अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

“उल्झन ” को भव्य विमोचना साउन २८ गते शनिवार भृकुटीमण्डपमा

बिआरटीनेपाल २०७४ साउन २० गते २२:५० मा प्रकाशित

यस दशकका बिम्ब बादशाह तथा सबै माझ चिरपरिचित तथा लोकप्रिय कवि हेमप्रभास आफ्नो पहिलो आख्यान कृति “उल्झन ” लिएर पाठक सामु आउनु भएको छ । कविता विधाका अब्बल कवि हेमप्रभासको “उल्झन” भने पहिलो उपन्यास कृति हो । उल्झनको विमोचना तथा अन्तरक्रिया कार्यक्रम मिति २०७४ साल श्रावण २८ गते शनिवारको दिनमा अपराह्न ४ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौमा हुने कार्याक्रम तय भएको छ । आफ्नो छुट्टै र अलग पहिचान बनाउन सफल कवि हेमप्रभासका “पहाड बोकेर पहाडतिर ” ,”सहर पसेको मान्छे “र “गीतैगीतको गाउँ ” कविता सङ्ग्रह तथा विभिन्न पत्रपत्रिका मा फुटकर रचना तथा लेखकहरू प्रकाशित छन् । विमोचन कार्याक्रममा प्रसिद्ध नायक राजेश हमाल । युवराज घिमिरे । कवि ,साहित्यकार तथा कुशल कार्यक्रम सन्चालक डा. नवराज लम्साल । साहित्यकार ,समालोचक तथा कवि महेश पौड्याल मुख्या बक्ताहरू रहनु भएको छ ।

हेमप्रभास झुट शब्दहरूको थुप्रो कवितामा कहिल्यै लगाउँदैनन् । हुनसक्छ उनले आफ्नै गाउँ र प्राकृति हेरेर बाल्याकालमा नै सिर्जनाको मोति टिप्न सिकेका हुन् । त्यसैले त उनका कविता सुन्दै गर्दा कहिले रगत तातेर पाउ देखी शिर सम्म पुग्छ त कहिले शरीरमा काँडा उम्रन्छ । अन्याय र शोषणको विरुद्ध जिहाद युद्धनै छेड्ने उनका कविता ,कवितामा उनले कसरी सिड्गो गाउँलाई नै टप्पक टिपेर बिम्वात्मक शैलीमा पस्किन्छन् र गाउँको भाव खुलस्त पोख्न पोख्त छन् । अहिले उहाँले नीलगिरि गाउँको कथा लेखेर एक उत्कृष्ट उपन्यास उल्झन तयार गरेका छन् ।

“उल्झन” नेपाली साहित्यमा दशकौँ पछि लेखिएको उत्कृष्ट उपन्यास मध्ये एक हो । यस भित्र नीलगिरि गाउँको सत्य कथा छ । यो पढ्दा नीलगिरि तपाईँ हाम्रो त्यो साझा गाउँमा जन्मने जति सबैलाई आफ्नै कथा झैँ लाग्छ । म जहाँ जन्मिए नुनिया ,रेखा पनि त्यही त जन्मिए । सन्तोष,वसन्त,हरेराम,विजय,भवानी ,तिलक,हेमप्रभास सबै /सबै हामी त्यही नीलगिरि मा नै त जन्मेका हौँ । नीलगिरिले के भोगेन ? अभाव भोग्यो,अशिक्षा भोग्यो ,विभेद भोग्यो, दु:ख भोग्यो ,बाढी पैर्यो भोग्यो साथमा जनयुद्दको राप र ताप साथै डरलाग्दो भूकम्पको कम्पन पनि भोग्यो । जनयुद्दबाट बचेका बुढाबुढी बस्थे त्यो गाउँ नीलगिरिमा तिनलाई पनि धर्ती माता आफै रिसाएर सबैलाई निलिदिईन । अहिले त मुर्दा शान्तिमा छ नीलगिरिमा ।

कविको कोमल मन यस “उल्झन “भित्र छताछुल्ल भएर शब्द मार्फत पोखिएका छन् । उहाँलाई यही उपन्यासले अव एक उपन्यासकारको रूपमा पनि स्थापित गरिसकेको छ। उहाँले यो उपन्यास आँसुको मसीले लेखे होलान् की रगत वा कलमले त्यो सहजै भन्न कसैले सक्दैन । उपन्यास नीलगिरि गाउँ भित्रै रमाएको छ । उपन्यास भए पनि काल्पनिकताको संसारमा कहिकतै बुर्कुसि मार्न पाएको छैन । त्यसैलेत जीवन्त छ लेखाई ,सजीव छन् पात्र उस्तै जीवन्त छन् शब्द र परिवेश । आफ्नो गाउँलाई उपन्यासमा पढ्न पाउँदा सबै पाठकहरूलाई छुट्टै अनुभूति पक्कै पनि हुने छ । यो पढ्दा नीलिगिरि यो साझा गाउँमा जन्मने जति सबैलाई आ-आफ्नै कथा झैँ लाग्नेछ । के छैन र यो भित्र ? जनयुद्दमा हराएका दाईं भाइहरू , बलात्कृत दिदी बहिनहरू ,गरिबी, राजनीतिको दोहोरो चेपुवामा परेको देश र युवाहरूको भविष्य ,साहुको ऋण तिर्न कतार,मलेसिया पुगेका दाजुभाइको पीडा ,भूकम्पले क्षतबिक्षत बनाएको हाम्रो छाती र अहिले सुँक्क सुँक्क रोईरहेको मेरो देश सबै सबै छ यो उपन्यास ” उल्झन ” भित्र । यो तपाईँ ,मेरो ,हामी ,हाम्रो सबैको साझा पीडाको दस्ताबेज नै त हो ,तिनै साझा घाउका पाप्रा भित्रका पीडाहरू छन् यस भित्र । हामीले विगत देखि अहिले सम्म भोगेका सबै अनुभूति जीवन्त र आफैले भोगे झैँ लाग्छ । केही सम्झन बाँकी रहँदैन यो पढिसक्दा । सबैलाई आफ्नै जीवनको गणित ,आफ्नै जीवनको दु:खद कहाँनि आफ्नै विगत ,आफ्नै भोगाईहरू पढे झैँ लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू