सरस्वतीः हे पितपत्रकार ? तिम्रो बाबुले चोर्दा तिम्रो इज्जत सुरक्षित छ तर त्यही चोरीको कुरा पुरानाघरेले होहल्ला गर्दा तिम्रो इज्जत गयो ? तिम्रो चिन्तन के हो ? तिम्रो आदर्श के हो ? तिमीले मेरो भक्ति गर्नु बेकार छ मूर्ख ।

पत्रकार ढाडेः पुरानाघरेले दबाइएका आवाजको बोक्रोमा उसको नाम राखेर कृतिलार्इ निजीकरण गरेको छ । किताब जलाएर पुरानाघरेलार्इ आजीवन बहिष्कार गरेर उसलार्इ साहित्य लेख्न, सोच्न, चिन्तन, र साधना गर्न नसक्ने गरी कुट्नु पर्छ ।

बुढो साधु, घोप्टाजुँगे, माओडेब्रे, तस्करे, पाखण्डे, चिरबिरे, बोका चोर, हरिलट्ठक, जिग्मेसिङ्गे, शुन्यसिद्धान्तविद, उरन्ठौले, जोइटिङ्ग्रे, अपहत्ते, आरिसे, र टाउकेहरू सबैले जोर जोरले सरापे पुरानाघरेलार्इ।

सरस्वती ढाडे पत्रकार! तिमीले उनेको गथासोको टपरीमा पनि बाहिरपट्टि त सम्पादककै नाम टाँसेका छौँ त ? तिमीले गर्दा सही हुने पुरानाघरेले गर्दा गलत ? पुरानाघरेका कारण मुर्दा घाट हल्लियो भनेर, बरु सिधै रुनु नि, हुन्न ?

बुढो साधु, घोप्टाजुगे, पाखण्डे, चिरबिरे, बोका चोर, हरिलट्ठक, जिग्मेसिङ्गे, सुन्यसिद्धान्तविद, उरठौले, जोइटिङ्ग्रे, अपहत्ते, आरिसे, र टाउकेः सबैले एकसाथ जोर जोरले हुँकारे । सरस्वती मैयाँ! ढाडे साब सही हुनुहुन्छ र पुरानाघरेलार्इ नग्याउनै पर्छ । यी यहाँ छ हाम्रो उजुरी । (सरस्वतीले नियालेर हेरिन्, जिग्मेको हस्ताक्षर छ, ढाडे पत्रकारको हस्ताक्षर छ र दोस्रो पन्नामा १९ जना भदौमा आँखा गुमाएका नन्दिश्वरहरूको सामूहिक हाइगुहार रहेछ ।)

बह्माः यमराजजी, साहित्य धर्म वकालतमा पुरानाघरे एक्लो ध्रुव देखियो । सम्भव हुन्छ भने पुरानाघरेलार्इ यतै ल्याउनु राम्रो हुने देखियो । मैले साहित्यमै सबै धर्मको प्राण रहन्छ भनेर वेदमा त लेखें तर साहित्यलार्इ नै धर्म भन्नचाहिँ चुकिछु । यो सोच सत्य, द्वारपर, र त्रेता युगमा कुरा उठेन तर आज पुरानाघरेले जोडले खोकेछ कलियुगमा जुन सत्य हो । उसलार्इ अलिक आदर्श, साहित्य-धार्मिकता र साहित्यवर्दक संस्कृति सिकाएर देवत्व ग्रहण गराइकन मर्त्यलोकमा पुनः उच्च जीवन प्रदान गर्न अपिल गर्दछु ।

यमराजः कुरा यसो पो रहेछ ? (मुसु मुसु हाँसेर बोले) बिचरा ! पुरानाघरे । प्रजातन्त्रमा बहुमतको निसाफ हुन्छ र तँ एक्लो रहेछस्, तेरो के लाग्छ ? बरु माथि नै आए बेस छ तँलार्इ बाबु । ब्रह्मा, जो सृष्टि कर्ता हुन । अब उनै यस्तै चाहन्छन् भने म त्यो मेट्न कहाँ सक्छु र ?

यमराजः चित्रगुप्त! पुरानाघरेको जीवन भोग कति बाँकी छ ? उसको प्रराब्धमा के के बाँकी छ ? खाता जाँचेर मेरो टेबलमा ल्याउनु ? मेरो भोलि बिहानको लट नेपालतिर छ ।

चित्रगुप्तः महाराज, भोलि नेपालमा भाइटीका परेकाले र यमुना राजकुमारीको आदेश अनुसार त प्रभु भोलि नेपाल जान वर्जित हुनुहुन्छ तर पुरानाघरेले त पातालतिर पो देखिन्छ त महाराज ?

यमराजः कसरी सम्भव भयो पुरानाघरे पातालमा पुग्नलार्इ ?

चित्रगुप्तः महाराज श्री योग र शिक्षा भोगले उ पातालमा छ । नेपाल फर्किनु भन्दा अघि अझ ३० वर्ष उसलार्इ पाताल भोग गरेर बाँकी १७ वर्ष नेपालमा साहित्य धर्म प्रख्यान लेखिएको छ उसको जीवन चक्रमा त प्रभु ।

यमराजः उसलार्इ यहाँ ल्याउने बाधाहरू के के छन् ? बरु चाँडो जाँचेर मलाइ दिनु र म आजै पाताल झर्छु ।

चित्रगुप्तः सारै धेरै बाधा छन् प्रभु । पुरानाघरेका नेपाल, भारत, भुटान, ब्रर्मा, जापान, अमेरिका, अस्ट्रेलिया र सन्सारभर चेली छन् । यति विघ्न चेलीहरूको आशिष् भेट्न सम्भव नै छैन, प्रभु । सावित्रीयोगश्री, प्रकृतिव्योमपुत्री, र अर्जुनभेद्न सक्ने योग पुत्र भएकाले पुरानाघरे अझै ४७ वर्ष अभेद्य छ किन भने उसको कर्म योग र यश प्राप्ति पनि अजेय र व्यापक देखिन्छन् ।

यमराजः यमलोक निरीह छ पुरानाघरेलार्इ उठाउन ? के के छन् उसका कर्म भोग र यशप्राप्तिमा ?

चित्रगुप्तः प्रभो, यमलोक निरीह कदापि छैन तर धर्म सिन्धु र कर्मनीतिका चक्रमा पुरानाघरेको हियो तीव्र साधनारत रहेकाले उसको आयु सुनरेखामा सुरक्षित तथा क्षयहिन रहेकाले सारा विघ्न हर्न सजिलो छ किमार्थ पुरानाघरे । अर्को कुरा प्रभु, स्वर्गमा बहुमतको नभएर न्यायको जीत हुने भएकाले पनि तपार्इंले यस मामिलामा चित्त बुजाउनु पर्ने भयो । अर्कातिर प्रभु, पुरानाघरे साहित्य परिषद् भुटानको नेतृत्व लिने तयारीमा छ, जो आवश्यक छ । पुरानाघरेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्वको दाबी पनि गरिरहेको छ । उ साहित्य धर्ममा लाग्न माहौल पनि खोजिरहेको छ । यी काम आवश्यक भएकाले उसलार्इ देवाशिषको खाँचो देखियो, प्रभु ?

यमराजः हन साहित्य परिषद् भुटान अझै छ त ?

चित्रगुप्तः छ कि छैन त मलाइ पनि थाहा छैन प्रभु तर पुरानाघरेका प्रारब्धमा परिषद्को चलायमान नेतृत्व चाहि लेखिएको छ जुन हासिल गर्न उसलार्इ अझै केही वर्ष लाग्ने छ ।

यमराजः ठिक छ त्यसो भए, यसका सङ्कट, दुस्मन, र भाँजोहरू लेखेर मलाइ पठाइदिनु । जे गर्नु पर्छ म गर्छु ।

भिष्मपितामह, द्रोण, सिखण्डी, युधिष्ठिर, राधाकृष्ण, राम सीता, घनश्याम, लगायत समस्त ३३ कोटि देवताले साहित्य धर्मका पक्षमा पुष्पवृष्टि गरे । केही पुष्पहरू झरेर रक्सीमा परे केही अमृतमा ।

पुरानाघरेः लक्ष्मीप्रसाद देवकोटा अर्थात् नेपाली साहित्यका महादूतको ११०औं जन्मजयञ्ती संसारभर मनाइएको सूचना स्वर्गलोकमा जाहेर गर्दछु । गत वर्ष संसारभर एक वर्षको विवादमा मनाइएको उनको जन्मोत्सव यसवर्षबाट मिलेको हुनाले र अब संसार, स्वर्ग र पातालमा उनलार्इ साहित्यधर्मका अगमवक्ताका रूपमा स्वर्गमा जयजयकार मनाउन पनि सम्पूर्ण ३३ कोटि देवतासमक्ष अपिल जाहेर गर्दछु ।

प्रधानमन्त्रीः देवकोटा नेपाली साहित्यका अगम वक्ता भएकाले उनको जन्म स्थनालार्इ यसवर्षबाटमा देवालयका रूपमा विकाश गर्ने कासो निगाहका निम्ति मेरो सरकारका तर्फबाट परमादेश जारी गरिबक्सन्छु ।

(३३ कोटि देवताः ११०औं देवकोटा जयन्तीको शुभकामना ।)

ब्रह्माः साहित्य धर्मो रक्षति चेतना चेतना रक्षति चैतन्य । जय साहित्य !

इति ।

द्रष्टव्यः माथिको कथा विल्कुल काल्पनिक हो । कसैको जीवनमा मेल खाएमा बधार्इ तथा उत्तरोत्तर प्रगतिका निम्ति शुभकामना । – सम्पादक ।

प्रतिक्रिया