अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

नेपालमा शाहवंश : भ्रम र तथ्य

बिआरटीनेपाल २०७३ मंसिर १९ गते २०:४७ मा प्रकाशित

गोरर्खालीहरुको काठमाण्डौमा विजयलाई वर्तमान नेपालको सुरुवात मान्ने गरिन्छ । यसो हुँदा सन २००८मा राजा ज्ञानेन्द्रलाई पाखा लगाएको अनि नेपालको सुरु भएको वर्ष सन १७६९ बिच २ सय ३८ वर्षको कालखण्ड हुन आउँछ ।

यो कालखण्डमा राम्रा काम हुन नसकेको भन्ने प्रायोजित हल्ला मच्चाउने रोजगारी आकर्षक छ । अझ यस बेला भएका नराम्रा कामको जिम्मेवारी एकोहोरो रूपमा शाहवंशलाई दिएमा त तुरन्तै ख्याति प्राप्त विद्वान मानिने आत्मघाती चलनको दुष्परिणाम देखिन थालेको छ ।

यस चलनमा नराम्रो कामको दोष शाहवंशलाई दिए पनि राम्रो कामको जस भने अरूको भाग लगाउनेहरु छन् ।

यो दुष्प्रयासलाई राजा वीरेन्द्रको शासनकालदेखि पुनःर्स्थापना भएको दरबार बरिपरीको प्रभावशालीहरुको पर्खालले मलजल गरेको छ । यो ती प्रभावशालीहरुको राजालाई घुर्क्याउने हतियार बन्यो ।

रणबहादुर शाहको पालादेखि बन्न सुरु भएको यो पर्खालले गर्दा नेपालको इतिहासमा हमेसा दाग लगाउने काम गर्‍यो । यसलाई राजा त्रिभुवनले केही भत्काउन खोजेका थिए अनि राजा महेन्द्रले करिब करिब ध्यस्त पारेका थिए ।

वेलाईतमा काम केही गर्न नपर्ने केवल मान र खर्च पाउने राजसंस्था देख्दा त्यस्तै बन्न खोज्ने प्रयत्नले आफ्ना बुबाज्यूले ध्वस्त पारेको जनता र राजा बिचको पर्खाल फेरी खडा हुन गयो ।

बडामहाराज पृथ्विनारायण शाहले गोरखाको राजा भएको २६ वर्ष पछिको लगातार कोसिस पछि काठमाडौँ जिते । काठमाण्डौमा राजसुख भोगेर बस्न भन्दा नेपालको विस्तार गर्ने योजना र कार्य गरेर नुवाकोटमा व्यस्त हुँदैमा अर्को ६ वर्ष बित्यो ।

त्यस पछि उनको छोरा प्रताप सिंहले राज्यरोहणको २ वर्ष मै कलिलै उमेरमा देहत्याग गरे । यस पछि नेपालमा शिशुराजाको परम्परा सुरु भयो । यो शिशुराजाको परम्पराले गर्दा राजाको वरिपरि भारदार, नातेदार, प्रभावशालीहरुको पर्खाल बन्यो ।

२ वर्षका राजा रणबहादुर शाहको नायबीको दाबीमा देबर भाउज्यूको कलह सुरु भयो । यो कलहले बहादुर शाह जस्ता वीर पुत्र तथा समर्थवान राजपुरुष नेपालले गुमाउन पुग्यो ।

यस पछिका दिनमा त नेपालमा राजाको भन्दा रानीको हालीमुहाली चल्ने अनि रानी रिझाएर मनपरि गर्ने प्रभावशालीले जहानिया शासन नै स्थापना गरे । जो राजा त्रिभुवनको राज्यकालको उत्तरार्धसम्म कायम रह्यो ।

सन १७७७मा दुईबर्षे रणबहादुर शाह गद्धिमा बसेको समयदेखि सुरु भएको थपनाको राजाको युग राजा महेन्द्रले सन १९५५ तिर तोडे । यो समयमा १०४ वर्ष राणाहरुले एकलौटी पर्खालको भूमिका निर्वाह गरे पनि बाँकी रानीहरु , विभिन्न भारदार , खलक र केही हिस्सा राजनीतिकर्मीहरुको भागमा पनि पर्न आउँछ ।

सन १९७६ (२०३२ विसं) तीर नै राजा विरेन्द्रले फेरी राजा खोपीमा रानी सत्तामाको अवस्था सुरु गरे ।

देशवाशीहरुलाई इतर र भितरमा वाड्ने काम सुरु भयो । महेन्द्रले भत्काएको राजा र जनता बिचको पर्खाल फेरी अझ मजबुत भएर आयो ।

चाटुकारले घेरिएको दरबारले आफूलाई माया तथा सम्मान गर्ने जनताको झल्कोसम्म देख्न पाएन भने जनताले त राजा केवल तस्बिरमा मात्र देख्न पाउने परिस्थिति पैदा भयो । यो परिस्थिति यत्तिसम्म खराब भयो कि झन्डै राजा त्रिभुवनको शाखा सन्तान नै समाप्त भएको थियो ।
यस अवस्थामा परिवार समाप्तीको पिडामा केहीले लगाएको लान्छना समेत थापेर राजा ज्ञानेन्द्र सत्तामा बसे । त्यसवेला सर्वसाधारणले जस्तै सामाजिक जीवन सुरु गरिसकेका राजा ज्ञानेन्द्रले त यो पर्खाल छिचोल्लान भन्ने आशा गरेका थिए ।

केही त्यस्ता लक्षण नदेखिएका पनि होइनन् । तर केही समय शिथिल भएर ढल्ला कि भने जस्तो भएको पर्खाल अझ मजबुत भएर आयो । पर्खाल पारिका जनताको इच्छा चाहनाको गलत अर्थ लगाईयो र एक्कईसो शताव्दीमा मध्ययूगको जस्तो सञ्चार, समाचार सबै बन्द गर्ने काम गराउन यी चाटुकारहरु सफल भए ।

जनतासँग प्रत्यक्ष सम्बन्ध नभएको समयमा शासकहरु कमजोर भएका हुन्छन् , पत्तै नपाई राजा ज्ञानेन्द्र यही अवस्थामा पुगे । यही कमजोर भएको मौकामा राजतन्त्रलाई नै पाखा लगाउन देशी विदेशी शक्ति केन्द्रहरु सफल भए ।

यो पाखा लगाईने क्रममा हाम्रो राजा प्राणभन्दा प्यारो छ भनेर ओठे भक्ति देखाउने चाटुकारहरु कि त दुला पसे कि खुलेर नै राजसंस्थाको विरोधमा लागे ।

यो कठिन समयमा साथ दिन त परै जाओस एक वचन सहानुभूतिको समेत निकल्न उनीहरूले सकेनन् । रातारात गणतन्त्रवादी बन्ने वा दुला परेर लुक्ने होड चल्यो ।

यसरी यो पर्खाल आफ्नो स्थानबाट हट्यो । राजाले जनता र जनताले राजा प्रत्यक्ष देख्न पाए । राजतन्त्रलाई आफूले पाखा लगाउदा समेत प्रतिकारको एक शब्द पनि सुन्न नपरेकोे शक्ति अव राजाको वरिपरि झुम्मिन पुगेका जनसमुह देखेर छक्क पर्‍यो ।

राजालाई सबै किसिमको रोक लगाउने प्रयत्न गरियो । घर मै नजरबन्द गरेर कुमारीको दर्शन गर्नबाट रोक लगाउन पनि यो शक्तिका दासहरु पछि परेनन् । तर यस्ता सबै प्रयत्नलाई जिल खुवाउदै कुमारीहरु आफै राजाको वासस्थानमा दर्शन दिन पुगे ।

जति रोक लगाईन्छ त्यति नै राजा लोकप्रिय हुँदै गएका छन् । पर्खालको उपस्थितिमा राजा ज्ञानेन्द्रले लोकप्रियता झण्डैझण्डै ऋणत्मक भएको अवस्था भोग्नु परेको थियो भने जनतासँग प्रत्यक्ष हुँदा प्रतिपल लोकप्रियताको मात्रा बढदैछ ।

जत्ति सुकै कठिन परिस्थिति भएको भए पनि यो राजा र सर्वसाधारण बिचको पर्खाल ढलेको अवस्था होे । सर्वसाधारणको हौसलाले राजामा शक्ति सञ्चार भएको समय हो यो ।

यो राजाको फेरी शक्ति प्राप्तिको लहर देखेर हिजो पाखा लागेका चाटुकारहरु राजाको वरिपरि फेरी पर्खाल तैयार गर्न उद्धत छन् ।

अबको अवस्थामा आफ्ना बुवाज्यू राजा महेन्द्रले प्राप्त गरेको ज्ञान अनुसार सर्वसाधारण जनतालाई शक्तिश्रोत मानेर पर्खाल निर्माण हुन नदिने कि आफ्ना राजेन्द्र, सुरेन्द्र जस्ता पुर्खाको अनुसरण गरेर फेरी पर्खालको घेरा भित्र नै रमाउने भन्ने निर्णय गर्ने जिम्मेवारी राजा ज्ञानेन्द्र कै हो ।

फेरी पर्खाल भित्र नै रहने हो भने सर्वसाधारणबाट प्राप्त हुने शक्ति फेरी छेकिने छ । राजतन्त्र चाहने जनताहरुको पहिलो रोजाई ज्ञानेन्द्र नै हुन ।

प्रतिक्रिया