अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा)को सम्मेलन काठमाडौँमा सुरु

बिआरटीनेपाल २०७४ माघ १६ गते ६:५३ मा प्रकाशित

दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) को सम्मेलनसुरु भएको छ । सदस्य संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको हो ।

सम्मेलनको औपचारिक उद्घाटन बुधबार हुने भएपनि आजबाट साफाका विविधि कार्यक्रम सुरु भएको छ ।माघ १८ गते सम्म चल्ने सम्मेलनमा लेखा तथा वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीता र व्यवस्थापन सम्बन्धी सम्मेल, उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति अवार्ड लगायत कार्यक्रम रहेको छ । त्यस्तै साफा एवार्ड वितरण तथा आइक्यानको २१ औँ वार्षिकोत्सव मनाइने संस्थाले जनाएको छ ।

यस्तो पुरस्कारले सार्क क्षेत्रका व्यावसायिक निकायहरूको वित्तिय विवरण तथा वार्षिक प्रतिवेदनको गुणस्तर तथा प्रस्तुती अभिवृद्धिमा प्रोत्साहन गर्न दिन थालिएको  आइक्यानका अध्यक्ष प्रकाशजंग  थापाले बताउनु भयो।

सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ ख्यातिप्राप्त लेखा व्यवसायीले कार्यपत्र प्रस्तुत गर्नेछन् भने ४०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखा व्यवसायीको सहभागिता रहनेछ ।

सम्मेलनको पहिलो दिन आज साफा (क्वीज एण्ड एलोक्युसन कन्टेस्ट) आयोजना गरियो । प्रतियोगितामा सदस्य राष्ट्रका व्यवसायिक लेखा सम्वद्ध निकाय तथा संस्थाका फाइनल तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो । प्रतियोगितामा जम्मा १२० अंकका साथ नेपाल प्रथम भएको छ, भने १०५ अंकका साथ पाकिस्तान दोस्रो भएको छ ।

विजेतालाई क्रमशः प्रथम नगद रु ३० हजार र उपविजेतालाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन मन्तब्य दिँदै आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले मुलुकमा वित्तीय सुशासन र आर्थिक पारदर्शीता कायम गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न यस्तो सम्मेलन उपयोगी हुने बताउनुभयो ।
साफाका अध्यक्ष डा. सुवोध कर्णले सार्क क्षेत्रको लेखा व्यवसायलाई थप व्यवसायिकरण गर्न र एक अर्काको सीप र ज्ञान आदन प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।

साफा एजुकेशन समितिका प्रमुख अतुल गुप्ताले अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले लेखा व्यवसायमा लाग्ने विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

त्यस्तै वित्तीय प्रतिवेदनमानहरुमा विद्यार्थीको अभिरुचि अभिवृद्धि गर्ने उद्देश्यले साफा वक्तित्वकला (साफा एलक्युसन ) कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले बताउनुभयो । यस्तो कार्यक्रम नेपालले पहिलो पटक तथा सार्क क्षेत्रमा दोस्रो पटक आयोजना गरिएको आयोजकले जनाएको छ ।

साफाका विभिन्न सातवटा समितिको बैठक चलिरहेको छ । बैठकमा दक्षिण एसियाली मुलुकका साफा सदस्य संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त बैठकमा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षासम्बन्धी मान, मापदण्ड तथा प्रचलनमा एकरुपता र मार्गनिर्देशन पहिल्याउने र सहकार्य गर्ने विषयमा छलफल भई निर्णय हुने आइक्यानका अध्यक्ष थापाले बताउनुभयो ।

उहाँका अनुसार वित्त क्षेत्रको ज्वलन्त सन्दर्भ, वित्त जोखिम व्यवस्थापन, पारदर्शीता र जवाफदेहिताका अवधारणागत विषय समीक्षा गराउने उद्देश्यले साफा सम्मेलन आयोजना गरिनेछ ।

त्यसैगरी,  चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा हाल आठ हजार ४०० सदस्य रहेका छन् भने करिब सात हजार चार्टर्ड एकाउन्टेन्ट्सका विद्यार्थी अध्ययनरत छन् । यस्तै साफामा नेपालसहित दक्षिण एशियाली मुलुकका तीन लाख ७५ हजार लेखा व्यवसायी आबद्ध रहेका संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साफाको चेयर जुन राष्ट्रको हुन्छ, त्यही राष्ट्रले वार्षिक बैठक बोलाउने नियम अनुसार सार्क देशहरूमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यो वर्ष नेपालमा गरिएका हो ।  यसअघि गत अगस्ट महिनामा समेत साफाको बैठक नेपालले बोलाएको थियो। त्यो समयमा साफाको चेयर अफगानसँग थियो, अफगानले अनइच्छा देखाएको कारण नेपालले बैठक मात्र गरेका थियो ।

कार्यतालिका अनुसार दोस्रो दिन आइक्यानले आफ्नो स्थापनाको एक्काइसौं बार्षिकोत्सवको कार्यक्रम राखेको छ। वार्षिक उत्सवको अवसरमा संस्थाको सातदोबाटो, ललितपुर स्थित केन्द्रीय कार्यालय अगाडी रहेको कनिबहाल सिंचाहिटी देखि चक्रपथ सम्मको बाटोको नामाकरण आइक्यान मार्ग गर्ने जनाएको छ।

तेस्रो दिन साफाको ५१ औँ बोर्ड बैठक तथा ८६ औँ साफा महासभा बैठक आयोजना गरेको छ। बोर्ड बैठकमा विभिन्न समितिहरूको गठन तथा पुर्नगठनको लागि महासभामा सिफारिस गर्ने, साफा प्रतिवेदन स्वीकृत गर्ने जस्तका कार्यक्रम राखेको छ।

साफामा नेपाल सहित सार्क राष्ट्रका ३ लाख ७५ हजार लेखा व्यवसायीहरू रहेका छन्। सन् १९८४ मा स्थापना भएको साफामा प्रत्येक वर्ष अध्यक्ष परिवर्तन गर्ने प्रवधान रहेको छ। नेपालले सन् २०१० मा साफाको अध्यक्षता गरेको थियो भने अहिले २०१८ को साफा अध्यक्ष पनि नेपाल रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू