अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

१३ सन्तान बन्दी बनाउने अभिभावक प्रहरीको फन्दामा

सिएनएन २०७४ माघ ३ गते २:२४ मा प्रकाशित

डेभिड र लुइस टर्पिनले सोसल मिडियामा उत्तम परिवारको फोटो प्रदर्शन गरे ।  फोटोमा उनीहरु र उनीहरुका १३ सन्तान मुस्कुराइ रहेका देखिन्छन् । फाटो हेर्दा उनीहरु जन्मोत्सव मनाइरहेका वा प्रेमपूर्ण जीवनमा रहेका वा डिज्नेल्याण्डबाट फर्केका जस्ता देखिन्छन् ।

फोटोमा सबै केटाकेटी एकनाश देखिन्छन् । कपडामात्र होइन उनीहरुको केस कटाइ पनि उस्तै देखिन्छ ।

‘बाहिर जाँदा सबैले एकैनाशका कपडा लगाउँछन्,’ डेभिडकी आमा बेटी टर्पिन भन्छिन्, ‘उक्त दम्पतिले उमेर अनुसार केटाकेटीलाई लाइन लगाउँछन् र सुरक्षाका लागि लाइनमा आफुहरु एकजना अघि र एकजना पछि बस्छन् ।’

‘यसबाट केटाकेटीलाई हेर्न सजिलो हुन्छ,’ उनीहरुका हजुरआमा भन्छिन्, ‘उनीहरु केटाकेटीको सुरक्षामा धेरै ध्यान दिन्छन् ।’

डेभिड, ५७ र लुइस, ४९, लाई आफ्नै सन्तान बन्दी बनाएको अभियोग छ । उनीहरुले २ वर्षदेखि २९ वर्षसम्मका १३ सन्तानलाई फोहरी घरमा थुनेर राखेको र केहीलाई ओछ्यानमै हात खुट्टा बाँधेर राखेको अभियोग छ ।

सन्तानलाई यातना दिएको र जोखिमपूर्ण अबस्थामा राखेको अभियोगमा ती अभिभावकमाथि बिहीबार अदालती सुनुवाइ हुने तय भएको छ । उनीहरुको धरौटी ९० लाख अमेरिकी डलर तोकिएको छ । अभियुक्तका वकिल भए नभएको वा उनीहरुले आफ्नो तर्फबाट कुनै आवेदन दिए नदिएको खुलिसकेको छैन ।

आइतबार उनीहरुको १७ वर्षीया छोरी झ्यालबाट हाम फालेर भाग्न सफल भएपछि यो घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार भागेपछि उनले निस्क्रिय भइसकेको मोबाइलबाट ९११ मा फोन गरेकी थिइन् । उनले प्रहरीलाई अरु १२ जना बन्दी बनाइएको बताएको रिभरसाइड काउन्टी शेरिफ्स डिपार्टमेन्टले जनाएको छ । ‘यस्तो घटना किन घट्यो भन्ने जानकारी मसँग छैन,’ रिभरसाइड काउन्टी शेरिफ्सका क्याप्टेन ग्रेग फेलोजले पत्रकारहरुलाई भने, ‘तर हामीले ती युवतीको साहसको सरहाना गर्नैपर्छ ।’

अधिकारीहरुका अनुसार उक्त घरमा यसअघि बालबालिका संरक्षण सेवा र कानून पालना गर्ने निकाय कहिल्यै बोलाइएको थिएन । फेलोजका अनुसार उनीहरु उक्त घरमा पुगेपछि ती बालबालिकाकी आमा प्रहरी किन आएको हो भन्ने नबुझेर अन्यौल र अचम्ममा परेकी थिइन् । उनीहरुले उक्त घरमा ज्यादै फोहरी र कुपोषणले ग्रस्त जस्ता देखिने थप १२ पिडित फेला पारेका थिए । धेरैलाई खाटमा बाँधिएको थियो । पिडित बाँधिएको स्थान वरपर दुर्गन्ध फैलिरहेको थियो ।

हेर्दा सबै बालबालिका जस्ता देखिएपनि ७ जना पीडित वयस्क हुन् । उनीहरुको कोरोना रिजनल मेडिकल सेन्टरमा उपचार भइरहेको छ । बाँकी ६ बालबालिकाको उपचार भने मोरेनो भ्यालीस्थित रिभरसाइड युनिभर्सिटी हेल्थ सिस्टम मेडिकल सेन्टरमा भइरहेको छ ।

‘उनीहरु वयस्क हुन भनेर विश्वास गर्न गाह्रो हुन्छ,’ कोरोना रिजनल मेडिकल सेन्टरका सिइओ मार्क उफरे भने, ‘उनीहरु साना छन् । स्थिर छन् । उनीहरुलाई खानाको प्रबन्ध गरिएको छ ।’ रट्गर्स युनिभर्सिटीस्थित पोषण विज्ञानका प्राध्यापक डेनियल होफम्यानले पोषणयुक्त खाना नपाएपछि शारिरिक वृद्धि रोकिने बताए । फेलोजका अनुसार उनीहरुमाथि यौन शोषण भएको संकेत चाहिँ फेला परेको छैन ।

सम्बन्धित सामग्रीहरू