अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

मेरो देश हराएको होइन, नेताहरू चाहिँ हराएका हुन !

बिआरटीनेपाल २०७४ वैशाख ९ गते ६:३३ मा प्रकाशित

 – हेम गिरी
यति बेला नेपाली भाषी भुटानीहरूको कथा वस्तुमा निर्माण गरिएका नेपाली चलचित्र मध्ये धेरै चर्चा र सबैले प्रतीक्षा गरिरहेका चलचित्र हो ”देश खोज्दै जाँदा” भनेर लेख्दा मैले त्यस्तो ठुलो गलत लेखे जस्तो लाग्दैन । चलचित्रको प्रचारबाजी कति धेरै छ भन्ने कुरा मलाई मात्र होइन, लगभग सबैलाई थाहा भैसकेको छ । अमेरिका र अस्ट्रेलियालगायत देशको विभिन्न राज्यहरूमा प्रदर्शन भएता पनि सबै नेपाली भाषी भूटानीहरुले सो चलचित्र हेर्न पाएका छैनन् ।

नेपालमा भुटानी शरणार्थीहरु छँदा, उनीहरूसँग एकदम निकट भएका युवा साहित्यकार प्रकाश आङदेम्बेले निर्देशन गरेका चलचित्रले भुटानबाट लखेटिएका नेपाली भाषी भुटानीहरूको दुख र सङ्घर्षको कथा त समेटिएकै छ । मेरो मनमा सधैँ एउटै प्रश्न डुलिरहन्थ्यो ! त्यो प्रश्न थियो, निर्देशक आङदेम्बेले किन दुनियाँले निर्माण गर्दै आएका कथा वस्तु नै समाएर अगाडि बढे त ? एउटा भेटमा मैले निर्देशक आङदेम्बेलाई सोधेको पनि थिएँ, त्यस बेला आङदेम्बेले भनेको कुरा अझै याद छ, उनले भनेका थिए,’ म चलचित्रलाई बुझेर यस क्षेत्रमा आएको मानिस हुँ, हुल बुलमा मिसीनु मात्रै जानुको कुनै अर्थ हुन्न । चलचित्र लाइनमा आइसके पछि केही नयाँ कुरा लिएर आउँदा मात्र त्यसको अर्थ रहन्छ । त्यसैले अरूले भन्दा अलिक फरक ढङ्गले चलचित्रको निर्माण तथा निर्देशन गरेको हुँ ।

अर्को कुरा, २२ वर्ष अघि देखि पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीको दुख अनि सङ्घर्षले पश्चात् मलाई शरणार्थीको कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्न मन लागेकै थियो ।’ जे जस्तो भए पनि चलचित्र निर्माण भयो अब प्रदर्शन हुने तरखरमा छ तर, दुनियाँले धेरै सस्तो बनाएको हाम्रो कथा वस्तुलाई यो चलचित्रमा कसरि प्रस्तुत गरिएको छ हेर्न बाँकी नै छ । हाम्रा नेता ज्युहरुले घरफिर्तीको अभियान यतिसम्म चलाए कि भनेर पनि भन्न सकिन्न । सबैले लेखेर राख्दा हुन्छ, हाम्रा नेता ज्युले सुचारु गरेको त्यो अभियान सफल हुनु भए, हाम्रो कथा वस्तुमा कसम भनेको एउटै पनि चलचित्र भन्ने थिएनन अहिलेसम्म अनि हाम्रा कलाकारहरूले चलचित्रमा अभिनय गर्नको लागि अवसर पाउन गाह्रो पर्थ्यो । शिविरमा भुटानी शरणार्थी हुँदासम्म कहिल्यै पनि सुनिन मैले दुनियाँ दारले हाम्रो कथा वस्तुमा चलचित्र निर्माण गर्दैछन् भन्ने कुरा । झुपडीको जिन्दगी नामक चलचित्र थाहा छ तर, त्यो चलचित्र नेपाली भाषी भूटानीहरुले नै निर्माण गरेको हुन भन्ने कुरा पनि मलाई मज्जाले थाहा छ ।

अहिले आएर घरफिर्तीको अभियान सफल हुन्छ भनेर भन्नु भनेको मरे पछि स्वर्ग देखिन्छ भन्ने कुरामा विश्वास गरेर बस्नु जस्तै हो । शिविरको बसाइमा हाम्रा मान्छेहरू यति धेरै सिर्जनशील भए कि त्यसको रेकोर्ड राखिएको भए विश्वामा नाम लेखिन्थ्यो होला सायद नेपाली भाषी भुटानीहरूको ! लुकाइएको हो या नभनिएको हो चलचित्र देश खोज्दै जाँदामा कलाकारहरूले नि:शुल्कमा अभिनय गरेका छन् । नेपाली भाषी भुटानी कलाकारहरूले अभिनय गरे बापत शुल्क पाउने कुरा त हुँदै भएन तर, नेपाली चलचित्र क्षेत्रका नाम चलेका कलाकारहरू हेमन्त बुढाथोकी,अरुणा कार्की अनि बाबु बोगटी लगायत कलाकारहरूले शुल्क बिना अभिनय गरेका छन् चलचित्रमा ।

चलचित्र सम्बन्धी मैले यो आलेख लेखिरहँदा लाग्दैछ, यो आलेख प्रकाशित पछि दुनियाँ दारले मलाई नराम्रो सोच्लान, कसैले वक्त्तिगत रूपमा मलाई नराम्रो भन्लान, म अनुरोध गर्दछु सबैमा, मेरो यो आलेखलाई गलत नठानिहोस ! मैले उठाउन खोजेको कुरा अझै पनि उठाइरहेको छैन, अब विषय वस्तुमा प्रवेश गरौँ ! आलेख पढिसके पछि दुनियाँले भन्लान,’प्रकाश आङदेम्बे सरले निर्देशन गर्नु भएको चलचित्र सम्बन्धी त्यो हेमेले प्रश्न गरेको ?’ कान्तिपुर पत्रिकाका पत्रकार देबेन्द्र भट्टरार्इले पो हुन त चलचित्रको नाम जुराई दिएको भन्लान ।’ चलचित्रको निर्माण हुँदादेखि नै मेरो असहमति थियो चलचित्रको नामप्रति । मेरो असहमति हुँदा हुन त केही हुन्न, केही बिग्रिने पनि होइन तर, मेरो कथा वस्तु पनि समेटिएको छ भन्ने बुझेर मैले चलचित्रको नाम गलत भयो भनेर भन्नु मैले पाउनु पर्छ जस्तो लाग्छ । हुन त आफ्नो आफ्नो बुझाई अनुसार पनि हो, मेरो बुझाई धेरै राम्रो हो । म कहिल्यै भन्दिन तर, मेरो कुरा पनि सुनिनु पर्छ चाहिँ भन्छु ज्यानै गए पनि । त्यस बखत नै मैले चलचित्र निर्देशकलाई चलचित्रको नाम सम्बन्धी प्रश्न गर्दा उनले भनेका थिए,’अरूले के भन्छन् त्यो कुरासँग हाम्रो कुनै मतलब छैन तर, हामीलाई यही शीर्षक उचित लाग्यो, अनि राख्यौं । शरणार्थीको रूपमा लखेटिएका नेपालभाषी भुटानीहरूको मूल कथा वस्तुमा रहेर निर्माण गरिएको चलचित्र भएको कारण हामीलाई शीर्षक उचित लागेको हो ।’

मैले सो चलचित्र हेरेको छैन, अमेरिकाको कोलोराडोमा कसैले सो चलचित्र देखाए भने हेर्छु, जति चोटि देखाउछन त्यति चोटि नै हेर्छु तर, मेरो प्रश्न, अब टेकनाथ रिजाल, बलाराम पौडेल, डा. भम्पा राई, चम्फा सिङ्ग राई अनि हर्कजंग सुब्बाहरु लगायत जो देश फिर्ने भन्दै शिविरमा बसिरहेका छन्, उनीहरूलाई भन्दिम हाम्रो देश हराएको छ, देश फिर्ने आशामा बस्ने होइन, देश खोज्नु हिड्नु पर्छ भनेर ? अनि के उत्तर आउँदो रहेछ । हेरौला । चलचित्रमा समेटिएको ‘ नेपाल सरकार बोलिदेऊ, भारत सरकार बाटो देऊ, भुटान सरकार माटो देऊ’!’, ‘जस्तो सुकै मूल्य चुकाएर भए पनि हामी भुटान फर्किनु पर्छ, जे भए पनि हाम्रो पुर्खाहरुले घोरिया फाडेर सिगारेका देश हो, हामी त्यही बस्नु पर्थ्यो, त्यही बसेर लड्नु पर्थ्यो, मर्नु पर्थ्यो !’, हाम्रो भुटान हाम्रो देश, प्राणा भन्दा प्यारो छ ।’ र ” के हामी साँच्चै हाम्रो देश फर्कन्छौं त ?’ भन्ने संवादहरुले नै हाम्रो देश हराएको छैन भन्ने बुझिन्छ । वास्तावमा हाम्रो देश हराएको पनि होइन, करिब १ लाख ८ हजार नेपाली भाषी भूटानीहरुलाई भुटानको शासकले देशबाट लखेटिदिएको चाहिँ हो ।

इतिहासको लागि निर्माण गरिएको चलचित्रले इतिहासमै नाम लेखाउछ लेखाउदैन त्यो मैले भन्ने विषय त होइन तर, चलचित्रको विषय वस्तु जति नै स-शक्त अनि मन छुने भए पनि चलचित्रको नामले मलाई चाहिँ कति पनि चित्त बुझेको छैन । भन्न त भनिरहेको छौ, प्रताप सुब्बा नेपाली भाषी भुटानी प्रथम गायक हुन, याम थुलुंग नेपाली भाषी भुटानी प्रथम गजलकार हुन अनि राकेश काफ्ले नेपाली भाषी भुटानी प्रथम मुक्त्तककार हुन भनेर तर, उहाँहरू नै सो विधाका प्रथम सर्जक हुन भन्ने कुरा हाम्रो नेपाली भाषी भुटानीहरूको कुनै पनि इतिहासमा लेखिएको छैन ! म यसो भनेर उहाँहरुप्रति कति पनि आलोचलना गर्न खोजेको होइन, इतिहासमै लेखिएको कुरालाई मात्र मान्नु पर्छ भन्न मैले खोजिरहेको होइन, मैले भन्न खोजेको कुरा के हो भने, सबै राम्रो कुराले इतिहासमै नाम लेखाउछ भन्ने पनि हुन्न । इतिहासमा नाम नलेखाए पनि सबै नेपाली भाषी भुटानीहरूको मनमा नाम लेखाउन सकुन । म जन्मिदा शरणार्थीको रूपमा आफूलाई पाए ।

अहिले अमेरिकामा छु, मैले भुटान देखेको छैन, मसँग कुनै देशको नागरिता छैन तर पनि मेरो देश भुटान नै हो भनिरहेको हुन्छु सधैँ म । नेपाली भाषा बोल्छु, नेपालमै जन्मेको हुँ । नेपाली भाषी भुटानी हुँ भन्न रुचाउछु तर मेरो कथा वस्तुमा निर्माण भएको चलचित्र देश खोज्दै जाँदा नामले चिनिएको छ विश्व भर । दुख लाग्छ, मेरो देश हराएको भनेर दुनियाँ भर प्रचार गरेको देख्दा । अमेरिका–अस्ट्रेलियालगायत मुलुकमा पुर्नावश भएका नेपाली भाषी भूटानीहरु यता देश खोजिरहेकै छैनन् बरु देशप्रतिको माया मनमा राखेर उनीहरूको कथा वस्तुमा निर्माण गरिएको हो भन्ने नेपाली चलचित्र हेर्दै नेपाली चलचित्र उधोगलाई साथ अनि सहयोग गरिरहेका छन् । अन्त्यमा यति भनेर केबोर्डबाट हात निकाल्छु, मेरो देश हराएको होइन बरु मेरा नेताहरू चाहिँ हराएका हुन ।

भुपेद्र तिम्सिना दाजुले लेख्नु भएको मुक्तक थियो:-

पुनाखा र थिम्पु सँगै पारो रुनु पर्छ
तिमी भित्र तिम्रो देश सरो हुनु पर्छ

जन्मने हुर्कने मर्ने अलक देशमा
तिमी सँगै घाम जुन तारो हुनु पर्छ

देश बिहिन,आमा बिहिन कस्तो पिडा होला
चर्किएको पर्खाल अनि घारो रुनु पर्छ

*लेखक नेपाली भाषी भुटानी पत्रकारितामा सक्रिय छन्  ।

प्रतिक्रिया