अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 13:38

एउटा बिरामीको बिछोड प्रेम कथा

गोकुल ढकाल २०७३ फागुन २ गते १०:२३ मा प्रकाशित

सधैँ आमा मेलामा जानुहुन्थ्यो । बुवा परदेशमा भारी बोक्न । पत्याउनुहुन्छ भने मैले आफू नौ वर्षको हुँदादेखी खेतबारी जोत्न थालेको । त्यसैले त मान्छे पनि हलोको अनोक भन्दा अल्को [अग्लो] नभा’को, हा हा !!! त्यही त गाउँले जिन्दगी । घरबाट धेरै तल सिर्दी खोलामा बुवाले केही सुर्को खेत जोड्नुभएको थियो । आफूभन्दा लामो हलो, घरमा भएको लाले गोरु अनि ठुलो बुवाको घरमा भएको चम्रे गोरु लिएर एक बिहानै म खोलाको खेतमा गोरु नार्न पुग्थे । सानो मान्छे, टाढाको खेत र अफ्ट्यारो बाटो । जाबो दुई घण्टामा कति नै जोत्न सकिन्छ र ? आफू फेरी पाठशाला पुग्नु छ । बन पार गर्दै उकालीदा बाटामा पर्ने १३ किलो बजारबाट आफ्नै स्कुल पढ्ने साथीहरू आठै बजे बसमा चढेर स्कुल लाग्थे । कोही छतमा बसेर फ्रूटी चुस्दै त कोही बसको ढोकामा झुन्डेर बाइ-बाइ चपाउदै । तर प्राय म हलो खेतमा गाडेर जुवा चाँही अरूले चोर्लान भनेर आफ्नै काधमा लट्ठिले अड्याउदै उकालीन्थे ।

यसरी नै चले आफूले जाने देखिको बालकाल र स्कुले जीवन । एक दिन परिवार सँग टन्टलापुर घाममा घैया गोड्दै गर्दा दिउसै कता कता एकदम डर लागेर आयो । किनकि एस एल सिको नतिजा आउने बेला भइसकेको थियो । आफू हिसाब भने पछि कुनी के हो आउने । अगाडि परेकी साथीको [जो कक्षामा दोस्रा थिइन] को चोरेर पास हुने आस । रामाराम, त्यो एस एल सी फेल भएको भए म आजसम्म हिसाबकै परीक्षा दिइरहेको हुन्थे । त्यसै डरको बिचमा आफूमा पनि सपनाको नगरी “नेपाल सहर” जाने रहर जागेर आयो । १५ वर्षको उमेरमा बुवा सँग ५०० रुपैयाँ लिएर काठमाडौँ आएपछि हामीहरूले गाउबाट आएपछि गरिने दु:ख त पहिले नै लेखिराखेको हुन्छ नै । छैटौ दिनमा पुर्पुरोमा जस्तो लेखिएको थियो, त्यस्तै दु:ख गरियो, बसियो, चलियो अनि चलाइयो । खैर प्रसङ्ग अर्कै तिर गयो जस्तो छ ।

जसरी शहरी दिनचैर्या गाउँले तरिकाले चलेको थियो । प्रेम भन्ने नौलोचैर्या त्यतिखेर मेरो जिन्दगीमा शायद शहरी तवरले चल्यो झैँ लाग्यो । दिनभरि ठमेलमा अरुकोमा काम गरिन्थ्यो । साझ लेखनाथ मार्गको म:म: खाएर क्याम्पस पढिन्थ्यो । राती पढेपनी किन किन दिउसो पढ्न मन लागेर आयो । अलिअली राजनीति गर्ने बानी त्यति बेला । बढी नै बोल्न पर्ने । साथीहरू अनेक तरहका हुन्थे । काम र अलि अलि आम्दानी अनि नचढिएको नौलो मायाको ताम्दानिले कता कता काउकुती लागे झैँ हुन थाल्यो ।

दसैँमा घर गएर फर्के पछि सँगै बस्ने मेरो साथी केही महिना नफर्कने कारणले म कोठा सर्ने निधोमा पुगे । कति हुन्थ्यो र सामान ? एउटा कम्बल, फमको ओछ्यान, कुकर र दुई चार वटा किताब अनि एउटा रातो प्लास्टिकको बाल्टी । आधा घण्टामा सरियो बास । सरेको ठाउँमा सामान सार्दै गर्दा मूल ढोका खुलै थियो । भोक लागेकोले कालो चिया र एक पाउन्ड पाउरोटी भकुर्ने जोहोमा पसलबाट फर्केको त ढोका बन्द। अब परेन फसाद !!! कसलाई बोलाउने ? को को बस्छन त्यहा, आफूलाई थाहा छैन । त्यति बेला कसैको मोबाइल थिएन । के गर्ने ? यसो हेरेको घन्टी बजाउने ठाम र’छ । बजाउनै पर्‍यो । टिङ्डिङ पारेको त, दुई सेकेन्डमा एउटी पार्वतीको उपस्थित भयो त्यहा । जालन्धरले पार्वती देख्दा मुर्छा परे सरि भए म त्यस बखत ।

अब ठमेलको म:म: होइन, कोठामा भात पकाएर खाने बहानारुपी जागर जागेर आयो । त्यति बेला हिट्स एफ एम को “मेरो कथा – मेरो गीत” खुबै प्रख्यात थियो । सन्योग, मेरो खाने छुट्टी पनि त्यति नै बेला हुने । मेरो कथा नआउने दिनमा माया र पिरतिका गीत बजाउन थाल्ने भएछु । बजाए पनि । कोठाको कुनापट्टी त्यो फ्ल्याटमा बस्नेहरुले प्रयोग गर्ने पाइखाना रहेछ । जब मैले बजाएका गीत अनि अरूले एफ एम मा भनेका गीत बज्दथे, त्यो पाइखाना र मेरो कोठाको जोडिएको झ्यालमा ती “पार्वती”को आवागमन हुन थाल्यो । उनी कहिले लुगा धोएकी हुन्थिन त्यता त कहिले बिचरी पाइखाना जादी हुन । म भने मैले बजाएका सङ्गीत सुन्न आएकी मोरी भनेर कुन्ता त फोन्द्रे नाक झन् ठुलो बनाउथे अनि बोल्ने बहाना बनाउथे । “कस्तो राम्रो गीत बजाएको दाइ ?” कुनै किताब पढिरहेको मेरो दिमाग उनको प्रश्नोत्तरका खातिर आतुर भए । उत्तर कस्तो हुन्थ्यो, त्यो यहाँ किन लेख्नु पर्‍यो र । कुर्कुरे बैशको मायाको उत्तर कसलाई पो थाहा हुँदैन होला र ?

एबम रितले चल्न थाले दिनहरू । उनी पनि म पढ्ने क्याम्पसमा पढ्ने रहिछन । उनको दाजुहरु मेरा सहपाठि-समकक्षी रहेछन् । उनकी दिदी मैले काम गरेको ठाउबाटै अफिस जानुहुदो रहेछ । उहालाई म सधैँ देख्दथे । विश्वकप फुटबल हेर्न उनको कोठामा जम्मा भएका साथीहरू सबै नजिकका रहेछन् । मेरो आँखा उनको सिसाको दराजमा उनको आँखा सँगै त अरूका आँखाहरू टि भी तिर । परिचय, सम्बन्ध र बोलाकिले उनका सबै आफन्तहरु अब मेरा पनि हुन लागे । जिन्दगीमा नयाँ उन्माद र तरङहरुले छाल र तप्काहरु छोडे झैँ हुन थालयो । निचोड्मा भन्नुपर्दा, अब उनको मेरो बारेमा सबैलाई ज्ञात हुन थाल्यो । अनि सबैले स्विकार्न थाले – हाम्रो आत्मीय मायालाई । क्याम्पसमा हामीले आयोजना गरेका बनभोज र अन्य क्रियाकलापमा एउटा पारिवारिक सदस्यले जसरी उनले मलाई सहयोग गर्न थालिन ।

मेरा अति हितैशी मित्र एक दिन मेरो कोठामा आउनु भएको थियो । मेरो निमन्त्रणामा – साग र भात पकाएर सँगै खाने रहरले । त्यस दिन जिन्दगीमा पहिलो चोटि प्याला पियौ हामीले । तर प्रेमको उन्मादमा भने पक्कै थिएन त्यो पिलाई । मलाई सन्चो नभएको जस्तो लागेको थियो । कति बखत के भयो थाहा भएन । अर्धचेत अवस्थामा म त वीर अस्पातलको आकास्मिक कक्ष पो लडिरहेको रहेछु । भोलिपल्ट अलि होसमा याद भयो, मैले लगाएको मोजा कसैले खोल्दिदै शरीरलाई आराम महसुस गराउने कोसिस गर्दै थियो । यस भित्र धेरै कथाहरू छन् । जुन यहाँ सबै खोलेर अवश्य सम्भव छैन ।

मलाई व्यथाले छोडेन । परिवारको जेठो सन्तान म । घर अनि आफन्तहरु सबै पिरोलिन थाले । म आफूलाई पनि लाग्यो । अब म कदापि बाच्दिन । वीर अस्पातलको कथित प्रख्यात सर्जन डी बि शाह भनाउदोले मलाई केटी र प्रेमको कारणले चिन्ता जागेर त्यो हालत भएको बताएछ । म त प्राय सधैँ बेहोश । कहिले कहिले खुल्थ्यो होस । आफन्त र उनै “पार्बती” को घना उपस्थिति भएको पाउथे – ब्युझदा । उनले पनि सुनिछन, डा. को त्यो भनाइ । यस्ता कुरा होस आउँदा आफूले साथी मार्फत थाहा पाएपछी बेहोश भए पनि म निको भएको बहनाले डिस्-चार्ज हुने निधो गरे । म मेरो करणले कसैले दु:ख नपाउन भन्ने मनसिकताले सार्है ग्रसित भए । मेरा आफन्तहरुले अब उनी र मेरो विवाह गर्ने निर्णय सहित् भोलिपल्ट उनको परिवारलाई भेट्न जाने निधो गरेछन । कोठामा मलाई ल्याको अलि अलि याद थियो – अस्पातलबाट । तर व्यथाले मलाई छोडेन । भोलिपल्ट कोही बिहेको कुरा गर्न त कोही डा. उपेन्द्रसँग न्यूरो सम्बन्धी जचाउन लाने कुरो भएछ । म फेरी बेहोश । छट्पटिदै बीर् अस्पातलमा उपेन्द्र देवकोटा कुरेको याद छ । मेरो व्यथाले अरू बिरामीले मलाई निर्धारित पालो भन्दा अगावै जान अनुमति दिएर ठुलो मानवता देखाएछन । भित्र कोठामा गएपछी उनले भने रे कि चार मिनेट ढिलो भा’को भए, मेरो मृत्‍यु निश्चित । कारण, मलाई म्यानेन्जाइटिस भएको रहेछ । न्यूरो वार्डमा लगेर एक हातको सुइ दिएपछी बल्ल मैले पुनर्जन्म पाएको महसुस हुन थाल्यो ।

अस्पताल बसेको झन्डै एक महिना भैसकेको थियो । बाहिरको संसारमा के भइरहेको थियो, म जानकार कदापि थिइन । हल्ला अनि अनेक हल्ला मात्र । भए नभएका कुरा हरू मात्र । कल्पना अनि ममता मात्र । मलाई पुरै निको भयो । एक हाते सुइ लाएपछी मैले उनलाई केही दिन त देखेको थिए । अस्पातलबाट बाहिरिएपछी मलाई कसैले फोन गरेन । उनीले पनि वास्ता गरिनन । शायद मेरो दोष थियो होला । एउटा बिरामीको, रोगिको अनि बिबशताको दोष । म फेरी कर्मथलो ठमेल फर्कन थाले । मैले गरेका उनका फोनका घन्टिमा विद्रोहका अरू कसैका तिरस्कारहरु सुनिन थाले । म यूरोप गए । मेरो बिहे भयो । मेरी श्रीमती बिरामी भइन । मेरो छोरो जन्मियो । यती पश्चात् मैले उनको बिहेको कुरा सुने । म बस्ने नजिकैको मन्दिरमा उनको धुमधाम बिहेको उन्माद सुनिन्थ्यो । उनी अन्मी रहदा म र मेरी आमा काठमाडौँ आउँदै गर्दा मैले आमालाई भने – ” आमा त्यो कविताको बिहेको रमिता हो । ” आमा दङ्ग पर्नु भो । म पनि अहिले सम्म दङ्ग छु । सुनेको छु, उनको दुई वटा छोरा जन्मिसकेका छन् । म चाहन्थे, ‘कम से कम भगवान् एउटा छोराको नाम मेरो जस्तो जुराइदेउ ।’ तर थाहा छैन के भइरहेको छ उनको दुनियाँ । म त परदेसिएको पनि पाचौ वर्ष पुरा भएछ । तर ममताको साहराले उनिसङै जिउने मेरो मनको रहर सायदै पुरा भयो !!! उनलाई सदा सुख होस् । मङ्गलमय दिनहरुले सदा सर्बदा प्रगति गराउन । यो भन्दा म के नै तथास्तु पुकार्न सक्छु र ?

प्रतिक्रिया