अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

अनसनरत विकास तिवारीको जीवन रक्षा गरी वार्ताबाट समस्या समाधान गर्न मानव अधिकार आयोगको आग्रह

बिआरटीनेपाल २०७३ मंसिर २२ गते ६:२१ मा प्रकाशित

प्रेस विज्ञप्ति
(आमसञ्चारका माध्यममा तत्काल उपयोगको लागि)
२०७३ मंसीर २२ गते

विकास तिवारीको जीवन रक्षा गरी सार्थक वार्ताबाट समस्याको समाधान गर्न आग्रह

स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधार, लगायतका २६ सूत्रीय माग राखी विगत १५ दिन देखि अनसनरत विकास तिवारीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

आयोगले यस सम्बन्धमा अनुगमन गरिरहेको छ, तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गैरहेको आयोगको अनुगमनको क्रममा बुझिएको छ । विरोधको स्वरुप जस्तोसुकै भएपनि अनसनरत तिवारीको जीवन रक्षा एवं स्वास्थ्यप्रति संवेदनशील हुन, सार्थक वार्ता र संवादबाट समस्याको समाधान खोज्न आयोग सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

अनुगमनको क्रममा, सरकारी अस्पतालका भवनहरु तथा उपचारका उपकरणहरु जीर्ण बन्दै गएका, पीउने पानीको अभाव, फोहोरको सही व्यवस्थापन नहुँदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्याहरु देखिएकोले अस्पतालहरुमा स्वच्छ पीउने पानी, खाना, शौचालय लगायत भौतिक सामग्रीहरुको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।

मोहना अन्सारी
सदस्य\प्रवक्ता

प्रतिक्रिया