अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 22:35

भ्रष्ट नेताको आचरण नसुध्रिए सम्म देशले मुहार फेर्नै सक्दैन

प्रकाश श्रेष्ठ २०७४ मंसिर १४ गते २१:०४ मा प्रकाशित

राजनिती देशलाई डोराउने माध्यम हो । हरेक देशमा राजनितिक परिवर्तन भएका छन् ईतिहासका कालखण्डहरुमा । राजतन्त्र भएको मुलुक देखि प्रजातान्त्रिक खुल्ला वा मिश्रित अर्थतन्त्र भएका मुलुक साथै साम्यवादी मुलुक विश्वका अनेक देशमा अस्तित्वमा छन् र ती देश कुनै निकै सम्पन छन् त कुनै विपन्न छन् । ईतिहासलाई गहिरिएर हेर्ने हो भने कुनै समय त्यस्तो थियो प्राय हरेर मुलुकमा राजा रजौटाबाट राज्य संचालित थियो र जनताले चरम कष्ट बेहोरेका कारण ती जनताबाट बहिस्कृत भएर गए । अझै अहिले विकसित मानिने देशमा सकृय वा आलांकारिक राजा बनेर शासन गरेका छन् तर नेपालमा धेरै पुरानो राजसंस्था घोषितरुपमा उन्मुलन भएको छ । यद्दपी यदाकदा अझै यसको आवस्यकता ठान्ने र पुर्व राजालाई देवता सरह मान्नेको कमि छैन । अर्को तर्फ बहुदलीय प्रतिस्पर्धा रहेका एकात्मक केन्द्रीकृत वा संघिय राज्य प्रणाली भएका देशमा पनि विकास भएकै छ भने चीन जस्तो पुरानो कम्युनिस्ट राष्ट्र पछि आएर खुल्ला अर्थतन्त्र अवलम्बन गरेपछि चरम विकासको शिखरमा पुगेको छ । यसले के देखाउँछ भने कुनै पनि राजनितिक वादको आ-आफ्नै विशेषता, गुण वा अवगुण अवस्य छन् तर जनतालाई सेवासुविधा प्रभाकारी ढंगबाट दिनु पर्छ भन्ने राजनितीको बागडोर संहाल्नेको नियत असल हुने हो र नेता आफ्नै लागी हैन जनताको लागी समर्पित हुने हो भने जनताले अवस्य विकासको स्वाद चाख्न पाउँछन् अन्यथा मात्र परिवर्तनको लागी परिवर्तनको कुनै अर्थ छैन ।

वास्तवमा २००७ साल सम्म जनता दमित र शोषित थिए जसबाट उन्मुक्ती राजनैतिक परिवर्तन पछि पाए तर २०१७ सालमा पंचायत व्यनस्थाले जव शासन गर्यो व्यक्ती पुज्ने चाकडीवाद हावी भयो पंचायतनै विकासको लागी निर्विकल्प शासन हो भन्ने भ्रम जनतामा छर्ने काम भयो । राजा र राजतन्त्रको चाकडी गर्नेले गर्न सम्म मोजमस्ती गरे, अकुत सम्पत्ती कमाए । जनता आफु अन्यायमा पर्दा समेत बोल्न नपाउने अवस्था रह्यो । ” आफ्नो प्राण भन्दा प्यारा राजा छन् ” भन्ने शिक्षा दिने पाठ्यपुस्तक स्कुलहरुमा पढाउन थालियो, राजा विकासको निरिक्षण गर्न विकट ठाउँमा जाँदा रातरात आर्टिफिसियल विकासका काम देखाउन उराठ फाँटमा अरुनै ठाउँको बोटबिरुवा केही समयको लागी लगेर सारेर हरियाली देखाउँदै कृषिमा परिवर्तन भएको समेत नाटक मंचन गर्न भ्याए त्यतिबेलाका पंचहरुले । अर्थात् राजालाई समेत भ्रममा पारेर स्वार्थ लुटे, जनतालाई जवर्जस्ती जयजयकार गर्न लगाए । अति भईसके पछि २०४६ सालको जनआन्दोलनको सफलता पछि राजा संवैधानिक भएर बसे तर राजनैतिक दलहरुको खिचातानीले गर्दा खासै विकासले गति लिएन बरु सांसदनै किनबेच हुने, भारत भ्रमणमा जाँदा पटकै पिच्छे नदीनाला भारतलाई फाईदा हुने गरि संधीसंझौता गरेर दिने जस्ता काम तत्कालिन प्रधानमन्त्रीहरुबाट भए जसलाई जनताले टुलुटुलु हेर्ने बाहेक केही गर्न सक्ने अवस्था रहेन ।

सन् १९९१ मा त निजीकरणको नाममा व्यवस्थापन लापार्वाहीका कारण घाटामा चलिरहेका राष्ट्रीय गौरभका उद्योग धन्दा कौडीको मुल्यमा बेचेर नेताहरुले आफ्नो बैक व्यालेन्स ठन्नै बनाउन सफल भए र विकशित देशमा खासै प्रयोगमा नआएको विक्री करको बदलामा ” मुल्य अभिवृद्धि कर ( VAT ) समेत लागु गरियो जसबाट व्यापारी र उद्योगपतिलाई कर छल्न अझै सजिलो भयो र नेताहरुले उनीहरुसँग सौदाबाजी गर्न अझै बाटो खुल्यो ।

संवैधानिक राजतन्त्रबाट विकास हुँदैन, देशमा आमुल परिवर्तन आवस्यक छ भनि २०५२ सालबाट माओवादीको नाममा जनयुद्ध भयो १० बर्षको समय जनताले त्रासीपुर्ण तरिकाले विताए तर आमुल परिवर्तनमा हिडेको राजनैतिक दलले अन्तत हजारौको बलिदान र अरवौको विकासका संरचना ध्वस्त भएपछि २०६२/६३ को गणतन्त्र ल्याउने आन्दोलनमा अन्य पुराना दलसँग सरिक भएर शान्ती संझौतामा समेत हस्ताक्षर गरेर हतियार बिसायो अनि चुनावमा जितेर सत्ताको स्वाद लियो । यसपछि भने दश बर्ष सम्म जनताको हितका खातिर ज्यान दिएर लडेका र लड्न नेतृत्व गरेका नेताहरुले ती सारा कुरा बिर्सेर पुरानै सत्ता टिकाउने घिनलाग्दो खेलमा सरिक भए, घुमाउरो बाटो आउने धनमा गहिरो आँखा गाडे र रातरात अरवौको मालिक बन्न आफु पनि सफल भए र पुराना पार्टीका नेतालाई अझै भ्रष्ट बनाउन मद्दत पनि गरे किनकी जव साझेदार भएर जव जव सत्ता चलाए अरु दलका नेता झनै खुलमखुला भ्रष्ट बने र गणना गर्नै नसकिने सम्पत्तीका मालिक बनाए । विचरा दशौ बर्ष पानी पनि समयमा नखाई खुकुरीको धारमा युद्ध लड्नेहरु खाडीको तातो हावा खान बाध्य भएर देश छोडेर गए । टाठाबाठा युद्दकालीन समय र पछि पनि विकशित देशमा आएर देशको राजनैतिक अवस्था देखाएर पिआर र ग्रिनकार्ड लिन सफल भए ।

अहिले तिनै एनआरएन नामक संस्थाका नेता भएर नेपाल जाँदा तिनै त्रासबाट बच्न विदेशिएका हौ भन्ने नेताहरुसँग कुम जोडेर ” साझेदारी” मा विभिन्न अस्पताल, कलेज, मिडिया हाउस र अन्य कम्पनीमा लगानी गर्ने समेत बने । यसैले नेपालमा जे जति जनतालाई मोहरा बनाएर जनताको नाममा अंकित सम्पत्ती थुपारे र अझै थुपार्ने काममा लागेका छन् तिनको सामुल नष्ट नगरि देशमा कुनै पनि व्यवस्था र कानुन बने पनि जनताले विकासको स्वाद चाख्न पाउने छैनन् । जनता ढुक्क भए हुन्छ हरेक नेताका छोराछोरा, भाईभतिजा, सालासाली, भान्जाभान्जा, नातापाता सबै अमेरिका, बेलायत लगायत युरोपियन मुलुकमा पिआर र सिटिजनसिप लिएर बसेका छन् । तिनीहरुलाई नेपालमा कमाएको अवैध धन उपयोग गर्न विदेशमा व्यापार/व्यवसाय गर्न लगाएका छन् र नेपाल देखि त्यो कालो धन विदेशमा सेतो धन (वैध धन) मा परिणत गर्न सफल भएका छन् । यी नेपालका प्राय कुनै पनि नेताका छोराछोरी नेपाल बसेर उच्च शिक्षा लिएका छैनन् किनकी उनीहरुलाई नेपालको शिक्षा प्रति विश्वास पनि छैन र नेपाल बस्नु पनि छैन । अनि बुढेसकालमा रिटायर्ड लाईफ नेताहरुले सपरिवार विदेशमै विताउन चाहन्छन् । यसो नहुँदो त हजारौ मेगावाट जलविद्युत निकाल्न सकिने देशमा अहिले सम्म मुश्किलले ९०० मेगावाट जलविद्युत उत्पादन भएको छ । देशको प्रति व्यक्ती आए ८०० डलर बल्ल पुगेको छ ।

मानव विकास सुचांकमा नेपाल निकै तल छ । भ्रस्टचारीमुलुकको लिष्टमा नेपाल उच्च स्थानमा छ । ५० लाख भन्दा बढि युवा रोजीरोटाका लागी कष्टकर जीवन विदेशमा बिताएका छन् र तिनले आफ्ना परिवारलाई पठाएको रेमिटेन्स/ विप्रेषणको माध्यमबाट देशले राजस्व संकलन गर्ने मुख्य आधार पाएको छ । बर्सेनी व्यापार घाटा बढिरहेको छ, परम्परागत कृषिप्रणालीमा कुनै सुधार छैन । युवा शक्तीको अभावमा गाउँघरका उर्भरभुमि बाझै छन् र केही कृषिमा लागेका कृषकलाई पनि राज्यबाट कुनै खाले प्राविधिक, आर्थिक र बजारव्यवस्थापनको सहयोग छैन । शिक्षा, स्वास्थ्य, सडक लगायत क्षेत्र अस्तव्यस्त छ । यस्ता सयौ अस्तव्यस्त हुनुमा राजनैतिक दल ज़िम्मेवार हुनेकी नहुने ?

वास्तवमा स्रोत र साधन त राज्यसँग छ उसले परिचालन गर्ने हो र निजी क्षेत्रलाई उचित नियमन गर्ने जिम्मा राज्यको हो । यसैकारण समयमै यी नेता र उच्च ओहोदामा रहेका पुर्व पदमा रहेका र वर्तमान पदमा रहेकाहरुको सम्पत्ती यथासक्दो चाडो छानविन गरि अवैध ठहरिएरो धन राज्य कोषमा तुरुन्त ल्याउन मिल्ने जवसम्म संयन्त्र र कानुन बनाएर लागु गरिदैन तव सम्म अव पनि जनताले जुनसुकै दल वा गठवन्धनलाई सत्तामा पुराए पनि अवस्था जिउकातिउ हुनेछ, कुनै परिवर्तनको आभाष मिल्ने छैन किनकी नानी देखि लागेको बानी छुट्ने छैन । अझै लाखौ, करौडौ दलका नेतालाई बुझाएर टिकट लिनेहरु, चुनावका लागी करौडौ खर्च गर्नेहरुले चुनाव जिते पछि आफ्नो लगानी उठाउन जस्तोसुकै कुकर्म गरेर पनि लगानी उपर गर्न खोज्ने छन् । तसर्थ यसरी नैतिकता बन्धक राखेर चुनावमा छलकपट गरेर भोट माग्ने नेतालाई सजग भएर भोट गरौ अझै पनि दोस्रो चरणको अझै धेरै सिटवाला प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ । यसमा सानै पार्टी किन नहोस्, नियत ठिक लाग्ने नेता र पार्टीलाई भोट दिएर आफ्नो मतको सदुपयोग गरौ । र यदी ठुला भाषण दिने पुराना पार्टीलाई भोट दिने विचार आएमा दल हेरेर हैन व्यक्तीको ईमान्दारिता हेरेर भोट गरौ अनि भनौ की तिम्रा भ्रष्ट नेताको सम्पत्ती विकास निर्माणमा प्रयोग हुन्छ की विदेशी कम्पनीमा लगानी गर्न प्रयोग हुन्छ ? एकपटक सोधौ र जवाफ सुनौ अनि तिनीहरुको अनुहार पढौ, त्यसबाट थाहाँ हुनेछ ती नेताको ईमान्दारिता, नियत अनि भावी कार्ययोजना ।

अत: अहिले जुन सामाजिक संजाल र मिडियमा आ-आफ्ना नेता र पार्टीको भजन गाउने गरिराखिएको छ नी त्यो गाउन सबैलाई छुट छ तर मात्र एउटा कुरामा निश्चिन्त बन्न सकिन्छ की उनीहरुले पहिला अवैध रुपमा कमाएको धन राष्ट्रीयकरण गरौ त्यो तर्फ आवाज बुलन्द पारौ र यदी कथमकदाचित त्यस्तो संभावना छैन भने पनि अव आउने दिनमा त्यस्तो अवैध धन्दाबाट कमाउन खोज्ने नेताको पर्दाफास गरेर सामाजिक रुपमै बहिस्कार गरौ । चुनाव जसले जिते पनि जनताले जित्नु पर्यो मात्र नेताले आफ्ना र आफ्ना सन्ततीको लागी जितेर भएन । तसर्थ मत दिदा अझै पनि विवेकको प्रयोग गरौ, दुईचार पैसाको लालचमा, झुट्टा आश्वासनमा ईमानलाई बन्धक नबनाउ !

प्रतिक्रिया