अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

युएनए सम्मेलन सफल पार्न हामी सबै लाग्नु पर्छ: अध्यक्ष पासाङ्ग लामा

बिआरटीनेपाल २०७३ चैत १८ गते ११:३४ मा प्रकाशित

एक वर्ष अघि स्थापित युएनएले आगामी महिना अर्थात् मे २७,२८,२९ मा दोस्रो सम्मेलन गर्दै छ । सोही क्रममा भैरहेका काम र संस्थाको समुदायसंगको अपेक्षा बारे अध्यक्ष पासांग लामाले एक विज्ञप्ति प्रकाशित गर्नु भएको छ ।

विज्ञप्ति जस्ताको तस्तै:

करिब एक वर्ष अघि युनाइटेड नेपालिज एसोसियसनको स्थापना भयो । स्थापनाको बेलामा जोस र जाँगर असाध्यै थियो । क्यालिफोर्नियामा युवाहरूले उत्साहपूर्ण तरिकाले पहिलो सम्मेलन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेले । अर्को वर्षको सम्मेलन डालसमा गर्ने भनेर हामीले त्यति बेलै घोषणा गरेका थियौँ । थुप्रै परिस्थितिका कारण बिचमा हामी समुदाय सँग अध्यावधिक हुन सकेनौं । तर अब त्यो स्थिति समाप्त भएको छ । आगामी मे महिनाको अन्तिम साता अर्थात् मे २६,२७,२८ हाम्रो दोस्रो अधिवेशन हुँदैछ । त्यसको मिति केही अगाडी नै प्रकाशित गरी सकिएको छ । मिति घोषणा सँगै अहिले हामी तीव्र गतिमा त्यसको सम्पूर्ण स्वरूप र कार्यक्रमहरू तय गर्ने क्रममा छौँ ।

नेपालीहरूका कतिपय संस्थाहरूमा अलि लफडा देखिन्छ । निहित स्वार्थमा काम गर्ने मान्छेहरू संस्थामा छिर्दा त्यस्तो अवस्था आउँछ । हामीले युएनए लाई त्यो अवस्थाबाट अलि बाहिर राख्न चाहन्छौँ । के हुन्छ भन्ने कुरा हेरेरै देखिने भए पनि त्यस्तो नहोस भन्नेमा हामी सचेत रहनेछौं । यो संस्थालाई सबैको साझा र सम्मानित बनाउन हामीले हरसम्भव प्रयास पनि गर्ने छौँ ।

यो संस्था खोल्नुको उद्देश्य कसैलाई भर्याङ्ग बनेर माथि पुर्‍याउन र कसैलाई धुलो चटाउन होइन । यसमा लाग्नेहरुको आफ्नै राम्रो वा नराम्रो कामको कारण उसले प्राप्त गर्ने नतिजा बाहेक ब्यकिगत रूपमा कसैलाई लाभ र हानिको विषय यहाँ छैन ।
हाम्रो प्रथम अधिवेशनमा हामीले भनेका थियौँ कि हामी परम्परागत तरिकाले जांदैनौ । अमेरिकामा रहेका नेपाली युवाहरूलाई भोलिको अमेरिकी समाजमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकासमा लाग्ने हाम्रो उद्देश्य हो । अनुशासित,र सुसंस्कृत व्यक्ति मात्र भविष्यमा सफल र सम्मानिय हुन्छ । खेलकुदले मानिस अनुशासित हुन्छ । त्यसैले हामी खेलकुदमा विशेष जोड दिएका छौँ । समय सापेक्ष फेसन सो, संस्कृतिको रक्षार्थ सांस्कृतिक कार्यक्रम पनि हाम्रा प्राथमिकतामा पर्छन । हाम्रो उद्देश्य अस्वस्थ प्रतिस्पर्धा गरेर दिन कटाउने होइन, राम्रो काम गरेर सक्षम, सफल र अनुशासित युवा पुस्ता निर्माण गर्दै भविष्यको अमेरिकामा नेपालीहरूको सबल र सक्षम भविष्य निर्माणमा सहयोगी बन्नु हो ।

हामीले यो दिशामा धेरै काम गर्नु छ । तर हामी सँग त्यसको लागि योजना त छैन नै, इच्छा शक्तिको पनि कमी छ । युएनएले त्यही इच्छा शक्ति विकास गर्न पनि काम गर्छ । सङ्घर्ष गरेर सफल भएका व्यक्तिहरूलाई हाम्रा फोरमहरुमा बक्ताको रूपमा बोलाउने हामीले गत वर्ष देखि नै सुरु गरिसकेका छौँ । यी र यस्ता थुप्रै काम गर्न कसैले पनि एक्लै सक्दैन । यसको लागि धेरै व्यक्तिको सहयोग, सद्भाव र सहभागिता जरुरी छ । बिना निहित स्वार्थ जो कसैले पनि यसमा सहभागिता जनाउन सक्छ । यसको एउटा अंश बन्न सक्छ । नयाँ विचार र नयाँ योजना लिएर आउनेहरुको लागि युएनएको ढोका सधैँ खुल्ला छ । जाति, लिङ्ग, उमेर, आर्थिक अवस्था वा अध्यागमनको अवस्थाले कुनै फरक पार्दैन । यो सबैको संस्था हो । सबै नेपालीहरूले त्यो अनुभूत गर्न के गर्न आवश्यक छ, हामी त्यसको लागि हरदम तयार छौँ ।

आफूलाई समुदायको सेवामा समर्पित गर्न चाहने जो कोही पनि आजै देखि हाम्रो सम्पर्कमा आउन सक्नु हुन्छ । हाम्रा गतिविधिबारे जानकारी लिन हाम्रो फेसबुक पेज युएनए कन्भेन्सन २०१७ लाइक गर्न सक्नुहुन्छ । त्यस्तै युएनए कन्भेन्सन डट ओआरजी मा यात्रा गरेर पनि सूचना प्राप्त गर्न सक्नुहुन्छ । फेरी पनि गत वर्षको सहयोगको लागि हृदय देखि धन्यवाद दिँदै आउँदो अधिवेशन सफल पार्न सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुको सहयोगको लागि अपिल गर्न चाहन्छु ।

पासाङ्ग लामा
अध्यक्ष,
युनाइटेड नेपालिज एसोसियसन

प्रतिक्रिया