अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

टेक्सासबाट एनआरएन अध्यक्षमा त्रिपक्षिय भिडन्त हुने

बिआरटीनेपाल २०७३ फागुन २६ गते १०:३६ मा प्रकाशित

आगामी मे महिनामा आसन्न हुन लागेको एनआरएन अमेरिकाको चुनावको चर्चा परिचर्चा हिजो आज टेक्सासका सहरहरूमा व्यापक हुन थालेको छ । मूलत डालास र अस्टिन वरपर चुनावी बहस तातेको छ । एन आर एन अमेरिकाका अन्य च्याप्टरहरु भन्दा टेक्सस यसपटक आर्कषणमा छ । हाल सम्मको सदस्य सङ्ख्या ३,३६१ मध्येको गणनामा पनि टेक्सस एक नम्बरमा रहेको छ । यसैले पनि मूलत अध्यक्षका उम्मेद्धारहरु टेक्सासलाई आ–आफ्नो पकडमा राख्न दिन रात व्यस्त देखिन्छन ।

अध्यक्षका उम्मेद्धारहरु
अध्यक्षका लागी उम्मेद्धारी दिने दश जना उम्मेद्धारहरु मध्ये हाल सम्मको गतिविधि नियाल्दा यहाँ तीन जना अग्र पंक्तिमा छन् । तिनमा डा. केशव पौडेल, राम पोखरेल र गौरी जोशी, प्रमुख छन् । यस बाहेक कृष्ण पोखरेल, रविना थापा र डिल्ली भट्टराईको पनि चर्चा यतिखेर छ ।

राम पोखरेल र गौरी जोशी टेक्सासका स्थानीय वासिन्दा भएको नाताले चर्चाका प्रमुख बनेका छन् । यी दुवै नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष पनि हुन । दुवैको नेपाली समाज टेक्सासमा आफ्नो आफ्नो बलियो पकड रहेको छ । राम पोखरेल गौरी जोशीका दाजोमा एन आर एन अनुभवी मानिन्छन । उनले एक कार्यकाल एन आर एन भित्र उपाध्यक्षको पद सम्हाली सकेका पनि छन् ।

नेपाली समाजका अगुवाहरुलाई मिलाएर लान सक्ने अनुभवी र मिलनसार व्यक्तिका रूपमा उनलाई डालास र अस्टिन वरपर सबैले चिन्दछन । उता एन आर एन मा नयाँ मानिएका गौरी जोशीले पनि चुनावमा कडा टक्कर दिने लगभग पक्का छ । उनी क्रमशः टेक्सासका बलियो उम्मेद्धार बन्दै गएका छन् ।

यी दुई बाहेक डा. केशव पौडेलको प्रभाव पनि टेक्सासमा प्रशस्त छ । टेक्सासका स्थानीय उम्मेद्धारलाई कडा चुनौती पौडेल मात्र बाहिरका उम्मेद्धार हुन । टेक्सासमा डा. केशव पौडेलका केही पुराना सर्मथकहरु हटे पनि अझै उनको पक्षमा टेक्सासका केही वलिया हस्तिहरु उनको पक्षमा छन् । जो दिन रात उनका लागी खटिरहेका छन् ।

कसले वाजी मार्ला ?
अन्तिम अवस्था सम्म तिनै जना (डा. केशव पौडेल, राम पोखरेल र गौरी जोशी) अध्यक्षको उम्मेद्धार भएको खण्डमा टेक्सासमा यसै हुन्छ भन्न गारो छ । अहिलेको अवस्था भनेको तिनै जना उम्मेद्धारहरु आ–आफ्नै भोट बैङ्क बनाउन तिनै जना सक्रिय रहेको हो ।

अन्तिम अवस्थामा एक जना पछि हटेर अर्कोलाई सर्मथन दिने पनि प्रबल सम्भावना देखिन्छ । राम पोखरेल र गौरी जोशीको बिचमा सम्झौता नहुने हो भने टेक्सासमा डा. केशव पौडेल बलियो हुने पक्का छ । यसैले केही व्यक्तिहरू यी दुईको बिचमा सहमति गराउन लागी परेका छन् । तर सम्भावना न्यून देखिन्छ । उता जानकारहरु डा. केशव पौडेल र राम पोखरेल बिचमा सहमति हुने प्रबल सम्भावना रहेको वताउछन । यसो भएमा गौरी जोशी पछि पर्छन ।

प्रतिक्रिया