अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

कहिले होला नेपालका नेताले समय व्यस्थापनलाई व्यवहारमा लागु गर्ने

प्रकाश श्रेष्ठ २०७४ माघ २१ गते २१:३३ मा प्रकाशित

हामी सबैलाई थाहाँ छ समयले कसैलाई पर्खिँदैन, समय शक्तिवान् छ यो निरन्तर आफ्नै गतिमा अगाडी बढी रहन्छ । कसैले कुनै काम गर्दैमा वा नगर्दैमा समय रोकिँदैन, आफ्नै गति र नियमानुसार अगाडी बढिरहन्छ । यो धर्तीको अस्तित्वको सुरुवात भए देखि अहिले सम्म समयले कहिल्यै आफ्नो ईमान्दारितामा छलकपट गरेको छैन तर हामी प्राणीहरु मध्ये सर्वोकृष्ट मानिने मानव जगतमा भने आफ्नो जिम्मेवारिता र ईमान्दारितामा कयौँ पटक विचलन आएको पाउँछौ जसलाई सहजै मनन गर्न चाहँदैनौ ।

हामी कतिपय अवस्थामा आफूले गर्नुपर्ने जिम्मेवारी सही ढङ्गबाट बहन गर्दैनौ र आफूले सोचे अनुसार नतिजा नआउँदा आफ्नो भाग्य एवं आफ्नो सहकर्मी, पारिवारिक सदस्य वा छरछिमेकी वा अरूलाई नै दोष थुपारेर आफू चोखो जलबाट मन्छिन चाहन्छौ जसरी धामीले बोक्सी, भूत, दोखदोखला वा पृत्ती जागेको भनेर सेतो र कालो कपडाको धजा बनाएर अंखोराबाट पानी निकालेर बिरामीको टाउँको माथि राखेर विभिन्न मन्त्र उच्चारण गर्दै पानीको फेरो लगाएर केही पर दोबाटोमा लगेर राखिदिन्छन् वा स-साना रुखको हाँगामा बाँधिदिन्छन् अनि बिरामीलाई आराम हुनेमा विश्वास दिलाउँछन् । अनि बिरामीले पनि विश्वास मान्छ र अर्को तर्फ वैद्य वा डाक्टरले सिफारिस गरेर खाएको औषधी सेवनबाट आफू ठिक भएको नमानी “धामी” ले मन्छाएको धजाको कारण आफू ठिक भएको दाबी गर्दै अरूलाई पनि बिरामी पर्दा धामीसँग उपचार गर्न जान सिफारिस गर्छ । यसको मतलब हामी सही के गलत के छुट्टाउन सक्दैनौ अर्थात् कतिपय अवस्थामा धैर्यता गुमाउँछौ त कतिपय अवस्थामा जिम्मेवारी भुलेर अरूलाई प्रतिकूल नतिजाको भागीदार बनाउँछौ ।

हो हामी “समय व्यवस्थापन” को पाठ अरूलाई बढाउँछौ तर आफूले भने समयको महत्त्व र उपदेयिता ख्याल गर्दैनौ र कतिपय अवस्थामा हतारिदा काम बिगार्छौ र कतिपय अवस्थामा ढिलो गर्दा काम बिगार्छौ ” जसरी हतारमा ड्राईभभिंग गर्दा रेडलाईट मै अगाडी बढ्दा ठुलो दुर्घटना निम्ताउँछौ र कहिलेकाहीँ ट्राफिक लाइटमा केन्द्रित नभए हरियो बत्ती बलिरहदा पनि धेरै समय रोकिएर बस्दा पछाडिको चालकबाट “हार्नको आवाज” सुनेपछि झस्यांग परेर अगाडी बढ्दा कार असन्तुलनमा वा बढी स्पिडिंग गरेर पुलिसको टिकट खान्छौ “। अत: तोकिएको समयमा तोकिएको काम ज़िम्मेवारी ढङ्गबाट सम्पादन हुनसक्नु नै सही समय व्यवस्थापन हुनसक्छ जसबाट नतिजा पनि सोचे अनुसार आउन सक्छ ।

यही समय सँग सम्बन्धित एउटा घटना भरिखरै( केही दिन पहिला) बेलायतको संसद्मा घटेकोबारे एउटा न्युज पढ्ने मौका मिल्यो र यो सानो आलेख लेख्ने जमर्को गरे । वास्तवमा न्युजमा उल्लेख भए अनुसार ” बेलायतका एक जना मन्त्री संसद्मा तोकिएको समय भन्दा २ मिनेट ढिला पुगे छन् र उनले आफू ढिला गएका कारण आफूले जवाफ दिनु पर्ने महत्त्वपूर्ण प्रश्नको लागी जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको भन्दै १ मिनेटको क्षमायाचना सम्बन्धी शब्दहरू बोली आफ्नो मन्त्रीको पदबाट राजीनामा घोषणा गरी सांसदबाट बाहिरिएछन् ” । यसरी सांसदबाट बाहिरिने व्यक्ति लर्ड बेट्स थिए, उनी बेलायती संसद्को माथिल्लो सदनका सदस्य एवं अन्तर्राष्ट्रिय विकास मामिला सम्बन्धी मन्त्री थिए । यो घटनाले के जनाउँछ भने राजनीति होस् या अन्य क्षेत्र हरेक क्षेत्रमा समयको परिपालन सही ढङ्गबाट हुनुपर्छ । कुनै पनि योजना तर्जुमा गर्दा समय सम्बन्धी कार्ययोजना पनि समावेश गरिएको हुन्छ अर्थात् यति यति समयमा यो यो काम यस्तो यस्तो अवस्थामा पुरा गरिनेछ भन्ने पुर्वनिर्धारण वैज्ञानिक विधि एवं वातावरणिय अवस्थालाई मध्यनजर राखी तय गरिएको हुन्छ । यसरी तर्जुमा गरिएको योजनालाई सफल पार्न आवश्यक बजेट छुट्टाएर कार्यान्वयन गर्ने आधार खडा गरिन्छ र तोकिएकै विधि एवं कार्यावधीलाई अनुसरण गरेमा तोकिएकै मापदण्ड र बजेटमा उपयुक्त ढङ्गबाट योजना पुरा भएर नतिजा सहिसलामत प्राप्त हुन्छ ।

बिडम्वनानै मान्नु पर्छ नेपालको सन्दर्भमा देशलाई सही मार्गमा लैजान अगाडी बढिरहेका नेता र राजनीतिक दलले कहिल्यै आफूले निर्धारित गरेको समयमा काम र योजना सफल पारेको कमै मात्र अवस्था छ । विगतको धेरै लामो अवस्थालाई नहेरी केवल वि.सं.२०६३ पछिको घटनाक्रम पछाडि नेपालमा आएको नयाँ राजनैतिक परिवर्तनबाट स्थापित” सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकार ” हरूका गतिविधि हेर्दा न तोकिएको समयमा संविधान बन्यो न त भूकम्पबाट पीडित सर्वसाधारणले नै समयमा गाँस, बास र कपासको व्यवस्था अनुभूत गर्न सके । त्यतिका धेरै विदेशी दाताहरूको सहयोग र सद्भावलाई माटोमा मिलाउने काम भयो र पीडितले पाउने सुविधाको हुनसम्म दुरुपयोग विभिन्न निकाय, राजनीतिक नेताहरू, व्यक्तिहरू, संघसंस्थाहरुबाट भयो जसको बयान गर्ने हो भने एउटा ठुलो महाभारतको पुस्तकनै खडा हुन्छ । त्यस्तैगरि विभिन्न समयमा राजनैतिक दलहरू बिच हुने आपसी सहमतिका दस्ताबेजहरू कहिल्यै कार्यान्नयन भएको पाइएन । अर्को तर्फ कलाकारिता क्षेत्रमा लागेका “सिताराम कट्टेल( ध्रुमुश) र कुञ्जना घिमिरे( सुन्तली ) ” ले भने ” ध्रुमुश सुन्तली फ़ाउण्डेशन ” स्थापना गरेर निरन्तर रूपमा खटिएर सर्वसाधरणहरुबाट सहयोग जुटाएर कयौँ बस्ती निर्माण/खडा गरी सर्वसाधारणको दर्दानक घाउँमा निको हुनेगरि मलमपट्टी लगाउने काम गरेका छन् जसको लागी जतिसुकै नमना गरे पनि कमै हुन्छ । कम्तीमा उनीहरूको पवित्र कामबाट राज्यले केही त सिक्नु पर्ने हो तर निर्लज्ज अवस्थामा जनतालाई झुट्टा र कपोकल्पित आश्वासनको पोको बाँड्न खप्पिस ध्रुत नेताहरू र राजनैतिक दललाई यस्तो उदाहरणहरू ” भालुलाई पुराण ” सुनाए सरह छ भन्दा कुनै आपत्ति नहोला ।

यस्तैगरि राजनैतिक दलको पुच्छर बनेर कपोकल्पित समाचार र राजनैतिक दलको भजन गाउने पत्रकार र लेखक भनौदाहरुलाई समेत यति बेला ” साँचो र यथार्थ समाचार जनता समक्ष पेस गर्न अहोरात्र खटिएर लागीपरेका रवि लामिछानेहरू ” भालुको कम्पड जस्तो लागिरहेको हुनुपर्छ किनकि नेताको गोजीबाट चल्ने कतिपय पत्रिका, अनलाइन र पत्रकार एवं लेखकहरूले सत्य ओकल्न कहिल्यै सकेनन् बरु नेताका गल्ती ढाकछोप गर्ने, भ्रष्ट नेता, कर्मचारीबाट ” हप्ता/घुस” लिएर उनीहरूकै गुनगान गाउन खप्पिस हुनेहरूको धन्दा चौपट भएको छ । तसर्थ रविहरू यिनको लागी सधैँका लागी विदेशिए हुने थियो, कुनै पनि हालत र बहानामा नारायण श्रेष्ठहरू, प्रेम बानियाँहरू नेपाल नफर्किए हुने थियो भनी याचना गर्नेहरुको पनि कमी छैन किनकि उनीहरूको पुर्खौली पेसामा सङ्कट आउन सक्छ, सर्वसाधारणमा चेतनाको लहर आउन सक्छ र आफूहरू बहिस्कृत हुन सकिन्छ भन्ने ठुलो डर छ उनीहरूमा तर इमानको शब्दहरू ओकल्ने केही थान पत्रकारहरू, लेखकहरू भने यिनीहरूको काम देखेर आफूहरू पनि प्रोत्साहित भएको अभिव्यक्ति दिएको पाइन्छ । जे होस्, मिडिया , राजनैतिक, व्यापारिक, कर्मचारीतन्त्र, न्यायपालिका लगायत हरेक क्षेत्रमा सत्य र इमान हुनुपर्छ । साथै समयमै तोकिएकै अवस्थामा काम हुनुपर्छ नत्र ईमान्दारितामा सङ्कट देखापरि कुनै पनि काम सही ढङ्गबाट समयमै हुनसक्दैन ।

अत: समयको नियम सबैले परिपालन गरी सबै क्षेत्रमा जिम्मेवार हुन सिकौँ तब मात्र आफू, परिवार, समाज र राष्ट्र सबल एवं सक्षम बन्न सक्छ ।