अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ले कोलोराडोबासी नेपालीलाई गाउँको सम्झना गरायो (फोटो फिचर)

बिआरटीनेपाल २०७४ साउन ९ गते २३:१३ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा गायक पुरुषोत्तम न्यौपानेको एकल साङ्गीतिक साँझ भव्यताका साथ सम्पन्न भएको छ । गत आइतबार २३ तारिकका दिन कोलोराडोको वेस्ट मिन्स्टर स्थित याक एण्ड एती रेस्टुरेन्टमा आयोजित उनको साङ्गीतिक साँझ दर्शकहरुको बाक्लो उपस्थिति बिच न्यौपानेका लोकप्रिय गीतहरुको प्रस्तुतिका साथ सम्पन्न भएको हो ।

नारायण रायमाझीको कार्गील एल्बममा समावेश गीत उधारैमा भए पनि पेट नमारे है आमा तिमीले दमको दवाई खान नछाडे हैबाट आफ्नो एकल साँझको सुरुवात गरेका गायक न्यौपानेको यो गीत सुन्दा उपस्थित वृद्ध बृद्धा असाध्यै भावुक भएका थिए भने नेपाल छोडेर अमेरिका बसेकाहरुलाई पनि प्रवासको जीवन र नेपालका परिवार सम्झेर स्तब्ध बनाएको थियो । 

उनले दोस्रो गीत प्रवासकै सन्दर्भ जोडिएको देउरालीमा धजा, भन्न त भन्थ्यौ आमा घर छोडेर नजा बोलको गीत सुनाएका थिए । तिज गीतमा पुरुष गायनको चलन चलाएका न्यौपानेले तिजका गीतहरू सुनाउन थालेपछि कोलोराडोमा रहँदै आएका नेपाली चेलीहरुको उत्साह एकाएक बढेको थियो । उनले अहिलेका तीज गीतमा केही विकृति आएको आशय व्यक्त गर्दै आफू र प्रजापति पराजुलीले पुरुषलाई दाजु भाइ र बुबाको रूपमा राखेर तीज गीतमा पुरुष आवाज समावेश गरेको बताएका थिए । 

करिब २०० को हाराहारीमा रहेका नेपाली महिलाहरू रंगीन सारीमा नाचिरहेको दृश्यले कोलोराडोको वेस्ट मिन्स्टर स्थित याक एण्ड यती रेस्टुरेन्टमा तिज आजै हो कि भन्ने आभास पनि गराउँथ्यो ।

साँझ ७ बजेबाट ९ बजे सम्म कार्यक्रमको समय सीमा तोकिएको भए पनि कार्यक्रम राती १०:३० बजे सम्म चलेको थियो । गायक न्यौपानेले आफ्नो एकल साँझमा घाम जस्तो चम्किलो जुन हुँदैन, पान पिलौरी, माया सानीको मलाई, झिलझिल सितारा, चिन्ता बढ्यो झन्, पुर्वैमा झ्याल राखे, मोहनी तिम्रो बोलीमा, आफैँ बाटो खोज्नु परेमा, यो मायाको जातै तगडा, बुटौल हुँदै तुल्सिपुरैमा, सररर पानी घट्टामा, म त हिँडे पोखरा, पुतली नघुन न भुईँ भुईँ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए । 

बालबालिका र युवा जमात देखी वृद्ध बृद्धा सम्मको उपस्थिति रहेको उनको एकल साँझ हेरेका सबैले उनको प्रस्तुति असाध्यै राम्रो भएको प्रतिक्रिया दिएका थिए भने नेपाली चेलीहरुले पनि आफूहरू नेपालमै रहेर तिज मनाईरहेको महसुस भएको बताएका थिए । गीतहरुमा नेपाल र प्रवासलाई जोड्दै प्रस्तुति दिएका न्यौपानेले आफूलाई माया गरेर कार्यक्रममा आएका अमेरिकाका दर्शकहरु भेट्दा खुसी लागेको बताए । 

कार्यक्रम हेर्न निःशुल्क प्रवेशको व्यवस्था गरिएको पुरुषोत्तम न्यौपाने एकल साँझलाई बिआरटी नेपाल डटकमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । गायक न्यौपानौले कार्यक्रम आयोजक याक यण्ड यती रेस्टुरेण्टका वनर दिनेश भट्टराई र बिआरटी नेपाल डट कमलाई धन्यवाद दिएका थिए । Photo: Shailesh Pokharel

 

प्रतिक्रिया