अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

ट्रम्पले १८ लाखलाई नागरिकता प्रस्ताव गर्ने

सिएनएन २०७४ माघ १३ गते १७:४० मा प्रकाशित

पर्खाल बनाउन र आप्रवासन सुधार गर्न २५ अर्ब डलर जुटाउने रणनीति अनुरूप यस्तो तयारी भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ लाख कागजात विहीन आप्रवासीलाई नागरिकता प्राप्तिको बाटो खोल्ने विधेयक प्रस्ताव गर्ने भएका छन् । अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन र आप्रवासनका क्षेत्रमा कडा सुधार गर्न आवश्यक २५ अर्ब अमेरिकी डलर जुटाउने रणनीति अनुरूप ट्रम्पको यस्तो प्रस्ताव आउन लागेको छ ।

‘ड्रमाटिक कन्सेसन’ र ‘कम्प्रमाइज’ भनिएको उक्त विधेयक अनुसार ट्रम्पले विधेयकमार्फत डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल (डाका) प्रोग्राम अन्तर्गत अमेरिका आएका करिब ७ लाख आप्रवासीका लागि मात्र नागरिकता आवेदनको ढोका खोल्ने छैनन् । उनले डाका कार्यक्रममा नसमेटिएको तर डाकाको मापदण्ड पुरा गर्ने त्योभन्दा धेरै आप्रवासीको नागरिकता आवेदन पनि स्वीकार गर्ने प्रावधान समेटेका छन् । विधेयक पारित भए ट्रम्पले खारेज गरको डाका प्रोग्राम अन्तर्गत आएका र डाका प्रोग्राममा सहभागी हुन योग्यता पुगेका कूल १८ लाख आप्रवासीले नागरिकता प्राप्तिका लागि प्रस्तावित प्रक्रियामा सहभागी हुन पाउने छन् ।

नागरिकता प्राप्तिका् ढोका खोलिदिए बापत ह्वाइट हाउसले २५ अर्ब अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखेको छ । उक्त रकम अमेरिका –मेक्सिको सीमामा पर्खाल लगाउन र त्यसलाई नियमन गर्ने प्रविधि तथा जनशक्ति व्यवस्थापन गर्न खर्च गर्ने उद्देश्य छ । त्यसबाट सीमा क्षेत्रबाट हुने अवैध आप्रवासन रोक्ने ट्रम्पको लक्ष्य छ । साथै डिभी लटरी अन्त्य गर्ने, त्यसबाट बच्ने भिसा अमेरिकामा रहेका मानिसहरूको परिवार ल्याउन र दक्ष जनशक्तिलाई ग्रिन कार्ड प्रदान गर्न उपयोग गरिने योजना छ ।

विधेयकमा भएको अवैध आप्रवासी फर्काउन कानुनी छिद्र खोज्ने र प्रयोग गर्ने प्रावधान भने सबैभन्दा बढी विवादित बन्न सक्छ । किनभने, अमेरिकासँग सीमा नजोडिने देशका कागजात विहीन आप्रवासी फिर्ता पठाउन आप्रवासन सम्बन्धी अभ्यासमा रहेको व्यवस्था परिवर्तन गर्नुपर्छ जुन डिमक्रटका लागि स्वीकार्य हुने छैन ।

ह्वाइट हाउसका अधिकारीहरूले यो विधेयक सम्झौताका रूपमा ‘’बेच्न लागेका’ छन् र त्यसलाई सिनेटबाट पारित गराउन ६० भोट पाउने अपेक्षा गरेका छन् । यो योजना परिमार्जनका लागि सिनेटले ह्वाइट हाउस फर्काउन सक्ने देखिएको छ ।

‘यो व्यवस्थापिका हो जसले दुई दलको सहमतिको प्रतिनिधित्व गर्छ । डाकाका सम्बन्धमा यो योजना ज्यादै उदार छ र त्यसले राष्ट्रपतिका सबै ४ प्राथमिकता पनि पुरा गर्छ,’ ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले बिहीबार पत्रकारहरूलाई भने ।

पत्रकारलाई ब्रिफिङ गर्ने ती अधिकारीले उक्त अध्यादेशले ह्वाइट हाउसले केही साता अघि अस्वीकार गरेको डर्बिन–ग्राहम अध्यादेशलाई पनि अस्वीकार गर्ने बताए । डिमक्रट सिनेटर डिक डर्बिन र रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमले संयुक्त रूपमा उक्त विधेयक प्रस्ताव गरेका थिए ।

ह्वाइट हाउसका अधिकारीहरूले विधायकहरुले राष्ट्रपतिको ‘बटम लाइन’ का रूपमा यो प्रस्ताव स्वीकार्नु पर्ने र त्यसलाई कानुनी मान्यता दिनुपर्ने बताए ।

ह्वाइट हाउसको यो प्रस्ताव पारित भए १८ लाख आप्रवासीले नागरिकता प्राप्तिका लागि प्रक्रियामा सहभागी हुने पाउने छन् जसले धेरै डिमक्रटहरुको प्रशंसा पाउने छ । साथै, विधेयकमा भएको

आप्रवासीसम्बन्धी थुप्रै कडा प्रस्ताव उनीहरूलाई पचाउन गाह्रो हुने छ । ट्रम्पको यो प्रस्तावलाई केही कन्जर्भेटिभहरुले पनि विरोध गर्ने सम्भावना छ ।

विधेयकमा भएको प्रस्ताव अनुसार नागरिकता आवेदनमा छानिएकाहरू १० देखि १२ वर्षमा अमेरिकी नागरिक बन्ने छन् ।

सम्बन्धित सामग्रीहरू