अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ सिलवाल र थापालाई

बिआरटीनेपाल २०७४ असोज ७ गते १५:०९ मा प्रकाशित

यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकारद्वय शिव सिलवाल (नेपाल टेलिभिजन) र भरतबन्धु थापा (एभिन्युज)लाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

आज नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा उक्त पुरस्कार वाणिज्य मन्त्री मीन विश्वकर्माले प्रदान गर्नुभयो ।

पुरस्कार प्रदान गर्दै मन्त्री विश्वकर्माले जोखिममा काम गर्ने पत्रकारलाई सरकारले विशेष सुरक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । दुवै जनालाई संयुक्तरुपमा रु ५१ हजारको राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

उहाँले पत्रकार सुरक्षा बिमाजस्ता कार्यक्रम ल्याई पत्रकार थप सुरक्षित बनाउनुपर्ने बताउनुभयो । मन्त्री विश्वकर्माले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सञ्चार क्षेत्र जिम्मेवार हुनुपर्ने भन्दै पत्रकारलाई सुरक्षित वातावरणमा पत्रकारिता गर्न व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

“लोकतन्त्रको स्थायित्वका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको छ”– उहाँले भन्नुभयो, “त्यसैले पत्रकारको उच्च कदर गर्दै उनीहरूलाई सुरक्षित पत्रकारिताको व्यवस्था गर्नुपर्दछ ।” कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जोखिम मोलेर पनि पत्रकारले आफ्नो पेसा निभाइरहेकाले सुविधा बढाउनुपर्ने बताउनुुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाल, महाप्रबन्धक गोविन्द आचार्य, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्रका अध्यक्ष गोविन्द पोखरेल लगायतले पत्रकार पेसा जोखिमपूर्ण भएकाले राज्यले पत्रकारको सेवासुविधा बढाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँहरूले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन पनि पत्रकारले आफ्नो ज्यानको प्रवाह नगरी काम गरेको उल्लेख गर्दै पत्रकारलाई राज्यले उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो ।

विसं २०६३ असोज ७ गते समाचार सङ्कलनका क्रममा ताप्लेजुङ्गको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष महासङ्घ टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कार प्रदान गर्दै आएको छ ।

उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, उहाँकी धर्मपत्नी मिना राई तथा संरक्षणविद् हर्क राईसहित २४ जनाको निधन भएको हो । यसै गरी उक्त कार्यक्रममा नेपाल टेलिभिजनका सात जनालाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गरिएको छ ।

सम्मानित हुनेमा नायब महाप्रबन्धकद्वय जयसिंह शाह र प्रकाशजंज कार्की, प्रमुख कार्यक्रम निर्माता सुष्मा गौतम, प्रमुख समाचार च्यानलका पवन श्रेष्ठ, प्रमुख कार्यक्रम महाशाखा माधव कार्की, कार्यकारी दृश्य संग्रहालय अधिकृत ईश्वरी भुसाल, क्यामराम्यान वैजनाथ घिमिरे र ध्वनि नियन्त्रक मधुरबहादुर श्रेष्ठ रहनुभएको छ ।

यसै गरी यस वर्षको नेपाल टेलिभिजनका पाँच जना उत्कृष्टलाई वर्ष सम्मानबाट सम्मानित गरिएको छ ।

सम्मानित हुनेमा उत्कृष्ट दृश्य सम्पादक सम्मानबाट रोशना तुलाधर, उत्कृष्ट ध्वनि नियन्त्रक सम्मानबाट अनिल विष्ट, उत्कृष्ट निर्माता सम्मानबाट दीपक समीर, उत्कृष्ट क्यामराम्यानबाट कुमार शर्मा र उत्कृष्ट संवाददाताबाट समुन्द्र पौडेल सम्मानित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू