अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा सम्बन्धमा महासचिवको प्रतिवेदन

बिआरटीनेपाल २०७४ वैशाख २८ गते १२:४० मा प्रकाशित

 

आदरणीय सभापति ज्यू
अग्रज एवं सल्लाहकारज्यूहरू,
कार्यसमितिकासाथिहरू, च्याप्टर सभापतिज्यूहरू,
प्रतिनिधि एवं पर्यवेक्षकज्यूहरू,
संस्थाका कृयाशिल एवं साधरण सदस्यज्यूहरू,
सबैमा जय नेपालको न्यानो अभिवादन छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिवको हैसियतले म सर्वप्रथम यस गरिमामय साधरण-सभामा उपस्थित अग्रज, सल्लाहकार, च्याप्टर सभापति, महाधिवेशन प्रतिनिधि एवं पर्यवेक्षक, संस्थाका कृयाशिल र साधरण सदस्यहरू, सबैलाई सभाको यस बन्दसत्रमा हार्दिक स्वागत गर्न चाँहन्छु । प्रत्येक अधिवेशन, भेला र सम्मेलनहरू भनेको संगठनको विगतका कृयकलाप र गतिविधिको सिंहावलोकन गरी आगामी लक्ष्य, दिशा र दृष्टि सुस्पष्ट रूपमा निर्धारण गर्ने स्थलहरू हुन् भने, विगतका विसंगति र विकृतिहरूलाई केलाएर आउँदा दिनहरूमा ती कुराहरू नदोहर्याउन प्रण गर्ने थलो पनि हो । त्यसैले हाम्रा राम्रा र नराम्रा कुराहरूको समिक्षा गर्दै, सिंगो संगठनका हितका निमित्त नवीन विचारहरू माथि यस साधारण-सभामा वृहत छलफल हुनेछ भन्ने आशा राख्दै, संस्थाको विगतका गतिविधि, वर्तमानका परिस्थितिहरू र भावीकार्य दिशाकाबारेमा समेटेर तयारपारेको मेरो प्रतिवेदनलाई यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाँहन्छु।

पृष्ठभूमि
आज भन्दा चार दशक अगाडि सन् १९७६ जुन १३ गते लोकतान्त्रिक समाजवादका प्रतिपादक जननायक विशेश्वर प्रसाद कोइरालाको प्रत्यक्ष निगरानीमा भारतको मुम्बई शहरको एउटा सानो कोठामा नेपाली जनसम्पर्क समितिको स्थापना भएको कुरा हामी सबैलाई अवगत नै छ । के एस रावल संस्थापक सभापति रहेको सो समितिले त्यस पछिका दिनहरुमा भारतको विभिन्न राज्यहरुमा आफ्नो संगठन विस्तार गरेका थिए । यो संस्था जन्मिएको मुम्बई शहरमा नेपाली जनसम्पर्क समितिको अहिले पनि एउटा छुट्टै अचल सम्पत्ति छ । यसरी जनसम्पर्क समिति स्थापना भएको लगभग ४० वर्षको अवधिमा विश्वका ३४ वटा देशहरूमा यसले आफ्नो संगठन विस्तार गरिसकेका छन् । संगठन विस्तारकै क्रममा अमेरिकामा पनि करिब एक दशक अगाडि यस संस्थाको विधिवत् रूपमा स्थापना भएको कुरा हामी सबैमा जगजाहेर छ ।

टेक्सास राज्यको डलास शहरमा दर्ता भएको संस्था “नेपाली पव्लिक रिलेशन कमिटी अमेरिकाको ” (NPRCA ) सन् २००७ सेप्टेम्बर, २/३,गतेमा न्यू-ईग्गल्याण्डको हार्डफोर्ट कनेटिकटमा भएको अधिवेशनबाट सभापतिमा डा. सुरेन्द्र देवकोटा निर्वाचित भएका थिए भने, न्यू-योर्क राज्यको न्यू-योर्क शहरमा दर्ता भएको संस्था “नेपाली जनसम्पर्क समिति अमेरिकाको सन् २००८ नोभेम्बर २८/२९ गतेमा कुईन्सको अस्टोरियामा भएको अधिवेशनबाट सभापतिमा आनन्द बिष्ट निर्वाचित भएका थिए । यसरी सुरूका दिन देखि नै यस संस्थाको आन्तरिक जीवन सहज ढंगले चल्न सकेन । संगठनमा अनेकौं उथलपुथल आए। लामो समयसम्म संगठन शिथिल बन्न पुग्यो। यसबाट संगठन मात्र जाम भएन प्रत्येक नवीन विचार र अभियान प्रति कृत र पराजित बनिरहे। कालन्तरमा गएर दुई वटै समितिले संस्थाको एकताको खातिर एक भएर जाने निर्णय गरेपछि, सन् २००९ अक्टोबर, ३१ गते न्यू-जर्सी राज्यमा भएको दुई पक्षिय वार्ताले टेक्सास राज्यको डलास शहरमा दर्ता भएको संस्था “नेपाली पव्लिक रिलेशन कमिटी अमेरिकालाई (NPRCA) मानेर जाने आपसी सहमतिगरेर, खगेन्द्र जिसीको संयोजकत्वमा एउटा अधिवेशन तयारी समितिको गठन गरेको थियो । सो समितिले जम्मा १६ वटा च्याप्टर गठन गरी एकताको अधिवेशन गराउनमा जुट्यो तर विविध कारणले सकेन । त्यसपछि पार्टीले विष्णु सुवेदी संयोजक भएको एक अधिवेशन तयारी समिति गठन गर्यो । उक्त समितिले नयाँ र पुराना गरेर जम्मा २४ वटा च्याप्टर विस्तार गर्न सफल भयो। अन्तत:सो समितिले संस्थाको करिब दश वर्षे लामो आन्तरिक विवादलाई अन्त्य गर्दै, सन् २०१४ नोभेम्बर २२/२३ गते टेक्सास राज्यको डालस शहरमा एकताको दोश्रो अधिवेशन सम्पन्न गरेको थियो । यस अधिवेशनले तीन वर्षको लागि सभापतिमा आनन्द बिष्ट समेतगरेर जम्मा २९ जनाको कार्यसमितिलाई निर्वाचित गराएको समितिमा ६ जना मनोनीतथपेर जम्मा ३५ जनाको कार्यसमिति नै अहिलेको नेपाली जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमिति भएको कुरा यहाँहरू माझ राख्न चाहन्छु ।

 

आदरणिय सभापति ज्यु एवं अग्रजहरू,
डालसमा भएको एकताको दोश्रो अधिवेशन पश्चात पनि संस्थाको आन्तरिक किचलो मटियामेट भएन । एकातिर निर्वाचित नेतृत्वले सिंगो संगठनलाई एक ढिक्का बनाएर लैजाने संकल्प र प्रतिबद्धता गरेको थियो भने,अर्कातिर सो अधिवेशनले दिएको एकताको संदेश र भावनालाई आत्मबोध गर्न नसक्दा संगठनमा पुन:निराशा, अन्यौलता छायो। सुरुका दिन देखि नै संस्थाको विधानको विषयलाई लिएर संगठनमा विवादसुरू भयो । यसका कारण करिब ८ महिना संस्था प्राय बन्दि हुनपुग्यो। पछि सन् २०१५ जुलाई १८ तारीख बसेको कार्यसमितिको बैठकमा उपस्थित बहुमत सदस्यहरूले विधानमा देखीएका समस्याहरूलाई सच्याएर, अनुमोदनका लागि पार्टी कार्यालयमा पठाउने निर्णय गर्यो। त्यसमा वर्तमान विधानलाई कार्यसमितिले चलाउन नमिल्ने, साधारण-सभा या विशेष साधारण-सभाले मात्र संशोधनका लागि प्रस्ताव गर्न मिल्ने भन्दै ६ जना कार्यसमितिका साथीहरु १.वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी २.महासचिव मुनिन्द्र नेम्बाङ ३.सचिव ईश्वर सापकोटा ४. सदस्य-ज्ञानेन्द्र राज कार्की ५. सदस्य-पविता परियार ६.सदस्य-किलन राईले फरक मत राखेका थिए। सो बैठकमा कार्यसमितिका निर्वाचित २८ जना सदस्यहरूको उपस्थिति थियो, भने केन्द्रीय सदस्य पिताम्बर भुसाल मात्र अनुपस्थित भएका थिए । त्यही पार्टीबाट अनुमोदन भएर आएको विधानले अहिले संस्था चलिरहेको छ ।

 

आदर्णिय प्रतिनिधि एवं पर्यवेक्षकज्यूहरू,
यसबीचमा पार्टीको १३ औं महाधिवेशनमा प्रतिनिधि छनोटका विषयलाई लिएर भएको संस्थाको विवाद सतहमा सर्वत्र आयो। एकले अर्कालाई कारबाही सम्म गर्न पुगेको संस्थामा विवाद कायमै रहेमा संगठन नै धारासायी हुन सक्ने खतराको महसुसगरी संस्थाको खातिर सन् २०१६ अप्रिल २२ तारीख नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाको रोहवरमा संगठनमा देखिएका सम्पूर्णविवाद र असहमतिहरुलाई अन्त्य गर्न आपसमा लिखित सहमति भएको थियो। सहमति भए पश्चात पनि अनुशासन समितिको विवादलाई लिएर आपसीकलह कायमै रह्यो । यही समयमा संस्थाको आर्थिकरकम अपचलन गरेको कुरा बाहिर आयो। भुलबस हुन गएको त्यस्ता प्रकृयागत त्रृटिप्रति म आत्मालोचना गर्दै, केन्द्रीय समिति मार्फत यस विषयमा उठेका सम्पुर्ण विवादहरूको समधान भईसकेको कुरा यो सम्मानित साधरण-सभालाई जानकारी गराउँदछु ।

 

सभापति ज्यु एवं सल्लाहकार ज्यूहरू,
यसरी क्रमैसित विभिन्न समयमा विविध किसिमका असहमति र कठिनाईहरू संगठनको आन्तरिक जीवनमा आइरहेको हुनाले संस्थाले सोचे जस्तो गतिविधि गर्न सकेन। बाहिरबाट समेत हाम्रो संगठनलाई निर्मम ढंगले प्रहार गर्न थाले । यिनै कुराहरुलाई विशेष ध्यानमा राखेर एकताको खातिर सन् २०१७ जनवरी १४ तारीखमा टेक्सास राज्यको डलास शहरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य क्रमश: डा.प्रकाश शरण महत र कल्याण गुरुङको उपस्थितिमा बसेको नेपाली जनसम्पर्क समिति अमेरिकाको उपस्थित २० जना केन्द्रीय सदस्य सहितको आकस्मिक बैठकले आम साथीहरूको भावना र चाहनाको कदरगर्दै संस्थामा देखिएको सम्पूर्णविवादको अत्य गर्ने निर्णय गरेपछि संगठनमा नयाँ उर्जा र जागरण थपिएको छ। उक्त बैठकले सचिव भोजराज ठोकर र केन्द्रीय सदस्य चन्द्रकान्त धितालको सहमतिमा अनुशासन विभागको संयोजकको जिम्मेदारी सचिव भोजराज थोकरलाई दिने सहमति गरेपछि विवादको अन्त्य भएको हो । यसरी संगठनमा एकता ल्याउनका निमित्त विभिन्न चरणमा पहल गर्नुहुने नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुन नरसिंह केसी, डा.प्रकाश शरण महत, बिर बहादुर बलायर, डा.मृगेन्द्र रिजाल, रमेश रिजाल, महेन्द्र यादव, विश्व प्रकाश शर्मा, कल्याण गुरुङ, बहादुर सिंग लामा , मोहन बस्नेत, सांसदहरू, मोहनचन्द्र बराल, महेन्द्र कुमारी सुव्वा, आंग टावा शेर्पा, अग्रजहरू लगायत डलास च्याप्टर टेक्सासवासी सबैलाई नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछ।

 

आदरणिय सभापति ज्यु एवं च्याप्टर सभापति ज्यूहरू,
अहिले यस्तो सिंगो संगठनमा एकता छाएको वेलामा सबै च्याप्टरहरुको अधिवेशन गराइ संस्थाको केन्द्रीय अधिवेशन समयमै सम्पन्न गर्नुपर्ने हामीमा एकातिर नैतिक जिम्मेवारी छ भने, अर्कातिर अधिवेशन गराउनका निमित्त सुरुकादिन देखि नै संस्थाको विधान र च्याप्टर गाइडलाइनमा देखिएको गम्भीर असहमति र असमझदारीहरुको अन्त्य गरी एकरुपता ल्याउन अत्यावश्यक छ। यी र यस्ता संस्थामा देखिएका अनेकौं सांगठानिक जटिलताहरुलाई एकमुष्ठ सम्बोधन गरी संस्थालाई नवीन जीवन दिन र नयाँ कार्यदिशा तय गर्ने उद्देश्यकासाथ आज हामी यो साधारण-सभामा सहभागि भएका छौं । केहि साथिहरू , अग्रजहरू यो साधरण-सभाप्रति असमतिराखेर अनुपस्थित हुनुहुन्छ । उहाँहरूले राखेका असमतिका विचारहरू संगठनका हितका निमित्त छन् भने, त्यसलाई यस साधरण-सभाले सम्बोधन गर्नु पर्छ । सबैलाई मिलाएर, एकताको वातावरण सृजना गरी समयमानै अधिवेशन गर्नु पर्दछ। त्यसैले यो साधरण-सभाले १९ फेब्रेवरी २०१७ मा बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार ,सकिएको च्याप्टरको समय अवधिथपेर आउँदो सेप्टेम्बर महिना भित्र सम्पूर्ण च्याप्टरहरूको अधिवेशन अनीवार्य सम्पन्न गरी केन्द्रीय महाअधिवेशनको मिति समेत तय गर्नु पर्ने निर्णयलाई सम्बोधन गरेर जानु पर्छ । संस्थालाई ५०१सी ३ मा लाने वेलामा केहि प्रकृयागतत्रृटी भएकै हो, पछिल्लो समयमा यस विषयलाई लिएर अग्रजहरू , शुभचिन्तकहरू, केहि च्याप्टरका सभापतिहरू र समिति भित्रकै साथिहरूले असमति र चिन्ता व्यक्त गरेका छन् । यसलाई हामीले गम्भीर ढंगले लिएर,सबैसित सहमति र छलफल गरी संगठनलाई एक ढिक्का बनाइ आउँदो नोभेम्बरमा नै केन्द्रीय अधिवेशन गर्ने माहोलको सृजनागरेर जानुपर्दछ ।

 

संगठनको वर्तमान अवस्था र गरेकाकामहरू,
नेपाली जनसम्पर्क समिति अमेरिकाले विभिन्न राज्यहरूमा अहिले सम्म २८ वटा च्याप्टर गठन गरिसकेको छ । यस संस्थाको लगभग ६ हजार साधारण सदस्य संख्या रहेको छ भने, पार्टीको कृयाशिल सदस्य संख्या पुरानो १८० र नयाँ ५७७ गरेर जम्मा ७५७ जना छ । निर्वाचित भएको २ वर्ष ५ महिनाको अवधिमा संस्थाको कार्यसमितिले ३२ पटक टेलिफोन कन्फरेन्स बैठक र २ पटक फिजिकल बैठक सम्पन्न गरेको छ। च्याप्टर सभापतिहरूसँग एक दर्जनपटक कन्फरेन्स बैठक र एक पटक फिजिकल बैठक सम्पन्न गरेको छ । २८ वटा च्याप्टरहरू मध्ये केहि अति नै निष्कृय छन् भने अनुपातमा धेरै च्याप्टरहरू सकृय देखिएका छन्। यस संस्थाको कानुनी सल्लाहकार एक जना सहितजोडेर जम्मा ३२ जना संस्थाको सल्लाहकारहरु छन । संगठनले काम गर्न सजिलोका निमित्त १३ वटा विभागहरू बनाएको छ । १.संगठन विभाग २.महिला विभाग ३.प्रचार प्रसार विभाग ४.प्रशिक्षण विभाग ५.कानुनी परामर्श विभाग ६.खेलकूद विभाग ७.आदिवासी जनजाति विभाग ८.सांस्कृतिक विभाग ९.युवा तथा विद्यार्थी विभाग १०.समन्वय विभाग ११.नीति तथा कार्यक्रम विभाग १२.अनुशासन विभाग १३.आर्थिक विभाग छन्।नेपाली जनसम्पर्क समिति अमेरिकाले केहि केन्द्रीय स्तरको कार्यक्रम गरेको छ । संस्थाले नेपाल परेड डे २०१६ गर्नका लागि नेतृत्वदायी भुमिका निर्वाह गरेको थियो भने नेपाली समुदायको लागि अमेरिकन सरकारसँग टिपि एसको(TPS)सुविधा पाउनु पर्ने माग राख्दै, हस्ताक्षर अभियान सन्चालन् गरेको थियो।

 

आर्थिक सहयोगको सम्बन्धमा
१.नेबि संघका पूर्व केन्द्रीय सदस्य स्वा.बिष्णुहरी भण्डारीको आकस्मिक निधन भएकोले परिवारलाई सहयोग गरेको छ । २.नेबि संघका पूर्व महामन्त्री एवं नेकाका युवा नेता उमेश जंग रायमाझीलाई कलेजो प्रत्यारोपनका लागि:-रू तीन लाख सहयोग गरेको छ। ३.नेजस अमेरिकाको केन्द्रीय सदस्य सुभेन्द्र रानाभाटको धर्मपत्नि दुर्गा पाठक रानाभाटको क्यान्सर रोगको उपचारको लागि रू दुई लाख सहयोग गरेको छ ।

४.नेपाली काँग्रेस पार्टी कार्यालयमा वनारस नै देखि लगातार काम गर्दै आउनु भएका दाई मोहन कुमार खत्री र साडे तीन दशकदेखि कामगरेर आउनु भएका सुरेश श्रेष्ठ ” कान्छा” दुबै जना बिमार भएकाले उपचारको लागि जनही रू पचास हजारको दरले एकलाख सहयोग गरेको छ । ५.नेबि संघको पूर्व महामन्त्री शीव भुर्तेललाई क्यान्सरको उपचारको लागि सहयोग गरेको छ । ६.नेपाल महिला संघको डिवी परियारलाई रू पचास हजार सहयोग गरेको छ । ७.गिरीजा प्रसाद कोइराला मेमोरियल कलेज मार्फत गागल फेदीका भुकम्प पिडित बालबालिकालाई छात्रावृतिको लागि संस्थाले सहयोग गरेको छ । ८.भुकम्पले क्षतिग्रस्त गागल फेदी उच्च माध्यमिक विध्यालय निर्माणका लागि रू सात लाख पचास हजार सहयोग गरेको छ । ९.दोलखा जिल्लामा सितलहरमा परेकालाई चार लाख पचासहजार बराबरको कम्बल वितरण गरेको छ । १०.भुकम्प गएको वेलामा नेपाल पुगेर संस्थाको सभापति आनन्द बिष्ट, उपसभापति धर्म राज श्रेष्ठ, सचिव ईश्वर सापकोटा र केन्द्रीय सदस्य हरीवोल भण्डारीद्वारा प्रत्यक्ष वितरण गरेको राहत सहयोगरकम जम्मा रू. (९१३०५०) नौ लाख तेह्रहजार पचास रहेको छ ११.नेपाली काँग्रेसको भुकम्प पिडित राहतकोषमा रू. (१८,००,०००) अठार लाख रूपैंया पहिलो पटक र (३१, ४७,६५०) एकतिस लाख सच्चालिस हजार छसय पचास रूपैया दोस्रो पटक जम्मा गरेको छ ।

 

नेपाली जनसम्पर्क समिति अमेरिकाको आव्हानमा भुकम्प पिडितको सहयोगार्थ राहत संकलन गर्ने च्याप्टरहरू
१.न्यू-जर्सी च्याप्टर २.न्यू-योर्क च्याप्टर ३.अस्टीन टेक्सास च्याप्टर ४.नर्दनक्यालिफोर्निया च्याप्टर ५. कोलोराडो च्याप्टर ६. भर्जिनिया च्याप्टर ७. मिसिगन च्याप्टर ८. लडंग आइल्याण्ड च्याप्टर ९. लस एन्जलस च्याप्टर १०. डलास टेक्सास च्याप्टर ११.मेरिल्याण्ड च्याप्टर १२.वेष्ट टेक्सास च्याप्टर १३. बोस्टन च्याप्टर १४. रोड आइल्याण्ड च्याप्टर १५.न्यू हेमसायर च्याप्टर१६.ईन्डीयाना च्याप्टर १७.न्यू-मेक्सिको च्याप्टर १८.फ्लोरिडा च्याप्टर छन्। यसरी नेपाली जनसम्पर्क समिति अमेरिकाको आव्हानमा भुकम्प पिडितको सहयोगार्थ राहत रकम संकलनका लागि अहोरात्र खटिएका सम्पुर्ण च्याप्टरहरू, केन्द्रीय कार्यसमितिका साथिहरू र सहयोग गर्नुहुने सबै दाताहरूलाई नेपाली जनसम्पर्क समिति अमेरिका धन्यवाद व्यक्त गर्दछ ।

 

संगठनको बारेमा
नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठन विगत लामो समय देखि राम्ररी चल्न सकेको छैन। कुनै न कुनै कोणबाट संस्थाको जीवनमा निर्मम प्रहारहरु भइरहेका छन। यस त्रुटीलाई हटाउनको लागी यो साधारण-सभाबाट विद्यमान विधान र च्याप्टर गाइडलाइनमा संशोधनका लागि प्रस्ताव गरी एकरुपता ल्याउनु पर्छ। त्यस पछि संस्थाको संगठन ठीक बनाउने हो भने विधानको पूर्ण रुपले पालना गर्ने बानी हामी सबैमा हुनु पर्छ । अनि मात्र संगठनको दैनिक जीवनको कार्यहरु सुचारु रुपले सम्पन्न हुनेछ। अर्को कुरा संस्थालाई संगठित राख्ने सवल आधार भनेको अनुशासन पनि हो । त्यसैले संगठन भित्र अनुशासन कायम राख्न हामी सदैव सजक रहनु पर्छ । यसका साथै संस्थालाई अझ बलियो र एक ढिक्का बनाइ राख्न संगठनको आन्तरिक लोकतन्त्रमा विशेष जोड दिनु पर्दछ।

 

निर्णय प्रक्रियामा लोकतन्त्रको भरपूर उपयोग गर्न सबैले पाउनु पर्छ। संगठनमा सामन्ती संस्कार, आत्माकेन्द्रीत मानसिकता, कर्मचारीतन्त्र र धनी व्यक्तिहरूहाबी हुनु भनेको स्वागत योग्य कुरा हुँदै होईन। यसबाट संगठनलाई सधैं बचाइ राख्नु पर्दछ। अहिलेको आधुनिक युगमा पार्टी तथा कुनै पनि संस्थाको संगठनहरुमा निम्न: विशेषताहरुलाई क्रमिकरुपले समावेश गर्दै लगेको देखिन्छ। १) पारदर्शिता २) उत्तरदायित्व ३) लोकतान्त्रिक आधारमा संस्थाहरुको संगठन र अन्य संस्थाहरुसँगको सम्बन्ध ४) समावेशीकरण ५) संस्थाको कोषको लोकतान्त्रिकरण ६) निर्णय प्रक्रियामा तल्लो तहमा रहेको व्यक्तिहरू समेतको समान सहभागिता ७) संगठनको आन्तरिक बहसमा लोकतान्त्रिक तवरले निर्णय गर्नु पर्ने ८) विचार विमर्श ९) हरेक तहमा नेतृत्वको आवधिक निर्वाचन १०) एउटा सु-संगठित राजनीतिक कार्यक्रम ११) संस्थाको विधान वा आचार संहिता १२) संस्थालाई आन्तरिक सुधार १३) नागरिक शिक्षा १४) भ्रष्टाचारविरुद्धमा तालिम लगायत छन् । महिला, युवा, अपाङ्ग, आदिवासी जनजाति सिमान्तकृत ,दलित र मधेसीको सहभागिताको आवाज पनि अहिले उत्तिकै घनिभूत ढंगले उठेका छन्। यसका साथै, संस्थाको कोषलाई पारदर्शी ढंगले सन्चालन्, लेखापरिक्षण र सार्वजनिकीकरण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आक्षेपहरूबाट पनि संगठनलाई सधैं अलग राख्नु पर्छ । यिनै कुराहरुको कमिका कारण संस्थामा विभाजनको पिडाबोध, घात अन्तरघात, अलगावबादी झुकाव र छुट्टै संगठन गठन गर्ने क्रियाकलापको पुनरावृति हुन्छन् । जसका कारण आफ्नै संस्था भित्र एक अर्काको व्यक्तित्वलाई समाप्त पार्न समय र शक्ति खर्च गरिरहेको हुन्छ । यसो गर्दा नेतृत्व विकास ठप्प हुन गै संकटकालिन अवस्थामा संस्थालाई आवश्यक पर्ने कार्य क्षमता र सुधृढ नेतृत्वको सधैं संकट भएको पाउछौं। त्यसकारण निचोडमा भन्ने हो भने संस्थाको व्यापक हितको खातिर कुनै पुर्वाग्रह र दुराग्रह नराखी पर्याप्त वैचारिक बहसको आधारमा लोकतान्त्रिक प्रकृया मार्फत नेतृत्व छनोट गर्ने परम्परा बसाल्नुर्छ। आजको विश्व व्यापारिकरणको युगमा संस्थाहरु सिमित घेरामा मात्र बस्न चाहदैनन। संस्थाहरुले एक अर्काबाट धेरै नीति र कार्यक्रमहरु ग्रहण गरी राखेको हुन्छ । त्यसैले संस्थालाई कसरी लोकतान्त्रिकरण, सामाजिकिकरण र आधुनिकिकरण बनाउन सकिन्छ भन्नेमा पनि हाम्रो पुरै ध्यान जानु पर्दछ ।

 

विधान र च्याप्टर गाइडलाइन सम्बन्धमा
१.नेपाली जनसम्पर्क समिति अमेरिका नेपाली काँग्रेस निकट संस्था भएकोले, विधानमा पार्टीसँगको आबद्धतालाई कायमै राखेर सो देशको कानुनी व्यवधान समेतलाई विषेश ध्यानमा राखेर, हरेक प्रस्तावहरुलाई कार्यसमितिले अनुमोदन गरेपछि मात्र लागुहुने प्रकारको विधान बनाउनु पर्छ । २.नेपालको संविधान २०७२ अनुसार अन्य मुलुकको नागरिकता प्राप्त गरेमा नेपाली नागरिकता समाप्त हुनेछ भन्ने लेखिएको हुनाले, अन्य देशको नागरिकता लिईसकेको व्यक्तिहरूले काँग्रेसको महाधिवेशनमा वैधानिक रूपले सहभागि हुन पाउने या नपाउने भन्ने एउटा गम्भीर विषय हाम्रो सामु आएको छ । यो समस्या हाम्रो मात्र होईन नेपाली काँग्रेस पार्टीको पनि भएकोले यस सम्बन्धमा व्यापक छलफल गरेर संविधानसँग नबाजिने व्यवस्था विधानमा मिलाउनु पर्छ। ३.पार्टीको संम्रचनाको आधरमा नेपाली जनसम्पर्क समिति अमेरिकालाई क्षेत्रिय समिति सरहको मान्यता दिनुपर्ने माग पार्टीसँग राखेर, संगठन विस्तार र महाधिवेशन प्रतिनिधि छनोट गर्दा नेकाको १२औं महाधिवेशनले निर्धारण गरेको मापदण्ड अनुसारले गर्नु पर्ने व्यवस्ता विधानमा नै मिलाउनु पर्छ । ४.सम्भव भए सम्म पार्टीको महाधिवेशनका लागि भाग लिने प्रतिनिधिहरूको छनोट पनि संस्थाको केन्द्रीय महाधिवेशनको समयमा नै लोकतान्त्रिक प्रकृयाबाट गर्नु पर्छ । अन्यथा सोहि पार्टीको महाधिवेशनको लागि वितरण गरिएको नयाँ र पुरानो कृयाशिल सदस्यहरूबाट मतदान गरी पार्टीको महाधिवेशन कै समयमा महाधिवेशन प्रतिनिधिहरूको छनोट गर्ने व्यवस्था विधानमा नै मिलाउनु पर्छ । ५.अबको १०/१५ वर्ष पछाडि विश्वको प्राय सबै देशहरूमा जनसम्पर्क समितिहरूको संगठन पुग्ने छ । त्यसकारण यस संगठनलाई पार्टीले आफ्नो नियन्त्रणमा राख्न अति जरूरी भएको छ । त्यसका लागि विश्वभरका जनसम्पर्क समितिहरूलाई पार्टीले त्यो देशको कानुनसँग नबाजिन्ने गरेर एउटै खालको विधान बनाएर दिनु पर्दछ । ६.संस्थाको साधरण र पार्टीको कृयाशिल सदस्यता वितरण गर्दा केहि मापदण्ड राखेर च्याप्टरहरूलाई स्वतन्त्र ढंगले कामगर्न दिने खालको विधान बनाउनु पर्दछ। ७.नेपाली जनसम्पर्क समिति नेपाली काँग्रेसलाई सहयोग पुर्याउने उद्धेश्यले स्थापना गरिएको संस्था हो। त्यसैले यस संस्थामा काँग्रेस निकट लोकतान्त्रिक विचार भएका व्यक्तिहरू मात्र सदस्य बन्न पाउने छन् । तर ५०१ सी ३ ( (501c3) मा सधैंका लागि संगठन लगिएको खण्डमा ,त्यहाँ सबै देश र विचारका व्यक्तिहरूले सदस्यता लिन पाउने अधिकार राख्दछ । जसले गर्दा नेपाली काँग्रेससँग यस संस्थाको सम्बन्धविच्छेद हुन्छ । त्यसकारण विशेष परिस्थितिमा यो संस्थालाई ५०१सी ३ मा लगिएको भएता पनि पुन : पहिलेकै अवस्थामा पर्काउनु पर्छ। या सो भन्दा पनि उपयुक्त व्यवस्था हुनसक्छ भने सबैको सल्लाह र सहमतिमा विज्ञहरूको एउटा समिति गठन गरेर भएपनि नेपाली काँग्रेससँगको आबद्धता / निकटता यस संस्थामा अनिवार्य कायम राक्नु पर्छ ।

 

पार्टीसँग पहल गर्ने
१. नेपालको संविधानले दिएको गैर आवासीय नागरिकताको व्यवस्थामा राजनैतिक अधिकारको पनि थप व्यवस्था गर्नुपर्ने माग पार्टीमार्फत नेपाल सरकारसँग राख्नु पर्दछ । २.संगठनलाई वैधानिक रूपले अमेरिकाको दोस्रो पुस्तासँग जोड्नका लागि दोहोरोनगरिकताको विषयलाई पार्टीमार्फत उठाउनु पर्दछ। ३. नेपाल र अमेरिकाबीचको दोहोरो कर व्यवस्थाको अन्त्य गर्ने सन्धिको लागि पार्टीमार्फत पहल गर्नु पर्दछ ।
४.नेपाल देशको राजनीतिलाई विदेशमा बस्ने नेपालीहरूले प्रत्यक्ष हस्तक्षेप गर्नका लागि नेपालमा हुने प्रतेक चुनावमा सारा प्रवासी नेपालीहरूले भोट लगाउन पाउने अधिकारको माग पार्टी मार्फत सरकारसँग गर्नु पर्दछ ।

 

संस्थाको नीति तथा कार्यक्रम
१ अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुलाई सबैढंगको मानवीय साथ र सहयोगका लागि नेपाली जनसम्पर्क समिति अमेरिकालाई अझ विस्तारित र व्यवस्थित ढंगले अघि बढाउनु पर्दछ । २. मातृ भूमिका लागि महिनाको १ एक डलर भन्ने अवधारणाकोबारेमा विस्तृत कार्य-पत्र तयारपारेर यसको कार्यन्वयनका लागि आवश्यक बन्दोबस्त मिलाई अघि बड्नु पर्दछ । ३. मातृ पार्टी नेपाली काँग्रेसलाई आजको समयको चुनौती सामना गर्न सक्ने ढंगको आधुनिक राजनैतीकदलमा रुपान्तरणका लागि सहयोगी भूमिकामा नेपाली जनसम्पर्क समिति अमेरिकालाई अग्रसर तुल्याउनु पर्दछ । ४.संसारभरी छरिएर रहेका करिब (३५ ) पैतिस लाख भन्दाबढी नेपालीहरूको उर्जा र आर्थिक सामर्थ्यलाई नेपाल देशको समुन्नतिको लागि उचित उपयोग गर्ने/गराउने दिशामा नेपालसरकार एवं विदेशमा रहेका विभिन्न नेपाली संस्थाहरुसँग आवश्यक छलफल र संवाद प्रारम्भ गर्नु पर्दछ । ५. नेपाली जनसम्पर्क समिति अमेरिकाको आफ्नै परिचय पत्रको व्यवस्था गरी सदस्यता विस्तारको अभियान संचालन गर्नु पर्दछ । ६.अमेरिका लगायत अन्य मुलुकमा रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाको साथीहरुसँग समेत सहकार्य गर्ने गरी एक नीति अध्ययन केन्द्रको (Center of Policy Studies) स्थापना गर्नु पर्दछ।( विभिन्न क्षेत्रहरु जस्तै विज्ञान तथा प्रविधी, प्रशासन, कानुन, व्यापार सामाजिक तथा प्राज्ञिक क्षेत्रमा सफल व्यक्तिहरूलाई समेटेर ( resource person को रुपमा ) यहाँको अनुभव , ज्ञान र सीपलाई प्रस्ताविक केन्द्र मार्फत नेपाली काँग्रेसको नीति तथा कार्यक्रममा समावेश गरी देश विकासमा प्रयोग गर्न सकिन्ने प्रचुर सम्भावनाको सदुपयोग गर्नु पर्दछ ।) ७.नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यलाई भईपरी आउने आपतकालिन घटना र दुर्घटनालाई विशेष ध्यानमा राखेर तत्काल केही राहत पुर्याउने उद्धेश्य अनुरुप एक “आपत कालिन राहत कोषको” स्थापना गर्नु पर्दछ । ८.नेपालका लागि पर्यटन प्रवर्धनमा सघाउ पुर्याउने कार्य गर्नुका साथै, नेपाल र नेपालीको पहिचानलाई जोगाउन आफ्नो भाषा संस्कृति जगेर्ना गर्ने कार्यमा नेपाली जनसम्पर्क समिति अमेरिकालाई अग्रसर तुल्याउनु पर्दछ । ९.प्रत्येक अमेरिकी राजनीतिक पार्टीसँग विशेष सम्बन्धराखी नेपाल र अमेरिकाको सम्बन्धलाई सुमधुर बनाउनु पर्दछ । यसका लागि नेपाली मुलका अमेरिकन राजनीतिमा लागेका व्यक्तिहरूसँग सम्पर्क बढाइ आवश्यक परामर्श र छलफल गर्ने व्यवस्था मिलाउनु पर्दछ । १०.देशको कुनै खास क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले दिर्घकालिन योजना बनाइ कार्य गर्न नेपाली जनसम्पर्क समिति अमेरिकालाई सधै अग्रसर तुल्याउनु पर्दछ ।

 

अन्त्यमा,
मुलत संविधान निर्माणको कार्य सम्पन्न भएपछि राजनीतिक विषय वस्तुहरूको अन्त भैसकेको समयको रुपमा लिएको छ । इतिहासको ती दिनहरुको कुशल नेतृत्व गर्न सफल काँग्रेस पार्टीले नै आजको समृद्ध राष्ट्र निर्माणको प्रयत्न गर्नु पर्छ । यो प्याराडाइम शिफ्टको समय हो । लोकतन्त्रको अभ्यास सहज भैसकेको अवस्थामा अब आर्थिक विकास नै एक मात्र अपरिहार्य विषय हो । लोकतन्त्र स्थापनाको लागि हिज जुन ढंगले लडियो त्यो संगठितपनाका साथ आज आर्थिक विकासको पक्षबाट देशलाई हाँक्नु छ । नेपाली काँग्रेस पार्टीले विपी कोइरालाको पालादेखि नै समाजवाद आर्थिक नीतिको रुपमा बोकेको छ । हामी समाजवादबाट नै हाम्रो देशको समुन्नति खोजिरहेका छौ । समाजवादको परिभाषा बदलिएको छ । तर आज त्यही समाजवादको विषयमा बृहत्तर छलफल गरेर अगाडि बढन जरुरी भैसकेको छ । नवउदारवादी राजनीति र अर्थनीतिको आगमले वैचारिक र व्यवहारिक राजनीतिकोसँगै उदय गराएको छ । जहाँ बजार सामु राज्यले घुडाँ टेक्छ ।

बहुराष्ट्रिय कम्पनिहरू अहिले विश्वमाहाबी हुदै जानुले त्यो संकेत गर्दैछ। त्यतातिर पनि हामीले ध्यान दिदैं जानु पर्छ । हिजका हाम्रो सरकारले गरिबि न्युनिकरणमा, विकेन्द्रीकरणमा, पिछडिएको क्षेत्र, जाति, भाषा, धर्म, संस्कृतिको जगेर्ना र उत्थानमा कतिको काम गर्न सक्यो । तल्लो या पिँधको तहसम्म चेतनाको कामहरु कति हुन सक्यो । अल्पसंख्यक, लोपोन्मुख जाति, भाषाको सवालमा कति संरक्षण संवर्धन र राज्यको सवालमा कति समावेशी काम हुन सक्यो , तल्लो तहको व्यक्तिगरूले लोकतन्त्रको कति उपभोग गर्न पायो। यी कुराहरुको समिक्षाले समाजवादको सवालमा कति काम हुन सक्यो या सकेन भन्ने कुराको निर्धारण गर्छ । यस्ता समिक्षाले नै आज नेपाली काँग्रेस हिड्ने बाटोतय गर्छ । नेपाली जनसम्पर्क समिति अमेरिका त्यही राज्य सन्चालन् गर्ने राजनीतिक पार्टी नेपाली काँग्रेसको भ्रातृसंस्था भएकोले संगठनमा लोकतान्त्रिक जवाफदेहिता, पारदर्शिता, उत्तरदायी राजनीतिक कार्यक्रम, उत्कृष्ट आर्थिक नीति समावेशीकरण र सामाजिक गतिशीलता अवश्यम्भावी भएको कुरा कसैले नकार्न सक्दैन । अहिले मुलुकले करिब सात दशकपछि लोकतान्त्रिक राज्य व्यवस्था अंगाल्दै संविधान निर्माण गरेको छ । यसरी निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्न कोसेढुंगाको रूपमा १९ वर्ष पछि हुन लागेको मुलुकको स्थानीय चुनाव उभिएको छ । त्यसैले त्यो निर्वाचनलाई सफल बनाउनका निमित्त नेपाली जनसम्पर्क समिति अमेरिकाले पूर्ण रूपले सहयोग गर्नु पर्छ । हाम्रो देश नेपाललाई वर्तमान राजनीतिक उल्झनबाट निकाल्न अतिवादी सोचले नभइ काँग्रेसको मध्यमार्गी विचारले मात्र सक्ने एवं कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आपसमा स्वतन्त्रढंगले काम गरेर जानु पर्ने स्पष्ट धारणा समेत जनसम्पर्क समिति अमेरिकाले राखेरजानु पर्दछ ।

नेपाली जनसम्पर्क समितिको प्रतिपादक जननायक विशेश्वर प्रसाद कोइरालाले देशमा भन्दा विदेशमा ज्यादा समय बिताएका थिए। तर हाम्रो देश नेपाल अहिले तिनै जननायक विपिले कोरेको राजनीतिक विचारको गोरेटोमा हिडिरहेको छ । यो आधुनिक युगमा नवीन दृष्टिकोण र कार्यक्रमले राज्य सन्चालन् हुन्छ । त्यसैले विदेशमा छु भनेर, हामीले बढी उदासीन भएर विरक्तिने काम छैन। विदेशमा नै बसेर पनि समृद्ध राष्ट्र निर्माणमा विशेष योगदान पुर्याउन सकिन्छ। विदेशमा नै बसेर पनि नेपाल राष्ट्रको गौरव, समृद्धि र उन्नतिका लागि थुप्रै नवीनकार्यहरु हामीले गर्न सक्दछौं। नेपाली जनसम्पर्क समिति अमेरिकालाई अब त्यस दिशातिर डोर्याउनु पर्दछ ।

आज मैले प्रस्तुत गरेको प्रतिवेदन समग्र संगठनको हितका निमित्त भएको मैले ठानेको छु । त्यसैले यो सम्मानित साधारण-सभाले वृहत छलफल पश्चात प्रतिवेदनलाई पारित गरिदिनुहुन अनुरोध गर्दछु ।

 

धन्यवाद, जय नेपाल!
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका
April 22, 2017 Saturday.

 

प्रेस विज्ञप्ति

प्रतिक्रिया